२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

जागरणको ‘दलन’ भगत सर्वजित मानव मर्यादा पुरस्कारबाट पुरस्कृत

बिहिवार , श्रावण १, २०८२

काठमाडौं, १ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गर्ने भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, २०८१ बाट दलन टेलिसिरियल पुरस्कृत भएको छ । मन्त्रालयले राष्ट्रिय नाचघरमा एक विशेष समारोहका बिच जागरण मिडिया सेन्टरले निर्माण गरेको जातीय भेदभाव र छुवाछुत सम्बन्धी टेलिसिरियल दलनलाई पुरस्कृत गरेको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेयले जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्मालाई पुरस्कार प्रदान गर्नुभएको हो । उक्त अवसरमा दलन टेलिसिरियलले नेपाली समाजमा जरा गाडेर बसेको जातीय छुवाछुत र जात प्रथाको अत्याचार र नेपाली समाजको चित्रण प्रस्तुत गरेको भन्दै राष्ट्रिय पुरस्कारबाट सम्मान गरिएको मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयले बुधवार विभिन्न विधाका ११ पुरस्कार वितरण गरेको थियो । दलन टेलिसिरियलले जातीय भेदभावविरुद्ध समाजको वास्तविक तस्बिर देखाएको बताउँदै निर्माण गरेको करिब डेढ दशकपछि गरेको पुरस्कारले उर्जा थपेको अध्यक्ष कमला विश्वकर्माले बताउनुभयो । उहाँले यो पुरस्कार जागरण मिडिया सेन्टरसँगै टेलिसिरियलका लेखक, निर्देशक, कलाकार, छायांकन र तत्कालीन समयको निर्माण पक्षको योगदानको समेत सम्मान भएको भन्दै सबैलाई धन्यवाद दिनुभयो । दलन टेलिसिरियल नेपाली कला क्षेत्रमा अभिनय र कथा प्रस्तुतिको हिसाबले निकै उत्कृष्ट थियो । 

जागरण मिडिया सेन्टरले दलन टेलिसिरियलसँगै जातीय भेदभाव विरुद्ध सञ्चारकर्मीहरू उत्पादन, बुटवलमा रेडियो जागरण सञ्चालन गर्नुका साथै अधिकार र न्यायको क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको छ ।