२०८२, मंसिर ९ गते

Nov 25 2025 | २०८२, मंसिर ९ गते

राष्ट्रपति-प्रधानमन्त्री महिलाले पाए अरु के चाहियो भन्नुपनि लैंगिक हिंसा : उपप्रमुख अधिकारी

मंगलवार , मंसिर ९, २०८२

  • 502
    Shares
  • 502
    Shares
  • भैरहवा, ९ मंसिर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले सिद्धार्थनगरका सम्पूर्ण विद्यालयमा पनि यस वर्षदेखि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरिएको बताउनुभएको छ। उहाँले नगरपालिकाको कार्यालय प्रांगणमा जस्तै प्रत्येक विद्यालयमा ब्यानर र ब्याचसहितको अभियान सुरु भएको बताउनुभयो ।

    मंगलबारदेखि सुरु भएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत सिद्धार्थनगर नगरपालिकाको आयोजना, जिल्ला प्रहरी कार्यालयको सहकार्य र विभिन्न संघ–संस्थाको सहकार्यमा मंगलबार भैरहवामा आयोजित समारोहमा उहाँले समय पविर्तनसँगै महिला मात्र नभइ पुरुष र अन्य समुदाय पनि हिंसामा परेकोले लैंगिक हिंसाविरुद्धको अभियानको सुरुवात गरिएको बताउनुभयो । ‘विगतमा महिला हिंसा मात्र थियो, तर पछि लैंगिक हिंसा सुरु भयो, ’उहाँले भन्नुभयो । उहाँले राष्ट्रपति र प्रधानमन्त्री महिलाले पाए अरु के चाहियो भन्नु पनि महिलामाथिको हिंसा भएको र यस्तो सोध्ने अधिकार कसैलाई नभएको बताउनुभयो । 

    उपप्रमुख अधिकारीले प्रविधिको सदुपयोग आफ्ना छोराछोरीले गरे वा गरेनन् भन्ने कुरा अभिभावकले हेर्नुपर्ने बताउनुभयो । उहाँले यसबारे घरमा बुझाउनुपर्नेमा जोड दिनुभयो । ‘महिला घरबाहिर निस्केको, बोलेको समाजमा पचाइदैन, ’उहाँले भन्नुभयो–‘भदौ २३ गते आमाबुवाले आफ्ना छोराछोरी गुमाउनुभयो, २४ गते देश र जनता जलेको पीडा छ । ’ के देशप्रति हाम्रो माया छैन भन्दै उहाँले प्रश्न गर्नुभयो । घर जलेको फोटो राख्दा सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘पुरुषलाई पनि गाली गर्ने अधिकार कसैलाई छैन ।’ 

    त्यस्तै कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीको प्रमुख मन्जु ढकालले पछिल्लो समय डिजिटल अपराध बढेको बताउनुभयो । उहाँले डिजिटल उपकरणको प्रयोगमा सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो । महिला हिंसाविरुद्ध एकजुट भइ अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ । 

    कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाका निमित्त प्रमुख सुमन पन्थीले विश्वले धेरै फड्को मारिसकेको अवस्थामा आज पनि महिला हिंसाविरुद्ध आवाज उठाउनुपरेको बताउनुभयो । उहाँले विभिन्न नाममा महिलाले हिंसा सहनुपरेको बताउनुभयो ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको प्रमुख छाया वि.क.ले कसैले लैंगिक हिंसा गरे त्यो सहेर बस्न नहुने बताउनुभयो । उहाँले प्रविधि आफैमा नराम्रो नभएको तर, यसको सदुपयोग गरे फाइदा हुने बताउनुभयो ।

    सिद्धार्थनगर नगरपालिकाको कार्यपालिका सदस्य द्रुपदा पनेरूले १६ दिन मात्र नभइ लैंगिक हिंसाविरुद्ध ३६५ दिन नै आवाज उठाउनुपर्ने बताउनुभयो । 

    माइती नेपाल भैरहवाको प्रमुख माया क्षेत्रीले प्रविधिको सही रुपमा प्रयोग गर्न नसक्दा पनि महिला तथा बालबालिका हिंसाबाट पीडित भइरहेको बताउनुभयो । उहाँले सामाजिक सञ्जालको दुरुपयोगबाट साईबर क्राइमका घटना बढेको बताउनुभयो ।

    महिला स्वास्थ्य स्वंयसेविका चित्रलेखा थापाले लैंगिक हिंसाविरुद्ध एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सिद्धार्थनगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेतनशील लम्सालको स्वागत तथा नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाको सहायक महिला विकास अधिकृत कौशल्या चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    ‘प्रविधिको सही प्रयोग गरौं : लैंगिक हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ मंगलबारदेखि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।