
शनिवार , श्रावण १७, २०८२
भैरहवा, १७ साउन । भास्करानन्द मायाशर्मा अक्षयकोष सिद्धार्थनगर–८, रुपन्देहीले २९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो । संस्थाले शनिबार एक कार्यक्रमकाबीच भैरहवाका ७ वटा सामूदायिक विद्यालयका २९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेका हो ।
भास्करानन्द मायाशर्मा अक्षयकोषले प्रत्येक वर्ष सामूदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीलाई ४ हजार, ६ देखि ८ सम्म अध्ययनरतलाई ६ हजार तथा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई ८ हजार छात्रवृत्ति प्रदान गरिएको अक्षयकोष सञ्चालक समिति सदस्य हरि बहादुर खड्काले बताउनुभयो । २०७२ सालमा स्थापना भएको संस्थाले हालसम्म १९८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिसकेको खड्काले जानकारी दिनुभयो । अक्षयकोषमा रहेको रकमबाट प्राप्त ब्याजबाट छात्रवृत्ति प्रदान गरिदै आएको उहाँले बताउनुभयो । विद्यालयको सिफारिसहित छात्रवृत्ति पाउन विभिन्न मापदण्ड पूरा गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिदै आएको उहाँले जानकारी दिनुभयो ।
भानु माध्यमिक विद्यालयमा आयोजित छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै रुपन्देही लिलाराम न्यौपाने माध्यमिक विद्यालयका प्रधानाध्यापक रुप कुमार रायमाझीले शिक्षामा लगानी गर्नु पुनित कार्य भएको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग होस् भन्ने उद्देश्यले भास्करानन्द मायाशर्मा अक्षयकोषले छात्रवृत्ति वितरण गर्दै आएको बताउनुभयो ।
भानु माविका प्रधानाध्यापक मोतीलाल सुवेदीले छात्रवृत्ति रकमको पूर्ण रुपमा सदुपयोग गर्न विद्यार्थी तथा अभिभावकहरुलाई आग्रह गर्नुभयो । बेलहिया माविका सहायक प्रधानाध्यापक सन्तोष प्रसाद गुप्ताले भास्करानन्द मायाशर्मा अक्षयकोषले विद्यार्थीहरुका लागि सराहनीय कार्य गर्दै आएको बताउनुभयो ।
बेलहिया मावि कक्षा ९ मा अध्ययनरत छात्रा सुहाना कहाँरले छात्रवृत्ति पाउँदा खुसीको अनुभुति भएको बताउनुभयो ।
भास्करानन्द मायाशर्मा अक्षयकोषका संस्थापक अध्यक्ष भास्करानन्द शर्मा (बी.एन.)को अध्यक्षता, उपाध्यक्ष रविन्द्र सिंह रानाको स्वागत तथा सदस्य हरि बहादुर खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा अक्षयकोषका सचिव देवीदत्त ज्ञवाली, कोषाध्यक्ष पार्वती काफ्ले, भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य दिलिप कुमार हरिजन लगायतको उपस्थिति थियो ।
क–कसले पाए छात्रवृत्ति ?
छात्रवृत्ति पाउनेमा रुपन्देही लिलाराम न्यौपाने मावि कक्षा १० का विपिन पौड्याल, कक्षा ७ का सरु थापा, कक्षा ४ का सृष्टी विश्वकर्मा, सृष्टी वि.क., सन्तोष घिमिरे, सुसंस्कृत मावि कक्षा ९ का विवेक यादव, कक्षा ८ का आदित्य बढई, कक्षा ४ का आरती कुर्मी, कक्षा ५ का बिन्दवासिनी बानिया र कक्षा ३ का निरज बरई हुनुहुन्छ ।
त्यस्तै भानु मावि कक्षा ९ का निश्चल गुप्ता, कक्षा ७ का प्रिया कुर्मी, प्राप्ती पन्थी, कक्षा ४ का जोयल हरिजन, कक्षा ३ का जोया खान र सुरज कुमाल, बेलहिया मावि कक्षा ९ का सुहाना कहाँर, कक्षा ६ का अरुण हरिजन, अवोरिया राई, कक्षा ८ का लक्ष्मी सदा, कक्षा ४ का सिमरन कुशवहा र होम बहादुर नेपाली हुनुहुन्छ ।
त्यसै गरी भुजौली आधारभूत विद्यालय कक्षा ३ का सन्जना कहार, कक्षा २ का विजय हरिजन, मेउडिहवा आधारभूत विद्यालय कक्षा २ का देविका कोहार, कक्षा ५ का अनामिका कोहार र कक्षा ३ का रिया कोहार तथा सिद्धार्थ आधारभूत विद्यालय कक्षा ४ का गुडिया यादव र कक्षा २ का अमृत सुनारले छात्रवृत्ति रकम प्राप्त गर्नुभएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij