
मंगलवार , श्रावण ६, २०८२
भैरहवा, ६ साउन । वि.पी.कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रूपन्देहीले तिलोत्तमा वडा नम्बर ६ पश्चिम पहुनीस्थित मानवसेवा आश्रममा खाना खुवाउने तथा रेफ्रिजेरेटर हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख आतिथि कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री भरत कुमार शाहले महामानव वि.पि.कोइरालाद्वारा करिब ८ दशक अघि स्थापित लोकतान्त्रिक समाजवाद सिद्वान्तको जगमा आज पनि नेपाली कांग्रेस अघि बढिरहेको बताउनुभयो । उहाँले रुपन्देही क्षेत्र नम्बर ३ ले राजनीतिका साथै यसप्रकारका सामाजिक कार्य गरेर आम जनताको मन जित्ने कार्य गरेको धारणा राख्नुभयो । नेपालको राजनीतिमा वि.पि.कोइरालाको महत्व, लगानी, दुरदर्शिता, साहित्य कृति, नेपाली कांग्रेसको संगठनमा उहाँले पारेको प्रभाव सम्बन्धमा धारणा राख्नुभयो ।
त्यस्तै कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले मानवीय सेवा तथा उद्वारमा आश्रमले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । उहाँले पार्टीका अन्य तह–तप्काले पनि क्षेत्र नम्बर ३ ले जस्तै मानवीय तथा सामाजिक कार्यलाई अगाडी बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मानवसेवा आश्रमको सञ्चालनमा सहज होस् भनेर कांग्रेस रुपन्देही–३ ले नगद २० हजार रुपैयाँ र एक थान रेफ्रिजेरेटर प्रदान गरेको थियो ।
त्यसै गरी सिद्धार्थनगर नगरपालिका–८ बैंक कलोनी निवासी स्तन क्यान्सरबाट पीडित लक्ष्मी थापालाई आर्थिक सहयोग स्वरुप २१ हजार १ सय २१ रुपैयाँ सहयोग समेत गरिएको थियो ।
कांग्रेस क्षेत्र नम्बर ३ रुपन्देहीका सभापति सुशील गुरुङको सभापतित्व, ३ (क) का सभापति सुरेन्द्र जंग थापाको स्वागत तथा क्षेत्रीय सचिव एवं प्रवक्ता लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij