२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

पर्यटकको रोजाइमा लटारम्मेश्वर

बुधवार , आषाढ ४, २०८२

मकवानपुर, ४ असार । मकवानपुरमा रहेको लटारम्मेश्वर महादेव मन्दिर पर्यटकीय गन्तव्य बन्दै गएको छ । 

जिल्लाको भीमफेदी गाउँपालिका–८ मा अवस्थित लटारम्मेश्वर महादेव मन्दिर धार्मिक पर्यटक एवं हाइकिङ रुचाउने पर्यटकको रोजाइमा पर्न थालेको हो । समुन्द्री सतहबाट एक हजार ८ सय ५६ मिटरको उचाइमा रहेको लटारम्मेश्वर महादेव मन्दिरबाट मनोरम हिम श्रृंखला पनि देख्न सकिन्छ । सामाजिक सञ्जालमार्फत चर्चा बटुलिरहेको लटारम्मेश्वर क्षेत्र डब्लु डाँडा नामले समेत चिनिन्छ ।

पौराणिक मान्यताअनुसार सतीदेवीको जटा पतन भएको स्थानका रूपमा लटारम्मेश्वरलाई धार्मिक दृष्टिले अति पवित्र मानिन्छ । भीमफेदी गाउँपालिका र वागमती प्रदेश सरकारको सहयोगमा लटारम्मेश्वर क्षेत्रलाई पर्यटकीय हबको रूपमा विकास गर्न गुरुयोजना बनाइएको बताइएको छ ।

बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको सहकार्यमा खानेपानी, विश्रामस्थल र पदमार्ग स्तरोन्नति लगायतका पूर्वाधार विस्तारको कार्य तिब्र गतिमा अघि बढिरहेको पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले बताउनुभयो भयो । उहाँले पर्यटकको सहजताका लागि पूर्वाधार विकासलाई समेत प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो।स्थानीयवासीकाअनुसार पछिल्लो समय लटारम्मेश्वर क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको उल्लेख्य वृद्धि भएको छ ।

मन्दिर दर्शन गर्न आउने पयर्टकका कारण व्यापार व्यवसायमा समेत सकारात्मक प्रभाव परेको स्थानीय विजय भोलोनले बताउनु भयो । प्राकृतिक सुन्दरताले भरिएको उक्त मन्दिरमा पुग्दा अलौकिक अनुभुति हुने गरेको पर्यटक सुनिता मानन्धरको अनुभव छ । भौगोलिक अवस्थिति र धार्मिक महत्वका कारण लटारम्मेश्वरलाई पर्यटकीय हबको रुपमा विकास गरिनुपर्नेमा स्थानीयहरुले जोड दिएका छन् ।