
बुधवार , श्रावण १, २०८२
भैरहवा, ३२ असार । लियो क्लब अफ सिद्धार्थनगरले सिद्धार्थनगर नगरपालिका–१३ काटागाउँस्थित जिल्ला प्रहरी कार्यालय रुपन्देहीको परिसरमा मंगलबार वृक्षारोपण कार्यक्रम गरेको छ । कार्यक्रममा लिची, आँप, अमला, अम्बा लगायत फलफूलका गरी ८० वटा बोटविरुवा रोपिएको क्लबले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि लियो डिष्ट्रिक्ट ३२५ पी नेपालका अध्यक्ष एवं लियो मल्टिपल डिष्ट्रिक्टका कोषाध्यक्ष श्रीधर बस्यालले वातावरण संरक्षण र सरसफाईमा सबैको जिम्मेवारी रहेको बताउनुभयो । उहाँले प्रहरी कार्यालय परिसरमा रोपिएको विरुवाको संरक्षण पनि हुने भएकाले क्लबले वृक्षारोपणका लागि यो कार्यालय रोजेको बताउनुभयो ।
लियो क्लब अफ सिद्धार्थनगरका अध्यक्ष बिमल गौतमले वातावरण संरक्षण र हरित रुपन्देही अभियानलाई सहयोग पुर्याउने उद्देश्यले वृक्षारोपण गरिएको बताउनुभयो । उहाँले यो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो । त्यस्तै लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष धर्मराज आचार्यले लियो क्लब अफ सिद्धार्थनगरले वातावरण संरक्षणका लागि गरेको यो कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो ।
लियो डिष्ट्रिक्ट ३२५ पी नेपालका कोषाध्यक्ष तथा लियो क्लब अफ सिद्धार्थनगरका पूर्वअध्यक्ष मनिष ढकालले आगामी दिनमा पनि जिल्ला प्रहरी कार्यालयको सहकार्यमा अन्य महत्वपूर्ण कार्यक्रम पनि गरिने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) एवं सूचना अधिकारी सुरज कार्कीले सामाजिक उत्तरदायित्वका रुपमा यस्ता कार्यक्रमहरूमा सक्रिय सहभागीता जनाउँदै स्थानीय सरोकारवालाहरूसँग सहकार्यमा अगाडि बढ्ने बताउनुभयो । उहाँले आगामी दिनमा पनि लियो क्लब अफ सिद्धार्थनगरसँग सहकार्य गर्दै विभिन्न सामाजिक मुद्दामा सँगै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
लियो क्लब अफ सिद्धार्थनगरका पब्लिक रिलेशन अफिसर एवं कार्यक्रम संयोजक प्रवेश पौडेलको स्वागत तथा क्ल्बका उपाध्यक्ष ज्ञान प्रकाश जयसवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदीप बहादुर क्षेत्री, सिनियर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरु, लियो क्लब अफ सिद्धार्थनगरका पदाधिकारी, सदस्यहरुलगायतको उपस्थिति थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij