
बिहिवार , फाल्गुण १५, २०८१
बुटवल, १५ फागुन । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवाको क्षेत्रमा भौतिक पूर्वाधारसँगै गुणस्तरीय जनशक्ति व्यवस्थापनमा सरकारले ध्यान केन्द्रित गरेको बताएका छन् ।
रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औं स्थापना दिवसका अवसरमा बिहीबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री सारुले सरकारी अस्पतालहरुमा स्वास्थ्य सेवा सुधार तथा विस्तारका लागि सरकार सहकार्य र सहयोगमा सधै तयार रहेको बताए ।
मन्त्री सारूले अस्पतालमा सेवालाई थप गुणस्तर गराउन समेत आग्रह गरे । स्वास्थ्य सेवा लिन आउने नागरिक हिजोको जस्तो नभएको उल्लेख गर्दै उनले सेवाग्राही धेरै सचेत भइसकेको र कुनै पनि कमजोरीहरु भेटिएमा तुरुन्तै प्रतिक्रिया जनाउन सक्ने भएकाले सधै सचेत भएर सेवामा लाग्न आग्रह गरे । उनले सेवाग्राहीसँग मुस्कानसहितको व्यवहार गर्न आग्रह गरे । प्रदेश सरकारले गौरव आयोजनामा राखेर लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ भवनको निर्माण कार्य जारी रहेको बताउँदै यसका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गरे ।
त्यसै गरी निजी स्वास्थ्य संस्थालाई नियमन गर्ने सवालमा समेत मन्त्रालयले तयारी थालेको उनले बताए । कतिपय निजी स्वास्थ्य संस्थाहरुले दर्ता तथा सूचीकरण नगरीकन सञ्चालनमा आएको बताउँदै त्यस्ता संस्थाहरुलाई नियमन गर्ने तयारीमा रहेको उनले जानकारी गराए । गरीब तथा विपन्न परिवारका लागि निजी स्वास्थ्य संस्थाहरुले समेत कम्तीमा १० प्रतिशत उत्तरदायित्व बहन गर्नुपर्ने भए पनि सो कुरा कार्यान्वयन भएको बताउँदै सरकारले कडाइका साथ नियमन गरी कार्यान्वयनमा लैजाने तयारी गरिरहेको उनले उल्लेख गरे ।
लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री विष्णु पन्थीले बुटवल आर्थिक सुस्तताको मारमा परेको बताउँदै लुम्बिनी प्रादेशिक अस्पतालको विकास गर्न सकेमा समग्र लुम्बिनी प्रदेशको परिचय र पहिचान बदलिने उल्लेख गरे। उनले सेवालाई थप गुणस्तर गराउँदै आधारभूत स्वास्थ्य सेवाको विस्तार र विशिष्टीकृत सेवामा केन्द्रित हुन आग्रह गरे । यसका साथै सीमा क्षेत्रमा रहेका भारतीयहरुलाई समेत अस्पतालमा ल्याउने वातावरण सिर्जना गरी ठूलो आर्थिक लाभ लिन सकिने बताए ।
उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले कतिपय अवस्थामा सेवाग्राही र सेवा प्रदायकबीच मनमुटाव हुने गरेका बताउँदै यसप्रकारका कमजोरी हुन नदिन अस्पताल परिवार सधै चनाखो बन्न आग्रह गरे ।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सेवाग्राहीको चाप र यहाँ उपलब्ध संरचना तथा जनशक्तिबीच ठूलो भिन्नता भएको उल्लेख गर्दै उक्त कुरालाई जनताबीच पुर्याउन आवश्यक रहेको ठहर गरे । नेपाल सरकारको सेकेण्डरी बी लेभलमा रहेको यस अस्पतालमा न्यूनतम सेवा मापदण्डमा मुलुककै पहिलो स्थानमा ल्याउन अस्पताल परिवारले खेलेको भूमिकाप्रति आभार व्यक्त गरे । उनले अस्पतालमा भएका समस्याहरुलाई निराकरण गर्नका लागि अस्पताल विकास समिति, प्रशासन र विभागीय प्रमुखबीच समन्वय भइरहनुपर्ने आवश्यकता औल्याए ।
अस्पतालको नयाँ बन्दै गरेको भवनबाट कसरी सेवा प्रदान गर्ने अहिलेदेखि नै तयारी गर्नुपर्ने बताउँदै अध्यक्ष श्रेष्ठले अन्तरक्रियामा सहभागी हुन अस्पतालका विभागीय प्रमुखहरुलाई आग्रह गरे । ‘हामीले भवन मात्र बनाउने होइन, त्यसमा चाहिने उपकरण र साधनस्रोत प्रयाप्त हुन आवश्यक छ’ अध्यक्ष श्रेष्ठले भने–‘अस्पतालमा कार्यरत चिकित्सक तथा विभागीय प्रमुखहरुले छलफललाई अगाडि बढाउनुहोस्, कुनै पनि समय सुझाव–सल्लाह लिन म तयार छु ।’
अस्पताल विकास समिति सदस्य लक्ष्मी भट्टराईले अस्पतालमा जनताको आकर्षण बढ्दै जाँदा सेवाग्राहीको चाप पनि बढेका कारण यसलाई चुनौतिका साथै अवसरका रुपमा समेत लिनुपर्ने बताइन् ।
अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट (मेसु) डा. ईन्द्र ढकालले वार्षिक प्रगति प्रतिवेदन तथा आगामी दिनमा गर्ने योजनाहरुबारे जानकारी गराएका थिए । अस्पताल प्रदेश सकारका र मातहत गएपछि उल्लेख्य रुपमा परिवर्तन आएको दावी गर्दै ढकालले विस्तारित अस्पताल सेवा कार्यक्रम प्रभावकारी भएको उल्लेख गरे । अस्पतालमा वार्षिक साढे ३ लाखले स्वास्थ्य सेवा लिएको तथ्यांक प्रस्तुत गर्दै प्रसूति सेवाको क्षेत्रमा उल्लेख्य प्रगति भएको जानकारी गराए ।
मेसु ढकालले अस्पतालमा २ महिनाभित्रै आफ्नै ब्लड बैंक स्थापना गर्ने योजना रहेको सुनाए । यसैगरी मेमोग्राफी मेशिन सञ्चालन स्तन क्यान्सरको स्क्रिनिङ सेवा सञ्चालन गर्ने तथा पित्त थैलीमा पत्थरी अपरेशनका लागि पालो कुरेर बसिरहेका सेवाग्राहीका लागि छुट्टै प्याकेजको कार्यक्रम ल्याउने तयारीमा रहेको जानकारी गराए ।
कार्यक्रममा २५ वर्ष सेवा अवधि पूरा गरेका तथा उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो । त्यसै गरी अस्पतालले स्थापना दिवसको अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रममा सहभागी भइ विजेता बनेकाहरुलाई पुरस्कार वितरण तथा सम्मान गरेको थियो । कार्यक्रमको सञ्चालन अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले गरेका थिए । सो अवसरमा अस्पतालका गतिविधि समेटिएको स्मारिका ‘जिवक–३’ विमोचन गरिएको छ ।
डिजिटल पेमेन्टसहितका सेवा विस्तार
अस्पतालको स्थापना दिवसको अवसरमा स्वास्थ्यमन्त्री खेम बहादुर सारुले डिजिटल पेमेन्ट काउण्टरको सुरुवात गरेका छन् । उक्त काउण्टरबाट सेवाग्राहीले डिजिटल माध्यमबाट टिकट काट्ने तथा भुक्तानी सेवा लिन सक्नेछन् । त्यसै गरी अस्पतालको ईएनटी (नाक, कान, घाँटी) उपचार कक्षमा अडियोग्राम, टिम्पानोग्राम र ओएई टेस्ट सेवाको सुरुवात गरेका छन् । अस्पतालमा इकोकार्डियोलोजीतर्फ ट्रेडममिल टेस्ट (टिएमटी), हल्टर मनिटरिङ तथा एबीपीएम सेवाको शुभारम्भ गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij