२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको अध्यक्षमा विष्णु शर्मा

शनिवार , श्रावण ३, २०८२

भैरहवा, ३ साउन । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको वर्ष २०२५/२०२६ का नवनिर्वाचित कार्यसमितिको पदस्थापन भएको छ । रुपन्देहीको भैरहवामा विशेष कार्यक्रमको आयोजना गरी क्लबको दसौं पदस्थापन समारोह गरिएको हो ।

कार्यक्रममा क्लबका नवनिर्वाचित अध्यक्ष विष्णु शर्मालाई प्रमुख अतिथि रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिष्ट्रिक्ट गर्भनर नोमिनी डा.ईश्वरी प्रसाद ढकालले रोटरीको कलर दिएर पदस्थापन गराउनुभएको थियो । कार्यक्रममा क्लबका नवनिर्वाचित अध्यक्ष शर्माले नयाँ कार्यसमितिका पदाधिकारीहरूलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो ।

नयाँ कार्यसमितिको सेक्रेटरी तथा प्रेसिडेन्ट इलेक्टमा बासु बड़ाल, ट्रेजररमा उपेन्द्र यादव, प्रेसिडेन्ट नोमिनीमा राम अर्याल, युवा लिडर कन्ट्याक्टमा गंगाधर भण्डारी, सर्जेन्ट एट आम्र्समा शिवशंकर जैसवाल, सचिवमा दिनेश पौडेल लगायत २० सदस्य यसअघि नै चयन भइसकेका छन् ।

त्यस्तै पूर्वअध्यक्षहरूलाई पनि विभिन्न समितिको जिम्मेवारी दिइएको छ । पूर्वअध्यक्षहरुलाई समेत जिम्मेवारी दिइएकाले क्लबका आगामी गतिविधिहरू अझ सेवामुखी बन्ने नवनिर्वाचित अध्यक्ष शर्माको विश्वास छ । अध्यक्ष शर्माले आफ्नो कार्यकालमा क्लबमार्फत धेरै भन्दा धेरै सामाजिक गतिविधि गरी उत्कृष्ट बनाउँदै लैजाने बताउनुभयो । सेवाका भावले स्थापित क्लब भएकाले सधैं सामाजिक कार्यमा क्रियाशील हुने शर्माले बताउनुभयो । क्लबको भावी योजनाबारे जानकारी गराउँदै सबै सदस्यलाई सहकार्यको लागि उहाँले आग्रह गर्नुभयो ।

प्रमुख अतिथि डा.ढकालले रोटरीको सदस्यता वृद्धिमा जोड दिँदै सेवामुखी, मैत्रीपूर्ण सम्बन्ध विकासमा क्लबहरू सक्रिय हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले सेन्ट्रल लुम्बिनीले विगतदेखि नै सामाजिक गतिविधिलाई पहिलो प्राथमिकता राखेको जनाउँदै आगामी दिन अझै उत्कृष्ट कार्य गर्न आग्रह गर्नुभयो । रोटरी मूलमन्त्रलाई आत्मसाथ गरेर अघि बढे क्लबहरु सफल हुने उहाँको भनाइ छ ।

डिष्ट्रिक्ट पदाधिकारीहरूको तर्फबाट अजयमान श्रेष्ठ, क्लबका पूर्वअध्यक्ष तथा डिष्ट्रिक्ट आइसीएम चेयर कृष्ण् ाप्रसाद पाण्डे, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्य, पूर्वडिआरआर विक्रम क्षेत्री, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष धिरज मरासिनी, सीता भट्टराईले बोल्दै सामाजसेवा नै मूलमन्त्र भएकाले क्लबहरुले समाजका सहयोगी हातहरु भएको बताउनुभयो । उहाँहरुले क्लबले विगतमा गरेका कामका इतिहास स्मरणयोग्य भएको जनाउँदै आउँदा दिनमा पनि सकारात्मक र रचनात्मक कार्यहरु गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण पाँचजना क्लबका सदस्यहरुका छोराछोरीलाई सम्मानसहित थप शैक्षिक भविष्यको कामना गरिएको थियो । यस्तै, नयाँ थप भएका ५ जना सदस्यहरुलाई क्लबका असिस्टेन्ट गभर्नर शिवप्रसाद गौडेलले शपथ ग्रहण गराउनुभएको थियो ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, लुम्बिनी प्रेस क्लब अध्यक्ष कमल रायमाझी, रोटरी डिष्ट्रिक्ट ३२९२ का असिस्टेन्ट गर्भनरहरू, डिष्ट्रिक्ट पदाधिकारीहरू, छिमेकी १८ वटा रोटरी क्लबका अध्यक्ष तथा पदाधिकारी, रोट्रयाक्ट क्लबका अध्यक्षहरु, पूर्वअध्यक्ष, सदस्यहरु लगायतको सहभागीता थियो ।

518457228_1344930834307058_9133589419517899426_n.jpg

पदस्थापन समारोहको संयोजन प्रेम शर्मा लोहिनीले गर्नुभएको थियो भने स्वागत मन्तव्य क्लबका युवा लिडर कन्ट्याक्ट गंगाधर भण्डारीले गर्नुभएको थियो । बासु बडालको सञ्चालनमा भएको कार्यक्रममा कार्यक्रम संयोजक लोहिनीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।