
मंगलवार , आषाढ ३१, २०८२
बुटवल, ३१ असार । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सोमबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेयले सेवा प्रवाहमा सुधारका लागि उठेका सबै विषयलाई नगर कार्यपालिकामा छलफल गरी कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उक्त कार्यक्रममा सडक मर्मत, ट्राफिक व्यवस्थापन, सरसफाई, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगार जस्ता सेवाहरूमा सुधार आवश्यक रहेको स्पष्ट पारिएको छ ।
नगरप्रमुख पाण्डेयले मोतिपुरमा औद्योगिक क्षेत्र र सिमलारमा कृषिजन्य सम्भावनाहरूलाई प्राथमिकतामा राख्ने योजना प्रस्तुत गर्नुभयो । उहाँले सबै जात, भाषा, धर्म, लिङ र समुदायको हितलाई केन्द्रमा राखेर कार्य गर्दै आएको र अनुपस्थित सरोकारवालालाई मिडियामार्फत जवाफ दिने तयारी रहेको संकेत गर्नुभयो ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले सार्वजनिक सुनुवाइले पालिकाभित्रका कमजोरी पहिचान गर्न सहयोग पुर्याउने बताउनुभयो । उहाँले समस्याको पहिचानले समाधान सजिलो बनाउने भन्दै जनप्रतिनिधि र सेवाग्राहीबीचको सम्बन्ध अझ सुदृढ भइ सुशासन र विकासमा सकारात्मक टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय, बुटवलले सहजीकरण गरेको कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्र बहादुर रानाले विभिन्न सामाकिक चुनौतीहरूबारे गम्भीरतापूर्वक प्रश्न उठाउनुभयो । उहाँले लागूऔषध पदार्थको सेवन देशव्यापी समस्या भएको र अनलाइन ठगीका घटनाहरू बढ्दो क्रममा रहेको जनाउँदै सचेतनामूलक कार्यक्रममार्फत यो प्रवृत्ति रोक्न सक्रिय रूपमा पहल गरिरहेको बताउनुभयो । साथै बुटवलमा आत्महत्याका घटनाहरूमा उल्लेखनीय वृद्धि देखिएको र आत्महत्यासम्बन्धी मुद्दा दर्ता दर उच्च भएको ले उपमहानगरपालिकालाई आत्महत्या न्यूनीकरणका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने उहाँले सुझाव दिनुभयो । उहाँले बुटवललाई सर्वसाधारणका लागि सुरक्षित, जागरुक र समर्थनपूर्ण वातावरण बनाउन प्रहरी–नगरपालिका दुवै पक्षबाट साझा जिम्मेवारी बहान गर्नपर्ने अनुरोध गर्नुभयो ।
सार्वजनिक सुनुवाईमा विभिन्न सरोकारवालाहरूले नगरको विकास र सेवा प्रवाहमा सुधारका लागि महत्वपूर्ण सुझावहरू प्रस्तुत गर्नुभएको थियो । नेपाली कांग्रेसका नगर उपसभापति ज्योती भण्डारीले नगरका गतिविधिहरू बुझ्न र रणनीति बनाउन सार्वजनिक सुनुवाई प्रभावकारी भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘हामी ठूला सपना देख्छौं, साना आइपर्ने समस्यामा परेर दुःखी हुन्छौं, राम्रो गरेको कुराको प्रचार गर्नुहोस्, काम गर्न उर्जा आउँछ ।’
नेकपा (एमाले) बुटवलका अध्यक्ष शोभाखर पोखरेलले सेवा प्रवाहमा देखिएका समस्यामा गम्भीर सुधार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले ‘एकपटक सेवा लिन गएकोले फेरि नपरोस्’ भन्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले युवाहरू बाहिर जाने वातावरण निर्माण नगरी जिम्मेवार नेतृत्व र सार्वजनिक प्रवाहमा पारदर्शिता अपरिहार्य रहेको बताउनुभयो ।
राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष भेक बहादुर थापाले उजिरसिंह थापाको प्रतिमालाई सम्मानका साथ राख्नुपर्ने र सडक मर्मतमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले विद्युत् कटौतीका कारण जनतालाई सास्ती भएको उल्लेख गर्दै विद्युत् आपूर्तिमा स्थायीत्व कायम गर्न सम्बन्धित निकायसँग उपमहानगरले तीव्र पहल गनुपर्ने बताउनुभयो ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले सार्वजनिक लगानी बढाउन र ट्राफिक व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले सर्भिस लेनमा पार्किङको समस्या समाधान गर्न नगर र प्रहरीको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनाल, वडाअध्यक्षहरू, कार्यपालिका सदस्य, विभिन्न विषयगत समितिका संयोजक, नागरिक समाजका प्रतिनिधिहरू र पत्रकारहरूको सहभागीता थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij