
सोमवार , जेठ २७, २०८२
रुपन्देही, २६ जेठ । रुपन्देहीको बुटवल आज शिक्षाको नयाँ पहिचान बनाउँदैछ । विद्यालयदेखि विश्वविद्यालय, प्रविधि, स्वास्थ्य, कृषि, व्यवस्थापनदेखि अनुसन्धानसम्मका शैक्षिक आयामहरू विस्तार हुँदै गएको बुटवलले अबको केही वर्षमा लुम्बिनी प्रदेश मात्र होइन, देशकै प्रमुख शैक्षिक केन्द्रको रूपमा आफूलाई स्थापित गर्ने संकेत देखाइसकेको छ ।
योजना, लगानी, नेतृत्व र सहभागीताको निरन्तरताले मात्र यो सपना साकार हुनेछ । आर्थिक तथा शहरी पूर्वाधारको गतिशील केन्द्रको रूपमा विकास हुँदै आएको बुटवल पछिल्लो दशकमा शैक्षिक क्षेत्रको गुणात्मक विकासले शैक्षिक हबको रूपमा स्थापित हुँदै गएको छ ।
शिक्षा, स्वास्थ्य, कृषि, इन्जिनियरिङ, व्यवस्थापन, मानविकी, कानुन लगायतका विभिन्न संकायमा अध्यापन हुने शिक्षालयहरूको विस्तार, शैक्षिक गुणस्तरमा भएको सुधार, विद्यार्थीको आकर्षण र विगत र अहिलेका जनप्रतिनिधिहरूद्वारा चालिएका रणनीतिक कदमहरूले बुटवललाई शैक्षिक गन्तव्यको रूपमा अघि बढाइरहेको छ ।
बुटवल केन्द्रित विद्यार्थी संख्या
हाल बुटवल उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित ९७ विद्यालयहरू (३९ सामुदायिक, ५८ संस्थागत) मा करिब ७५ हजार भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् । त्यसै गरी, बुटवलमा सञ्चालित २५ वटा क्याम्पसहरूमा ३० हजार भन्दा बढी विद्यार्थीहरू स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरिरहेका छन् । स्वास्थ्य, व्यवस्थापन, मानविकी र प्रविधि क्षेत्रका कलेजहरूमा वर्षेनी भर्ना दर उल्लेखनीय रूपले वृद्धि हुँदै गएको छ । छिमेकी जिल्ला पाल्पा, नवलपरासी, गुल्मी, अर्घाखाँची, कपिलवस्तुलगायत लुम्बिनी प्रदेशभरीका विद्यार्थीहरू बुटवललाई शैक्षिक केन्द्रको रूपमा रोज्ने क्रम तीव्र भएको छ ।
एउटा बिडम्बनाका रुपमा यहाँका केही स्वास्थ्य प्राविधिक कलेजहरुलाई बन्द गराइएपछि भने ती विषयमा पठनपाठन हुने गरी सीमापारी भारतीयले थुप्रै कलेज सञ्चालन गरेका छन् । जहाँ हजारौं नेपाली विद्यार्थीहरु स्वास्थ्य प्राविधिक विषयको अध्ययनका लागि गइरहेका छन् । यो यसअघिको संघीय सरकारले ल्याएको नीतिका कारणले भएको हो ।
गुणस्तरीय शिक्षाको केन्द्र बन्दै बुटवल
विगतमा काठमाडौं, भारतको दार्जिलिङ, देहरादुन वा अन्य सहरहरू जानुपर्ने बाध्यता अब हट्दै गएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) देखि स्नातकोत्तर तहसम्मका नतिजामा बुटवलका विद्यार्थीहरू देशैभरी अब्बल देखिँदै आएका छन् । उदाहरणस्वरूप, पछिल्लो तीन वर्षमा एसईईमा प्रदेशकै उच्चतम नतिजा दिने विद्यार्थीहरू बुटवलका विद्यालयबाट आएका छन् ।
देशभर विद्यार्थी संख्या धेरै भएका सामूदायिक विद्यालयमध्ये ३ वटा–कालिका मानवज्ञान मावि, नविन औद्योगिक कदरबहादुर रिता मावि र कान्ति मावि बुटवलमा अवस्थित छन् । यी विद्यालयहरूले शैक्षिक उपलब्धिमा मात्र होइन, भौतिक पूर्वाधार, प्रविधि प्रयोग र सामाजिक उत्तरदायित्वमा पनि उदाहरणीय भूमिका निर्वाह गर्दै आएका छन् ।
नगरप्रमुख खेलराज पाण्डेय बुटवललाई मुलुककै आकर्षक शैक्षिक हब बनाउने गरी काम भइरहेको बताउनुहुन्छ । उहाँले नीति तथा कार्यक्रम नै बनाएर शैक्षिक विकासका काम भइरहेको बताउनुभयो ।
शिक्षामा गरिएको लगानी र पूर्वाधारको सुदृढीकरण
बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रमा कुल बजेटको २६ प्रतिशत अर्थात् ६ करोड रुपैयाँ आन्तरिक स्रोतबाट छुट्याएको छ । शिक्षा शाखा प्रमुख टीका पन्थीका अनुसार विद्यालयस्तरीय पूर्वाधार निर्माण, शिक्षक तालिम, डिजिटल शिक्षा कार्यक्रम, सीपमूलक तालिम तथा छात्रवृत्तिमा प्राथमिकता दिइएको छ ।
शैक्षिक संस्थाहरूको विविधता र विस्तार
बुटवलमा हाल ३९ सामुदायिक र ५८ संस्थागत विद्यालय छन् । त्यस्तै, चार मदरसा, एक धार्मिक विद्यालय र तीन प्राविधिक शिक्षालयहरू सञ्चालनमा छन् । त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त २५ वटा क्याम्पसहरू बुटवलमा सञ्चालनमा छन् । उल्लेखनीय क्याम्पसहरूमा बुटवल बहुमुखी क्याम्पस, लुम्बिनी वाणिज्य क्याम्पस (सरकारी), बुटवल कालिका क्याम्पस र सिद्धार्थ गौतमबुद्ध क्याम्पस (संस्थागत) रहेका छन् ।
प्राविधिक र स्वास्थ्य शिक्षाको केन्द्र
बुटवलमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, समाजशास्त्र, ग्रामीण विकास, होटल म्यानेजमेन्ट, कानून, सामाजिक मनोविज्ञान जस्ता विषयहरूमा पढाइ हुँदै आएको छ । बुटवलमा दुईवटा सरकारी प्राविधिक शिक्षालय–कोरिया नेपाल प्राविधिक शिक्षालय र बुटवल टेक्निकल इन्ष्टिच्युट (बीटीआई) बाट अटो, मेकानिकल, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स इन्जिनियरिङतर्फ हजारौं प्राविधिक जनशक्ति उत्पादन भइरहेको छ । बीटीआईकै उत्पादन मध्येका एकजना प्राविधिक प्रदीप गिरी भन्नहुन्छ–‘बीटीआई बुटवलको शान हो र पहिचान पनि हो । यसलाई अझ विशिष्टिकृत गर्नुपर्नेछ ।’ गिरी हाल सैनामैना नगरपालिकाको योजना शाखामा सिनियर प्राविधिकका रुपमा कार्यरत हुनुहुन्छ ।
स्वास्थ्य शिक्षाको क्षेत्रमा फार्मेसी, अनमी, नर्सिङ, ल्याब असिस्टेन्ट र हेल्थ असिस्टेन्ट उत्पादन हुने १५ वटा शिक्षण संस्था छन् । निजीस्तरका स्वास्थ्य प्राविधिकका कलेजहरु पनि छन् । यीमध्येको क्रिमसन कलेज प्रविधिमैत्री शिक्षामा अग्रस्थानमा रहेको छ । कृषि शिक्षा (बीएस्सी एजी) कलेज स्थापनाको प्रक्रिया पनि अगाडि बढाइएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालको भनाइ छ ।
शैक्षिक सुधारका पहल र नेतृत्वको भूमिका
बुटवलको शैक्षिक विकासमा विगतदेखि नै पहलहरु भइरहेका छन् । विगतमा जनप्रतिनिधिहरू विशेषतः उपमहानगर प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्यहरु, प्रदेश सांसद्, शिक्षा समितिका सदस्यहरूको पहलमा सिंगो बुटवल एक विद्यालय, सामूदायिक विद्यालयहरूमा स्मार्ट क्लासरूम, इन्टरनेट, पुस्तकालय र विज्ञान प्रयोगशालाको विकासमा जोड दिइएको थियो । सोहीबमोजिम सामूदायिक विद्यालयहरुमा विज्ञान र कम्प्युटर प्रयोगशालाहरु स्थापना भएका थिए । अहिले यसलाई अझ विस्तार गर्ने काम भइरहेको छ । सिंगो बुटवल एक विद्यालयको अवधारणा भने अहिले रोकिएको बताइएको छ ।
शिक्षाविद् रामचन्द्र आचार्य भन्नुहुन्छ, ‘व्यापारिक केन्द्रको रूपमा चिनिएको बुटवल आज शैक्षिक गन्तव्य बन्न सफल हुनुमा नीति निर्माताको योजनाबद्धता, शिक्षालयहरूको प्रतिष्पर्धात्मक सेवा र आमजनको विश्वास प्रमुख कारण हुन् ।’ उहाँले अहिलेको पाठ्यक्रममा सीपमूलक र रोजगारमुखी विषय समावेश गरी विश्व बजारसँग प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
शैक्षिक वातावरणको समग्र प्रभाव
लोक सेवा, शिक्षक सेवा, अनुसन्धान तथा तालिमका लागि देशभरका विद्यार्थीहरू बुटवल आउने गरेका छन् । अध्ययन अवलोकन गर्न विदेशी शैक्षिक विज्ञहरू आउने क्रम पनि बढ्दो छ । यसले बुटवलमा शैक्षिक बहस, अन्तरक्रिया र नवप्रवर्तनको वातावरण सिर्जना गरेको उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्यालको भनाइ छ ।
अबका दिनमा सञ्चालन गर्नुपर्ने शैक्षिक कार्यक्रमहरू
शिक्षाविद्, नीति निर्माताहरू र जनप्रतिनिधिहरूको सुझाव अनुसार अबका दिनमा बुटवलका शैक्षिक संस्थाहरूले निम्न कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक देखिन्छ ।
रोजगारमुखी र उद्यमशीलता आधारित शिक्षा कार्यक्रम
सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), डेटा साइन्स, वेब÷मोबाइल एप विकास जस्ता नयाँ सीपमूलक विषयहरू समावेश गर्नुपर्ने । उद्यमशीलता विकास, स्टार्टअप इनक्युबेसन केन्द्र स्थापना, कृषि तथा ग्रामीण उद्यमतर्फ लक्षित कार्यक्रमको खाँचो देखिएको युवालाई उद्यमशीलता सिकाइरहनुभएका विज्ञ मुकुन्द ज्ञवालीको भनाइ छ ।
स्थानीय आवश्यकतालाई सम्बोधन गर्ने प्राविधिक शिक्षा
बुटवलले यसअघि सहरी कृषिको प्रवद्र्धनलाई उच्च प्राथमिकता दिएको थियो । अहिले पनि त्यो कार्यक्रम जारी रहेको देखिन्छ । कृषि विज्ञान (बीएस्सी एजी), डेरी टेक्नोलोजी, वन विज्ञान, माटो तथा जल व्यवस्थापन, स्थानीय स्रोत आधारित व्यवसायिक तालिमहरू सञ्चालन गर्न जरुरी छ । लघु उद्योग सम्बन्धी तालिम (हस्तकला, प्रशोधन र प्याकेजिङ)लाई विद्यालय तहदेखि समावेश गर्नपर्ने ज्ञवालीको सुझाव छ ।
अनुसन्धान तथा नवप्रवर्तन केन्द्रको स्थापना
विद्यालय र क्याम्पसमा ‘इन्नोभेशन ल्याब’ स्थापना गरी विद्यार्थीलाई अनुसन्धानप्रति आकर्षित गराउन सकिन्छ । अहिलेको पुस्ताले विश्वका कयौं मुलुकका शैक्षिक कार्यक्रमहरु इन्टरनेटमार्फत हेरेर पनि प्रभावित हुने गरेको अवस्था छ । हामीले पनि हाम्रो मौलिकतासहितको त्यस्तो नवप्रर्तनको कार्यक्रम सञ्चालन गर्न सकिने सम्भावना रहेको अर्का युवा उद्यमी यादव भण्डारीको भनाइ छ । सामाजिक अनुसन्धान (जस्तो ग्रामीण विकास, सहहरी विकास, सार्वजनिक जनस्वास्थ्यका क्षेत्रहरुमा विद्यार्थीको संलग्नता बढाउन सकिने उहाँको भनाइ छ ।
डिजिटल शिक्षा र ई–लर्निङ प्रवद्र्धन
सबै विद्यालयमा डिजिटल सामग्री, स्मार्ट बोर्ड, कम्प्युटर र इन्टरनेट पहुँच सुनिश्चित गर्नु । स्थानीय भाषामा ई–लर्निङ सामग्री विकास, शिक्षकलाई डिजिटल तालिम, दूरशिक्षाको अवसर विस्तारको खाँचो देखिन्छ ।
कमाउँदै पढ्दैको कार्यक्रम ल्याउनुपर्छ । युवाहरु कक्षा १२ उत्तीर्ण भएपछि विदेश जाने प्रवृत्ति ज्यादा छ । यसलाई रोक्न जरुरी छ । कामका लागि विदेश जानुपर्ने बाध्यतालाई कम नगरेसम्म युवालाई विदेश जाने विकल्प दिन सकिन्न । त्यो विकल्प भनेको कमाउँदै पढ्दैको कार्यक्रम हो । विदेशबाट फर्किएर कृषि कर्ममा लागेका गुल्मी रुरुका किसान खिमबहादुर क्षेत्री भन्नुहुन्छ–‘अहिलेका विद्यार्थीलाई पढ्दै कमाउँदैको कार्यक्रममा जोड्नैपर्छ ।’
विद्यार्थी–उद्योग सहकार्य कार्यक्रमहरु पनि सञ्चालन गर्न सकियो भने त्यसले विद्यार्थीमा कमाउँदै पढ्दैको वातावरण बन्नेछ । प्राविधिक र व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरूलाई स्थानीय उद्योग, बैंक, अस्पताल, फार्म र आइटी कम्पनीहरूसँग जोड्ने व्यवस्था गर्न जरुरी देखिन्छ ।
नीति निर्माताको रणनीतिक भूमिका
बुटवल उपमहानगरपालिका, लुम्बिनी प्रदेश सरकार तथा शिक्षा मन्त्रालयले संयुक्त रूपमा बुटवललाई ‘स्मार्ट शैक्षिक सीटी’ को मोडलमा विकास गर्ने कार्ययोजना अघि सार्नु आवश्यक छ । यसका लागि शैक्षिक सहर गुरुयोजना तयार गर्नुपर्छ । शैक्षिक क्षेत्रका लगानीकर्तालाई सहुलियत (कर छुट, अनुदान) दिनुपर्नेछ । सामुदायिक विद्यालयहरूमा गुणस्तरीयता प्रबद्र्धन गर्ने स्थायी संरचना आवश्यक छ ।
बुटवल अब मात्र पढाइ हुने ठाउँ होइन, सीप, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताको प्लेटफर्म बन्दै गएको छ । बढ्दो विद्यार्थी संख्या, विषयगत विविधता, पूर्वाधारको सुदृढीकरण र प्रविधिको प्रयोगले बुटवलको शैक्षिक पहिचान नयाँ स्तरमा पुगेको छ । अब आवश्यक छ–दीर्घकालीन योजनाबद्धता, सबलीकरण र सम्पूर्ण शैक्षिक समुदायको सहकार्य–जसले बुटवललाई देशकै नमूना शैक्षिक हबको रुपमा स्थापित गर्नेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij