२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

काँग्रेस पुरानो हुनुमा गर्व छ : महामन्त्री थापा

सोमवार , श्रावण ५, २०८२

काठमाडौं, ५ साउन । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस पुरानो र मूल्यहिन भयो भन्ने भाष्यलाई चिर्न आवश्यक रहेको बताउनुभएको छ ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आज नेपाली काँग्रेसको मुख्य चुनौति भनेकै पुरानो र थोत्रो खराब हो र मूल्यहिन हो भन्नेकुरालाई चिर्नु रहेको बताउनु भयो ।

समाजमा स्थापित गर्न खोजिएको काँग्रेस पुरानो भयो भन्ने नकारात्मक भाष्यबाट बाहिर निकाल्नु जरुरी रहेको बताउनु भयो । काँग्रेस पुरानो हुनुमा आफूलाई गर्व रहेको बताउनु भयो । काँग्रेसले देशमा धेरै परिवर्तन ल्याएको र योगदान गरेको बताउनु भयो । सँगै नयाँ परिवेश र नयाँ कुरा सिकेर अघि बढ्न पनि काँग्रेस अघि बढिरहेको बताउनु भयो । 

महामन्त्री थापाले भन्नुभयो, ‘आज नेपाली काँग्रेस अगाडिको प्रश्न, चुनौति भनेकै के छ भने पुरानो भनेको थोत्रो, पुरानो भनेको खराब, पुरानो भनेको सबैभन्दा मूल्यहिन भन्ने ढंगबाट समाजमा जबरजस्त जुन नकारात्मक भाष्य स्थापित गर्न खोजिँदैछ । त्यसबाट नेपाली काँग्रेस बाहिर निस्किएर आउनुपर्नेछ । हामीलाई पुरानो भएकोमा गौरव छ । हामीलाई आफ्ना धेरै परम्पराहरुमा गौरव छ ।

यो मुलुकमा, यो धर्तीमा त्यही पुरानो नेपाली काँग्रेसले थुप्रै कुरा ल्याएको छ, योगदान गरेको छ, हाम्रो नेतृत्वमा भएको छ । तर हामी सँगसँगै नयाँ जमानाको, नयाँ समाजका कुरालाई सिक्न पनि तयार छौँ । सुन्न पनि तयार छौँ । ग्रहण गर्न पनि तयार छौँ । आफूलाई नयाँ कुराको लागि तयार हुन पनि तयार छौँ । पुराना जुन राम्रा कुरा छन् त्यसलाई जोगाउँछौँ, नयाँ कुरा थप्दै जान्छौँ । नयाँ ज्ञानको खोजि गर्दछौँ, नयाँ नयाँ ढंगले विवेचना, मिमांशा गर्दछौँ ।

आजको समाजको समाधानलाई इतिहासको चेत राखेर पुरानो कुराबाट पनि हेर्छौं, २००७, २०४६, २०६२ को चर्चा गर्दछौँ, त्यो आन्दोलनको चश्माले पनि हेर्दछौँ । सँगै आजको समाजलाई आजकै युगको चेतनाका आधारमा बुझ्ने प्रयास गर्दछौँ र भोलिका निम्ति बाटो देखाउने प्रयास गर्दछौँ भन्ने काँग्रेस बनाउनुपर्छ ।’

महामन्त्री थापाले काँग्रेसमा थप बहस, थप छलफल, पठनपाठनको संस्कृति आवश्यक रहेको बताउनु भयो ।