
शुक्रवार , श्रावण १६, २०८२
भैरहवा, १६ साउन । नेपालको विकासमा चीनको महत्वपूर्ण सहयोग रहदै आएको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । चीनले संकटको बेला साथ दिएको र नेपालको राजनीतिमा हस्तक्षेप नगरेको वक्ताहरुको भनाइ छ ।
नेपाल–चीन कुटनीतिक सम्बन्ध स्थापना दिवसको ७० औं वार्षिकोत्सवको अवसरमा नेपाल–चीन मैत्री समाज लुम्बिनीले शुक्रबार भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले चीनले नेपालको विकासमा चासो राखेको र यसमा सरकारबाट पनि पहल आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले नेपाल र चीनबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने बताउनुभयो ।‘ नेपालप्रति चीनको सोच सधै सकारात्मक रहदै आएको छ, यो सम्बन्ध र मित्रता अझै प्रगाढ होस्, ’उपप्रमुख अधिकारीले भन्नुभयो ।
विशिष्ट अतिथि लुम्बिनीस्थित चीनको मोनाष्ट्रीका गुरु यान वु शीले चीनका लागि पनि आज महत्वपूर्ण दिन भएको बताउनुभयो । उहाँले चीन र नेपालबीच ऐतिहासिक सम्बन्ध रहेको बताउनुभयो ।
नेपाल–चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण प्रसाद सापकोटाले चीनले नेपालमा धेरै उद्योगको स्थापना गरेको बताउनुभयो । उहाँले नेपाल आत्मनिर्भर होस् भन्ने चीनको चाहना रहेको बताउनुभयो । ‘चीनले नेपालको विकास निर्माणमा सहयोग गर्दै आएको छ, चीनले नेपालको हित चाहेको छ, ’उहाँले भन्नुभयो ।
प्रश्रित प्रतिष्ठान नेपालका अध्यक्ष प्रा.डा. कपिलदेव लामिछानेले नेपाली र चिनियाँ जनताबीच सदियौंदेखि सम्बन्ध रहेको बताउनुभयो । उहाँले चीनमा प्रविधिको विकास तीव्र रुपमा अघि बढेको र चीनको विकासबाट नेपालले पनि सिक्नुपर्ने उल्लेख गर्नुभयो ।
चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठले चीनले नेपाललाई सहयोग गर्दै आएको बताउनुभयो ।
सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईले चीन विकासमा अगाडि रहेको बताउनुभयो । उहाँले नेपाल र चीनबीच साँस्कृतिक, ऐतिहासिक र धार्मिक सम्बन्ध भएको बताउनुभयो ।
नेपाल–चीन मैत्री समाज लुम्बिनीका वरिष्ठ उपाध्यक्ष गोविन्द प्रसाद रेग्मीले सन् १९५५ अगस्ट १ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापित गरेदेखि आजसम्म नेपाल र चीनबीचको सम्बन्ध मैत्री, विश्वास, आपसी सम्मान र विकासमुखी सहकार्यमा विस्तार हुँदै आएको बताउनुभयो । उहाँले चीनले सधै नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्थायीत्वप्रति दृढ समर्थन जनाएको बताउनुभयो ।
‘चीन नेपालको साँचो मित्र राष्ट्र हो भन्ने नेपाली जनमानसमा गहिरो विश्वास बसिसकेको छ, ’उहाँले भन्नुभयो ।
समाजका महासचिव मनिष कुमार जोशीले चीनबाट नेपालले कसरी फाइदा लिन सक्छ भन्ने सोचका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij