
शुक्रवार , चैत्र २१, २०८१
भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल फेरि सुनसान भएको छ। सरकारी संयन्त्रले प्रभावकारी रुपमा निर्णय नगर्दा विमानस्थल चल्ने र बन्द हुने क्रम चलिरहेको छ। सरकारले वैदेशिक उडानको लागि आवश्यक पर्ने भिसा सेन्टर, श्रम स्वीकृति, मेन पावर, ट्राभल एजेन्सीलगायतका संयन्त्रहरु भैरहवा ल्याउन चासो दिएको छैन।
यस्ता संयन्त्रहरु नभएपछि भैरहवाबाट हुनुपर्ने कामका लागि काठमाडौं जानुपर्ने बाध्यता छ। काठमाडौं पुगिसकेपछि यात्रुले सहजताका लागि उडानलगायतका सबै काम काठमाडौंबाट गर्दै आएका छन्। भैरहवामा ओर्लिने यात्रुले भैरहवाका लागि सिधा टिकट लिन मिल्ने र भैरहवाबाटै सबै काम हुने अवस्था भएमा सहज हुने बताउँछन्।
‘प्लेनमा पनि सबै ठीक थियो, टिकट महंगो थियो, म फ्लाई दुबईबाट आएको हो, सिधै भैरहवा आउन पाउँदा खुशी लागेको छ, बिहान जहाज चढ्यो भने दिउसो यहाँ आइपुगिन्छ’–१ डिसेम्बर २०२४ मा भैरहवा ओर्लेका नवलपरासी घर भएका एकजना यात्रुले भनेका थिए–‘हामीले भैरहवाका लागि विदेशबाट सिधा आउने टिकट खोज्दा पाउँदैन, विचौलियाले कब्जा गरेका छन्, यताबाट जानका लागि सबै काम काठमाडौंबाटै गर्नुपर्छ भन्ने सुनेको छु, त्यसरी त दोहोरो खर्च भइहाल्छ नि।’
यात्रुको रोजाइमा पर्दा पनि सरकारले संयन्त्र ल्याउन चासो नदिदा भैरहवाबाट उडान गर्न चाहने यात्रु काठमाडौं जान बाध्य छन्। भैरहवाबाट भएको उडान र यात्रुको तथ्यांक हेर्ने हो भने जनवरी, फेब्रअुरी र मार्च तीनमहिनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ हजार १ सय ४८ यात्रुले सेवा लिएका छन्।
जसमध्ये ८ हजार ३० जना विमानस्थल ओर्लेका थिए भने ७ हजार १ सय ७ जनाले भैरहवाबाट उडान भरेका थिए। पछिल्लो महिना मार्च महिनामा मात्रै ७ हजार ३४ जना यात्रुले विमानस्थलबाट सेवा लिएका छन्। जसमध्ये सबैभन्दा बढी जजिरा एयरलाइन्स र फ्लाई दुबईले यात्रु बोकेको तथ्यांकले देखाउँछ। यस्तै, जजिराले मार्च महिनामा ३ हजार ६ सय ७ यात्रु र फ्लाई दुबईले दुई हजार ३२३ यात्रु बोकेको छ।
यात्रुको चासो भएपनि अत्यावश्यक संयन्त्रहरु भैरहवा नल्याएका कारण विमानस्थल सञ्चालनमा अलमल भइरहेकोमा यस क्षेत्रका व्यवसायीहरुको चित्तदुखाई छ। सरकारका मन्त्री, प्रधानमन्त्रीले बोलेका कुराको कार्यान्वयन पक्ष कमजोर रहेको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा बताउँछन्।
उनले निजी क्षेत्रले विमानस्थललाई हेरेर ८० अर्ब लगानी गरेपनि विमानस्थल सञ्चालनमा ल्याउनका लागि सरकारले चासो नदिएको बताए।
‘निजी क्षेत्रले त्यही विमानस्थलले विजनेश ल्याउँछ भन्ने विश्वासमा पर्यटन क्षेत्रमा ८० अर्बजति लगानी गरेको छ, यो लगानी डुब्ने अवस्थामा पुगिसक्यो, तरपनि सरकारलाई चासो छैन’–उनी भन्छन्–‘सरकारका मन्त्रीहरु हरेक पटक आएर आश्वासन दिएर जान्छन्, तर विमानस्थल त चलेको छैन, यसमा पनि केही कुरा भन्नुपर्ने छ र ?’ उनले सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानका लागि भारतसँग रुट परमिटका बारेमा छलफल नै नगरेकोले पनि यस्तो समस्या आएको बताए।
छैनन् विदेशी उडान, नेपाल एयरलाइन्स चलाउने तयारी
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहले भैरहवाबाट उडान हुँदै आएका जजिरा एयरलाइन्स, फ्लाई दुबई, थाइ एयर एसियाले समर सेड्युल नलिएको बताए। यी जहाजले समर सेड्युल अर्थात् अप्रिलदेखि अक्टोवरसम्म उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति नै लिएका छैनन्।
नागरिक उड्ययन प्राधिकरणले सार्वजनिक गरेको समर सेड्युलमा नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्नेहरुको तालिकाका भैरहवाको लागि मार्चसम्म उडान गरिरहेका जजिरा, फ्लाई दुबई र थाइ एयर एशियाको उडान थिएन।
तालिकामा नेपाल वायुसेवा निगमको काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौंको उडान मात्र कायम छ। तालिका भएपनि निगमको जहाज मलेशियाबाट भैरहवा नआएको लामो समय भएको छ। यसलाई हरेक हप्ताको मंगलबार उडान गर्ने गरी तयारी भएको प्रवक्ता शाह बताउँछन्। उनका अनुसार जजिरा एयरवेजले मे महिनादेखि भैरहवाबाट उडान भर्ने आश्वासन दिएको छ।
निर्णय हुन्छन् कार्यान्वयन हुँदैनन्
साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत ग¥यो। भैरहवा र पोखराका अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सरकारको नीति अनुरूप विमानस्थल सञ्चालनलाई सहजीकरण गर्न नेपाल आयल निगमले उक्त विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्यमा छुट दिने निर्णय पनि गरेको छ।
निगमको सञ्चालक समितिको गत साउन ३१ गतेको बैठकले भदौ १ गतेदेखि लागू हुने गरी हाल कायम रहेको हवाई इन्धनको बिक्री मूल्यमा प्रतिकिलोलिटर अमेरिकी डलर १०० कम गर्ने निर्णय पनि गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्तिमार्फत अर्को निर्णय नभएसम्मका लागि यस्तो सहुलियत दिने बताएको छ। अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारले हवाई इन्धनदेखि टिकटसम्म सहुलियत दिइरहेको छ । सरकारले पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर दुई विमानस्थलको हकमा नलिने गरी सहुलियत दिने भनेको छ।
यस्तै, हवाई टिकटमा लगाइएको भ्याट पनि २०८३ भदौसम्म छुट दिएको छ। काठमाडौँको विमानस्थलमा उपलब्ध हुने इन्धनको मूल्यभन्दा भैरहवामा इन्धनको मूल्य सस्तो रहेको छ। तर सरकारले प्रदान गर्ने यस्ता सुविधालाई समयमै दिनुपर्ने भन्दै सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन्।
मन्त्रीहरुका गफ धेरै, काम कम
रुपन्देही २ बाट निर्वाचित उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले २ वर्ष अघि एउटै कार्यक्रममा भनेको कुरा फेरि दोहो¥याए। २०७९ माघ २१ मा भैरहवामै कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘कान्तिपुर लुम्बिनीको सामथ्र्य’ विषयक अर्थ सामाजिक बहसको मुख्य वक्ताका रुपमा बोल्दै अर्थमन्त्री विष्णु पौडेलले विमानस्थल नियमित रुपमा सञ्चालन गर्न कसैले रोकेर नरोकिने बताएका थिए।
‘यो विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि कसैले पनि रोक्न सक्दैन। त्यसका लागि के गर्नुपर्छ भन्ने सम्बन्धमा छलफल गर्न छिट्टै सरोकारवालाहरुको बैठक बस्दै छ। त्यही बैठकबाट सबै समस्या समाधानका उपायहरु निकालेर कार्यान्वयनमा लगिनेछ’–उनले भनेका थिए–‘कसैले यो विमानस्थल सेतो हात्ती हो चल्न सक्दैन भन्दै आएका छन्, म उहाँहरुलाई भन्न चाहन्छु। विमानस्थल पूर्ण क्षमताका साथ चल्नेछ। र त्यसमा कसैको अवरोध हुनेछन्। क्षमताको भरपूर र उच्चतम उपयोग कसरी गर्ने भन्ने विषयमा निकट भविष्यमा छलफल हुँदैछ।’
यसपटक १३ चैत २०८१ मा भैरहवामै आयोजना गरेको कान्तिपुर लुम्बिनीको सामथ्र्य कार्यक्रममा मुख्य वक्ताका रुपमा बोल्दै अर्थमन्त्री पौडेलले त्यही कुरा दोहो¥याए। उनले निकट भविष्यमै विमानस्थल पूर्णरुपमा सञ्चालन गर्नका लागि महत्वपूर्ण निर्णयहरु भएको बताए्। ‘सुरुमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चाहिन्छ भन्नेमै विवाद थियो, बन्दै गर्दा पनि पूरा हुन सक्दैन कि भन्ने थियो, सम्पन्न पनि ग¥यौं, र अहिले पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ,–उनले भनेका थिए,–‘अहिले फेरि विमानस्थल पूर्णरुपमा सञ्चालन हुन सक्दैन, लगानी खेर गयो भनिएको छ। तर यो सत्य होइन। अब छिट्टै पूर्ण क्षमतामा सञ्चालन भएर देखाउँछौं।’
उनले यसो भनेको एक हप्ता पूरा नहुँदै विमानस्थल सुनसान भइसक्यो। अर्थमन्त्रीले मात्रै होइन, हरेक पटकका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री गौतमबुद्ध विमानस्थल आउँदा विमानस्थल नियमित रुपमा सञ्चालन हुने प्रतिबद्धता जनाउँछन्। तर यसको कार्यान्वयन नै हुँदैन।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले विमानस्थल नियमित सञ्चालन गर्नका लागि एक महिनामा २ दिन भैरहवा बस्न तयार रहेको बताएका थिए। २०८१ मंसिर ८ मा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले आयोजना गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै भनेका थिए–‘महिनामा २ पटक विमानस्थलकै लागि भैरहवा आउनेछु, संस्कृति र पर्यटन जोडिएकाले भैरहवाबाटै आफ्नो कार्यकक्ष चलाऔँ भन्ने लागेको छ । मेची–महाकालीको बीचमा रहेको स्थल, लुम्बिनी र पोखरासमेत नजिक भएकाले यो विमानस्थल चलाउनुपर्छ भनेर लागेका हौँ।’
मन्त्री पाण्डेले लुम्बिनीलाई नै केन्द्रमा राखेर विमानस्थल सञ्चालन गरिएकाले भैरहवा अब पर्यटनको इपिसेन्टरको बनेको बताउँदै विमानस्थलसँग सम्बन्धित श्रम, भिसा, मेडिकल, म्यानपावर कम्पनी लगायतका अत्यावश्यक कार्यालय स्थापनाका लागि साउनमै निर्णय भएको पनि बताएका थिए।
उनले साउनमा निर्णय भएको बताएकै पनि ५ महिना भइसक्यो। न मन्त्री महिनामा २ पटक भैरहवा बस्न आएर विमानस्थलबारे छलफल चलाउने र नियमित गर्ने काम भयो न त श्रम, भिसा, मेडिकल, म्यानपावर कम्पनी लगायतका अत्यावश्यक कार्यालय स्थापना भए।
मन्त्रीले मात्रै पनि होइन, प्रधानमन्त्रीले समेत यो विमानस्थल नियमित सञ्चालन गर्ने कुरा बताउँदै आएका छन्। २०८१ चैत ७ गते प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका थिए। उनले विमानस्थलमा यात्रु सेवा शुल्कमा छुट, ग्राउण्ड ह्यान्डलिङ, ल्याण्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा छुट तथा प्रोत्साहनका कार्यक्रमहरू सञ्चालनमा ल्याइएको उल्लेख गरेका थिए।
उनले भनेका थिए–‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनका लागि सरकारले सम्बद्ध निकायहरूसँग छलफल गर्दै कार्ययोजना बनाएको छ र कार्यान्वयन भइरहेको छ। यात्रु सेवा शुल्कमा छुट, ग्राउण्ड ह्यान्डलिङ, ल्यान्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा छुट जस्ता सहुलियत र प्रोत्साहनका कार्यक्रमहरू सञ्चालनमा ल्याइएको छ।’ तर, प्रधानमन्त्री र मन्त्रीहरुले विमानस्थल सञ्चालनका लागि जोडबल दिइरहेको बताएपनि सरकारले भैरहवामा स्थापना गर्नुपर्ने अत्यावश्यक कार्यालयहरु स्थापना नगर्दा विमानस्थल सञ्चालनको दिगोपनाबारे विश्वासको वातावरण सिर्जना हुन सकेको छैन।
देशकै दोस्रो ठूलो विमानस्थलका रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको हो। यसको निर्माणमा ३५ अर्ब ६६ करोड रुपैयाँ लागेको थियो। राष्ट्रिय गौरवको आयोजनाका रूपमा २०७१ माघ १ मा शिलान्यास भएको विमानस्थल निर्माणमा झन्डै आठ वर्ष लागेको थियो। २०७१ जेठ २ मा यसको उद्घाटन भएको थियो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij