२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

असोज १ गते भैरहवामा ‘रक्तदान महोत्सव’, ३०० यूनिट रगत संकलन गर्ने लक्ष्य

शनिवार , आषाढ २८, २०८२

भैरहवा, २८ असार । आगामी असोज १ गते रुपन्देहीको भैरहवामा रक्तदान महोत्सव–२०८२ हुने भएको छ । तेरापंथ जैन समाज, भैरहवाको आयोजना तथा मारवाडी सेवा संघ, भैरहवाको संयोजनमा मेगा ब्लड डोनेसन ड्राईभ (रक्तदान महोत्सव) हुने भएको हो ।

‘हाम्रो रक्त, हाम्रो लागि’ भन्ने मूल नाराका साथ सिद्धार्थनगर नगरपालिका–५ स्थित मारवाडी सेवा संघको भवनमा महोत्सव हुने तेरापंथ जैन समाज, भैरहवाका सल्लाहकार विजय सिंह जैनले जानकारी दिनुभयो ।
मारवाडी सेवा संघका सदस्य तथा पूर्व वडा सदस्य मोहित सेठियाका अनुसार यस्तो कार्यक्रम (महोत्सव) २०८० सालमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा १०८ यूनित रगत संकलन भएको थियो । असोज १ गते भैरहवामा हुने कार्यक्रममा ३ सय यूनिट बढी रगत संकलन गर्ने लक्ष्य रहेको सेठियाले बताउनुभयो । त्यसबाहेक यो कार्यक्रम सोही दिन नेपालका विभिन्न स्थान र नेपालबाहिर पनि ५० वटा मुलुकमा आयोजना गरिने उहाँले जानकारी दिनुभयो ।

शनिबार भैरहवामा एक कार्यक्रमकाबीच रक्तदान महोत्सव–२०८२ को ब्यानर अनावरण गरिएको छ । उक्त कार्यक्रममा बोल्दै समाजसेवी तथा उद्योगी नारायण प्रसाद अग्रवालले कुनै पनि दान आफैमा महत्वपूर्ण रहेको र रक्तदानको झनै महत्व रहेको बताउनुभयो ।

त्यस्तै समाजसेवी नन्दलाल गोयनकाले रगतले मानिसलाई बचाउने भएकाले रक्तदानको महत्व रहेको बताउनुभयो । समाजसेवी श्रीचन्द गोयनकाले दान आफैमा पवित्र शब्द भएको बताउनुभयो ।

मारवाडी सेवा संघ भैरहवाका अध्यक्ष श्रवण कुमार बेरिवालले रक्तदान महोत्सवलाई सबैले मिलेर सफल बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष हेमन्त कुमार अग्रवाल, उपाध्यक्ष अरुण कुमार अग्रवाल लगायतले रक्तदान कार्यक्रमको महत्वबारे भनाइ राख्नुभएको थियो ।