२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

देशभरका कांग्रेस क्षेत्रीय सभापतिलाई भैरहवामा प्रशिक्षण, कांग्रेस पदाधिकारी तथा मन्त्रीहरुको जमघट

सोमवार , फाल्गुण १९, २०८१

  • 889
    Shares
  • 889
    Shares
  • भैरहवा, १९ फागुन । नेपाली कांग्रेसले देशभरका क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति र उपसभापतिलाई विभिन्न विषयमा केन्द्रित गरेर प्रशिक्षण दिएको छ । पार्टी सभापति शेरबहादुर देउवासहित पार्टी पदाधिकारी, पूर्व पदाधिकारी, सरकारमा सहभागी मन्त्रीको सहभागीतामा भएको कार्यक्रममा पार्टीको नीति, संगठन, सदस्यता अभियान, समसामयिक मुद्वासहित आर्थिक, सामाजिक र राजनीतिक विषयसहित पार्टीको आगामी यात्राका विषयमा प्रशिक्षण दिइएको हो । 

    कांग्रेसको केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित प्रशिक्षणमा पार्टीका महामन्त्रीद्वय गगन कुमार थापा, विश्वप्रकाश शर्मासहित ६ जना विज्ञले विभिन्न विषयमा प्रशिक्षण दिएका छन् ।  
    क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति र उपसभापति सहित ३ सय ३० बढी नेता कार्यकर्ताहरू सहभागी कार्यक्रममा महामन्त्री थापाले पार्टी संगठन, सदस्यता अभियान, केन्द्र र प्रदेशबीचको अन्तरसम्बन्धका विषयमा प्रशिक्षण दिएका छन् । उनले पार्टीलाई थप बलियो र सशक्त बनाउन संगठन विस्तारसहित सदस्यता नविकरणमा खटिन सबैलाई आग्रह गरे ।  
    त्यस्तै अर्का महामन्त्री शर्माले वर्तमान सन्दर्भमा समसामयिक मुद्वाहरुका विषयमा प्रशिक्षण दिएका छन् । प्रशिक्षणमा क्रममा उनले नेपाली कांग्रेसले गरेका राम्रा काम, सरकारमा सहभागी मन्त्रीहरुले गरेका राम्रा कामका विषयमा नागरिकमाझ लैजान नसकिएको बताए । कांग्रेसले गरेका काम मात्रै पनि नागरिकस्तरमा पुर्याउन सके पार्टीप्रति नागरिकको आशा र भरोसा बढ्दै जाने र निर्वाचनमा पार्टीलाई ठुलो सहयोग पुग्ने उनको तर्क छ । 

    कार्यक्रममा कांग्रेस केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. बुद्धिमान श्रेष्ठले नेपालमा संघीयता कार्यान्वयनको अवस्था र कांग्रेसको दायित्वका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै प्रतिष्ठानका सदस्य विश्वदीप लामिछानेले कांग्रेसको संगठन विस्तारमा प्रविधिको प्रयोग र प्रभावका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । पछिल्लो समय नेपाली कांग्रेसले प्रविधिलाई पछ्याउदै आएको उल्लेख गर्दै सदस्य लामिछानेले यसको प्रयोग प्रशिक्षण कार्यक्रममा पनि गरिएको बताए ।  

    प्रतिष्ठानका अर्का सदस्य डा. कृष्णप्रसाद पौडेलले कांग्रेसको नेतृत्वमा भएका आर्थिक, सामाजिक विकास तथा तहगत संगठनका विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् । कार्यक्रममा प्रतिष्ठानका निर्देशक डा. जगदीशचन्द्र पोखरेलले लोकतान्त्रिक समाजवाद, कांग्रेसका आर्थिक नीति र अभ्यासका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।  

    कार्यक्रम अन्तरगत मंगलबार समुह विभाजन गरी सोमबार प्रस्तुत गरिएका विषयहरु सम्बन्धमा छलफल गरी प्रतिवदेन तयार पार्ने, क्षेत्रीय पार्टी संगठन एवं प्रशिक्षणसँग सम्बन्धित समस्या लगायतका विषयमा छलफल तथा समाधानसहितको सुझाव प्रतिवेदन तयार पारिने कांग्रेस उपसभापति एवं प्रतिष्ठानका प्रमुख पूर्ण बहादुर खड्काले जानकारी दिए ।