२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

फरक मतबाट सिंगौरी खेल्नेलाई प्रशस्त समय दिएको छु : अध्यक्ष दाहाल

बुधवार , श्रावण ७, २०८२

काठमाडौं, ७ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी उपमहासचिव जनार्दन शर्माप्रति लक्षित गर्दै अहिले सिंगौगरी खेल्न दिइरहेको टिप्पणी गर्नुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई बोल्दै उहाँले उपमहासचिव शर्मालक्षित कटाक्ष गर्दै आफू फरक मतको विरोधी नभएको बताउनुभएको हो । उहाँले भिन्न मतलाई दमन गर्नेकुरा आफ्नो कमजोरी नभएको जिकिर गर्नुभयो । उहाँले आफ्नो बारेमा पार्टीभित्र पनि यसबारे आलोचना हुने गरेको उल्लेख गर्दै आफूले फरक मत राखेकै आधारमा कसैलाई पनि पार्टीबाट निष्कासन नगरेको जिकिर गर्नुभयो ।

उहाँले फरक मत राख्नेलाई पार्टीमा छलफलका लागि प्रशस्त समय दिएको उल्लेख गर्दै अहिले पनि सिंगौरी खेल्ने क्रम जारी रहेको बताउनु भयो । उनीहरुलाई डेढ महिना देशभर नै परामर्श भन्दै सँगै लिएर हिँडेको बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘भिन्न मतलाई दमन गर्ने मेरो कमजोरी होइन । भिन्न मत अलि बढी उदायो भने मेरो कमजोरी हो । मलाई मेरो पार्टीभित्र बढी आलोचना हुने विषय पनि यही हो । मैले कसैलाई कारबाही गरिन । कमरेड किरण, कमरेड बाबुराम, कमरेड बादल, अरु अरु थुप्रै थुप्रै । कसैलाई पनि मैले पार्टीबाट निकालेको चाहीँ छैन ।

तर कतिपय साथीहरुलाई लाग्छ, ननिकालेर के गर्ने बस्ने ठाउँ नै नदिएपछि भन्ने लाग्छ । त्यो पनि सत्य होइन । मैले पर्याप्त छलफलको वातावरण दिने गरेको छु । अहिले पनि केही साथीहरुले ल त भनेर अलिअलि सिंगौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्नुभएको छ ।

उहाँलाई प्रशस्त सिंगौरी खेल्न दिएको छु । सिंगौरी खेल्न मन लागे खेल्नुस् भनेर दिएको छु । डेढ महिना परामर्श भन्दै देशैभरी लिएरै हिँडे मैले । यो भन्दा बढी गर्ने के हो जनवाद ?’

अध्यक्ष दाहालले अब दलाल पुँजीवाद र नोकरशाही पुँजीवादका विरुद्ध संघर्ष गर्न जरुरी रहेको बताउनु भयो । आजैबाट एउटै कम्युनिष्ट पार्टी बनाउन पहल शुरु गर्ने पनि बताउनु भयो ।