
आइतवार , आषाढ २९, २०८२
काठमाडौं, २९ असार । तिलौराकोट विश्व सम्पदा सूचिमा सूचिकृत हुन असफल भएको छ ।
आईतवार शितल निवासमा आयोजित एक कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्न आफूहरु यस पटक असफल भएको बताउनुभएको हो । तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्ने प्रश्तावसहित मन्त्री पाण्डे १४६ औं वल्र्ड हेरिटेज मिटिङमा सहभागी हुन जानुभएको थियो । तर इकोमसले स्थगन पनि नगर्ने र स्वीकृत पनि नगर्ने रिपोर्ट गरेसँगै यस वर्षका लागि तिलौराकोट डिफर चरणमै रहेको छ ।
वल्र्ड हेरिटेज कमिटीमा भारतसहितका २१ वटा देशहरु थिए । तर भारतले समेत शाक्य वंशको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्न कुनै चासो दिएन । मन्त्री पाण्डेकाअनुसार त्यसमा नेपालका पनि केही प्राविधिक त्रुटीहरु रहेको बताउनु भयो । उहाँले अर्को पटकको बैठकमा कमीहरु सुधार गरेर आफूहरु अघि बढ्ने बताउनु भयो ।
मन्त्री पाण्डेले भन्नुभयो, ‘सुखद् पक्ष लुम्बिनी गएको १४६ औं वल्र्ड हेरिटेज मिटिङमा खतराको सूचिमा पर्नेबाट जोगाएर हामी आएका छौँ । एक वर्षको समय माग गरेका थियौँ, हामी सुधार गर्छौं भनेर । त्यो कार्ययोजना हाम्रो बन्यो । त्यसपछि काम पनि फटाफट ग¥यौँ । अब यस पटक १४७ औं सेसनबाट लुम्बिनी खतराको सूचिबाट मुक्त भएको छ । हामी ठूलो उत्साह लिएर गएका थियौँ । शाक्य वंशको राजधानी भनेर । लगभग तथ्यहरुले प्रमाणित भइसकेको थियो ।
तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्नुपर्ने थियो । तर केही प्राविधिक कारणले, इकोमसको रिपोर्ट, केही विभिन्न देशहरु, जसको हामीले सपोर्ट प्राप्त गर्नुपर्दथ्यो । भारतसहित २१ वटा देशको वल्र्ड हेरिटेज कमिटी छ । भारतको समेत यसमा त्यति ठूलो सदीक्षा रहेन ।
तर हामीले त्यो डिफरबाट, जुन पहिलो चरण स्वीकार गर्नुपर्ने हो, दोस्रो रिफर, तेस्रो डिफर र चौथो रिजेक्टको चार अवस्थामा हामीलाई इकोमसले डिफरको रिपोर्ट दिएका थियो । हामी डिफरमै रह्यौँ, स्थगनकै अवस्थामा रह्यौँ । स्थगत पनि भएन स्वीकृत पनि भएन । अर्को पटक सुधार गर्दै र कुटनीतिक तयारी गर्नेगरी अघि बढ्नेछौँ । अर्को पटक अहिले भएका सबै देशहरु रहँदैनन् ।’
मन्त्री पाण्डेले अर्को पटक कमीहरु सुधार गर्ने, अन्य देशहरुसँग पनि कुटनीतिक पहल गर्नेगरी आफूहरु अघि बढ्ने बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij