२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

सिद्धार्थनगर–४ मा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई साईकल वितरण

शुक्रवार , श्रावण २, २०८२

भैरहवा, २ साउन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालयले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण विद्यार्थीहरुलाई बिहीबार साईकल वितरण गरेको छ । कार्यालयले वडा नम्बर ४ मा स्थायी बसोबास गर्ने एसईई उत्तीर्ण १७ जना विद्यार्थीहरुलाई साईकल वितरण गरेको कार्यक्रम संयोजक तथा वडा सदस्य सईद अहमद धुनियाले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समाजसेवी तथा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका पूर्व उपाध्यक्ष भैरव प्रसाद कलवारले यस्तो कार्यक्रमले राम्रो सन्देश दिने बताउनुभयो । उहाँले साईकल चलाउनु स्वास्थ्यका लागि पनि राम्रो भएको बताउनुभयो । उहाँले आगामी दिनमा एसईई उत्तीर्ण विद्यार्थीको संख्या बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै सिद्धार्थनगर नगरपालिका–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले भौतिक पूर्वाधारसँगै शिक्षा र सामाजिक विकासमा जोड दिइएको बताउनुभयो । उहाँले वडा कार्यालयले विद्यार्थीहरुलाई साईकल वितरण गरी सम्मान गर्न पाउँदा हर्षित भएको बताउनुभयो ।

वडा सदस्य हरि बहादुर के.सी.ले विद्यार्थीहरुको आत्मबल बढाउन साईकल वितरण कार्यक्रम गरिएको बताउनुभयो । श्रीराम जानकी हनुमान मन्दिर सिद्धार्थनगर–४ का अध्यक्ष नरेन्द्र प्रसाद रौनियारले यस्तो कार्यक्रमले विद्यार्थीहरुमा अध्ययनमा अझ उर्जा बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल कान्दु वैश्य युवा संघ रुपन्देहीका अध्यक्ष तारकेश्वर कान्दुले आगामी दिनमा उत्कृष्ट विद्यार्थीहरुलाई ल्यापटप वितरण गर्ने विश्वास व्यक्त गर्नुभयो । फूलबारी सेवा समाजका अध्यक्ष हुकुमराज गुरुङले वडा कार्यालयले एसईई उत्तीर्ण विद्यार्थीरुलाई साईकल वितरण गर्नु सराहनीय कार्य भएको बताउनुभयो ।

IMG_9656.JPG

वडा सदस्य हरि बहादुर के.सी.को स्वागत तथा समाजसेवी अर्जुन गुरुङको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा सचिव धनेशचन्द्र गुरुङ, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति थियो ।