
मंगलवार , श्रावण ६, २०८२
काठमाडौं, ६ साउन । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कुलिङ पिरियडबारे संसदीय समितिबाट सर्वसम्मत भएको विषयमा काँग्रेसले कम्परमाइज गर्न नसक्ने बताउनुभएको छ ।
विपी स्मृति दिवसमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । राज्य व्यवस्था समितिबाट सर्वसम्मत रुपमा प्रतिनिधि सभामा पठाइएको संघीय निजामति विधेयकमा कुलिङ पिरियडमा दुई वर्षे प्रावधान राखिएको थियो । तर प्रतिनिधि सभाबाट दुई वर्षे समयावधि हटाएर पारित भयो ।
समितिबाट पठाएको र संसदबाट पारित भएको व्यवस्था अर्कै परेपछि अहिले संसदीय छानविन समिति बनाएर अध्ययन भइरहेको छ । राष्ट्रिय सभामा रहेको विधेयकमा अहिले नेकपा एमालेका सांसदहरुले कुलिङ पिरियड हटाउनुपर्ने भन्दै संशोधन प्रश्ताव राखेका छन् । तर काँग्रेस यसमा अडिग रहेको काँग्रेस नेताहरुको भनाइ छ ।
यसमा काँग्रेसले कम्परमाइज नगर्ने र कुलिङ पिरियड लागू हुनैपर्ने प्रवक्ता महतले बताउनु भयो र्। भूमि विधेयक लगायत महत्वपूर्ण विषयहरुमा एकलौटी लाद्ने काम स्वीकार्य हुन नसक्ने बताउनु भयो । गठबन्धन सरकार सन्तुलित किसिमबाट अघि बढ्नुपर्ने बताउनु भयो ।
प्रवक्ता महतले भन्नुभयो, ‘कुलिङ पिरियडको बारेमा कुरा छ । यो समितिबाट सर्वसम्मत रुपमा अघि बढेको हो । यसमा नेपाली काँग्रेसले कम्परमाइज गर्न सक्दैन । कुलिङ पिरियड लागू हुनैपर्छ । अरु जुन महत्वपूर्ण भूमि विधेयक लगायत महत्वपूर्ण विषय छन्, त्यसमा समग्र छलफलबाट मात्रै एउटा निष्कर्षमा पुग्न सकिन्छ । एकलौटी त्यसमा लाद्ने कुरा स्वीकार हुन सक्दैन । त्यसो हुनाले यो गठबन्धन सरकार ०८४ सम्म निरन्तर जाने एउटा निर्णयसहित अघि बढेको छ ।
त्यो हामी चाहन्छौँ । तर त्यसका लागि त्यसको प्रभावकारिता बढ्नुपर्छ । सँगै यो गठबन्धन भनिसकेपछि सन्तुलित किसिमबाट सबै गठबन्धनका सहयात्री दल खासगरी नेपाली काँग्रेसको दृष्टिकोण छ, हाम्रा भनाइ छन्, नियुक्तिका कुराहरु छन् । हामी प्रोफेसनल मान्छे आउन् भन्छौँ । पार्टी र व्यक्तिप्रति लोयल मान्छे हामीले खोजिरहेका छैनौँ । तयसप्रति पनि प्रधानमन्त्रीले विशेष संवेदनशीलता आवश्यक छ । यसलाई गम्भीरताका साथ लिन आवश्यक छ ।’
प्रवक्ता महतले झुटो बोलिरहेकाहरु नै सत्य हो जसरी समाजमा स्थापित भइरहेको बताउनु भयो । नेपाली काँग्रेस सत्यको पक्षमा रहेको बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij