
मंगलवार , श्रावण ६, २०८२
काठमाडौं, ६ साउन । यु–२० महिला च्याम्पियनसिपमा स्ट्राइकर मिना देउवाले ६ खेलमा सात गोल गरेकी थिइन् ।
नेपाली यु–२० महिला टोलीकी महत्वपूर्ण सदस्य मीनाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भएपनि बिना डर र दबाब खेल्ने प्रयास गरेको बताइन् । आफूले सोचेअनुरूप खेल्न सकेकोमा खुशी रहेको उनको भनाइ छ । अन्तिम खेलबाहेक सबै खेलमा राम्रो प्रदर्शन गरेको उनले स्वीकार गरिन् ।
पहिलो खेलमा अन्तिम समय गोल व्यहोर्दा हार व्यहोर्नु पर्दा धेरै दुःख लागेको उनले उल्लेख गरिन् । यसपल्ट जितेर नै जान्छौं भन्ने लक्ष्यसहित खेले पनि नतिजा फरक आएको मीनाले बताइन् । तीन गोल खादासम्म फर्कन्छौं भन्ने आत्मविश्वास रहेको स्ट्राइकर मीनाले उल्लेख गरेकी छन् ।
आफ्नो गोलकिपर र डिफेन्सबीच तालमेल पनि नमिल्दा खेलमा थप समस्या भएको उनी बताउँछिन् । बंगलादेशको क्विक फरवार्ड लाइन र आफ्नो डिफेन्स लाइनमा समस्या हुँदा खेलमा अफ्ठयारो भएको उनले बताइन् । प्रशिक्षकहरूको योजनाअनुरूप मैदानमा प्रदर्शन गर्न सके सिनियर टोलीमा स्थान बनाउने सकिने मीनाको विश्वास छ ।
नेपाली टोलीकी कप्तान बिर्सना चौधरीले सकेसम्म राम्रो खेल्ने लक्ष्य भए पनि सफल नभएको बताइन् । डिफेन्स लाइनमा समस्या हुँदा खेलमा असर परेको उनले बताइन् । मिडफिल्ड र डिफेन्सबीच पनि तालमेला नमिलेको उनी बताउँछिन् । नेपालकी पूर्णिमा राईले उक्त प्रतियोगितामा १० गोल गर्दै गोल्डेन बुट पाइन् ।
पूर्णिमाले यो संख्यामा गोल गर्छु भन्ने नरहे पनि स्ट्राइकरको भूमिकाअनुरूप काम गर्न सकेकोमा खुशी लागेको बताइन् । तर अन्तिम खेलमा गोल गर्न नसक्दा आफूलाई धेरै दुःख लागेको उनी बताउँछिन् ।
बंगलादेशले लामो समयदेखि तयारी गर्दा टिम सेट भएको र आफूहरूले एक महिनाको मात्र तयारी गरेकाले खेलमा प्रभाव देखिएको उनको भनाइ छ । आफ्नो टोलीले पनि राम्रो अनुभव पाए बंगलादेशजस्तो प्रदर्शन सम्भव रहेको उनी बताउँछिन् । लगातार मेहनत गरे राष्ट्रिय टोलीसम्म पुग्नसक्ने उनको विश्वास छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij