
आइतवार , श्रावण १८, २०८२
भैरहवा, १८ साउन । टुगा आस्था बिकास बचत तथा ऋण सहकारी संस्था लि. ओमसतिया–१, रुपन्देहीको आर्थिक वर्ष २०८१÷०८२ को समग्र वित्तीय तथा गैर वित्तीय कारोबारको वार्षिक समीक्षा संस्थाको केन्द्रिय कार्यालयको सभाहलमा शनिबार सम्पन्न गरेको छ । संस्था अध्यक्ष डि.बि.थापाको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक, लेखा, सल्लाहकार, उपसमितिहरु र कर्मचारी व्यवस्थापनको सहभागीता थियो ।
संस्थाको वार्षिक लक्ष्यको आयतर्फ ८७.४३ प्रतिशत र खर्चतर्फ ८६.८२ प्रतिशत प्रगति हासिल गरेको समीक्षा गर्दै वर्तमान देशको वित्तीय बजार सँकुचनको अवस्थामा पनि संस्थाले सदस्यको विश्वास र सहकार्यको कारण कुल पूंजी १२.९७ प्रतिशतले वृद्धि भएको विवरणसहित समग्र वार्षिक लक्ष्यको ७०.६३ प्रतिशत प्रगति हासिल गरेको तथ्यांकसहित संस्थाका प्रबन्धक लक्ष्मण काउचाले डिजिटल प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सहभागीहरुले छलफलमा आफ्नो मन्तव्य राख्ने क्रममा सल्लाहकार जीत बहादुर रास्कोटीले अहिलेको सन्दर्भमा सदस्यसँग जोडिने गतिविधिलाई अझै बढी भन्दा बढी तीव्रता ल्याउनुपर्ने सुझाव दिनुभयो ।
सल्लाहकार धन बहादुर खड्काले संस्थाले गरेको प्रगति सन्तोषजनक रहेको भन्दै आगामी वर्षहरुमा प्रगति गर्दै जाओस् भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
सल्लाहकार लक्ष्मी देवी केसीले वर्तमान सहकारी अभियानमा कतिपय कृत्रिम भ्रमहरु छर्ने कार्य पनि भइरहेकोले सही सूचना प्रवाह गर्न सबै लागि रहनुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।
सल्लाहकार एवं पूर्वअध्यक्ष लक्ष्मण कुमार श्रीसले स्पष्ट, पारदर्शी र यथार्थपरक प्रतिवेदन समीक्षामा ल्याएको जिकिर गर्नुभयो । उहाँले व्यवस्थापन टीमलाई धन्यवाद व्यक्त गर्नुको साथै वर्तमान आर्थिक सँकुचनको परिपेक्ष्यमा सबैजसो सहकारीमा वित्तीय प्रगति र गुणस्तरमा ठुलो चुनौती भइरहेको अवस्थामा पनि जुझारु र सक्षम सञ्चालक र कर्मचारी वर्गले आशावादी परिणाम दिनु ठुलो उपलब्धि भएको बताउनुभयो । कर्जा लगानीमा केही शिथिलता देखिएकोले तरलता क्रमश बढ्दै जानु सदस्यको हितमा नदेखिएकोले नेतृत्व वर्ग र व्यवस्थापन पक्ष सबै सँगै बसेर नयाँ लगानीको उपाय र क्षेत्र खोज्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
संस्थाको गत आर्थिक वर्ष समाप्तीसँगै ९० करोड ३५ लाख ६ हजार ७ सय ३३ रुपैयाँ वासलात तथा ७ हजार १ सय ७८ जना सदस्य रहेको संस्थाको केन्द्रीय कार्यालयबाहेक दुई सेवा केन्द्र कार्यालय रहेको छ ।
शनिबार नै नियमित कार्यक्रम रक्तदान कार्यक्रम सम्पन्न गर्नुको साथै एकजना मृतक शेयर सदस्यको आस्रितलाई ऋण बीमावापतको रकम हस्तान्तरण गरिएको थियो । संस्थाका उपाध्यक्ष परशुराम बास्तोलाको स्वागत तथा सचिव गोकुल पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij