२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

मर्चवार लिफ्ट सिंचाईको निर्वाचन : उपाध्यक्ष निर्विरोध, तीन पदका लागि मतदान हुने

आइतवार , चैत्र १६, २०८१

भैरहवा, १७ चैत । रूपन्देहीको मर्चवार लिफ्ट सिंचाई जल उपभोक्ता संस्था मूल समितिको निर्वाचन अन्तर्गत उपाध्यक्ष पद निर्विरोध भएको छ भने तीन पदका लागि प्रतिष्पर्धा हुने भएको छ । संस्थाको मूलसमिति चयन प्रक्रिया अन्तर्गत वरिष्ठ उपाध्यक्षमा राम अवध मिश्र र महिला उपाध्यक्षमा मन्सादेवी गुप्ताको एकल उम्मेदवारी परेकाले उक्त पद स्वतः निर्विरोध घोषित भएको हो ।

निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष पदका लागि भने प्रतिष्पर्धा हुने निर्वाचन समितिले जनाएको छ । आइतबार दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समयअवधि तोकिएको छ ।
संस्थाको अध्यक्ष पदमा वर्तमान अध्यक्ष नजिर अहमद खाँ, फिरोज अहमद खाँ र राजेन्द्र प्रसाद यादवले उम्मेदवारी दिएका छन् । त्यसै गरी सचिवमा जगन्नाथ प्रसाद कुर्मी र अब्दुल सलाम मुसलमान तथा कोषाध्यक्ष पदमा जनार्दन यादव र प्रभु प्रसाद यादवले उम्मेदवारी दिएका छन ।

आगामी चारवर्षे कार्यकालको लागि यही चैत २३ गते शनिबार मतदान हुँदैछ । यसअघि एउटा मात्र उपाध्यक्ष हुने मूल समितिको संशोधित विधान अनुसार यसपटक महिला उपाध्यक्ष पद थपिएको छ । निर्वाचन समितिका अनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा उम्मेदवारी परेकाहरूबीच प्रतिष्पर्धा हुने देखिएको छ । यसका लागि उम्मेदवारहरूले आफ्नो प्रचार‐प्रसारलाई तीव्र बनाएका छन् ।

किसानहरूको हकहितका लागि मर्चवार लिफ्ट सिंचाइ महत्वपूर्ण मानिन्छ । निर्वाचनले संस्था सञ्चालनमा नेतृत्व चयन गर्ने भएकाले उपभोक्ताहरूको चासो बढेको निर्वाचन समितिका संयोजक एवं जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय रुपन्देहीका इञ्जिनियर विवेक शाहले बताए ।

मर्चवार लिफ्ट सिंचाई जल उपभोक्ता संस्थाको विधान अनुसार निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समिति संयोजक शाहले भने, ‘निर्वाचनमा कुल १ सय ३१ ब्लाकका अध्यक्षले मतदान प्रक्रियाबाट संस्थाको पदाधिकारी छान्नेछन् । उम्मेदवारहरूबीच सौहार्दपूर्ण प्रतिष्पर्धा हुने अपेक्षा गरिएको छ ।’

Marchwar Lift.jpg