२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

‘लुम्बिनी प्रेस क्लबको गरिमा बढेको छ, अझै धेरै काम गर्नुपर्छ’

सोमवार , पौष ८, २०८१

  • 439
    Shares
  • 439
    Shares
  • भैरहवा, ८ पुस । लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्का सदस्य राजेश महोत्राले लुम्बिनी प्रेस क्लबको गरिमा र उचाई बढेको बताएका छन् । उनले क्लबले अझै धेरै काम गर्न जरुरी रहेको बताएका हुन् । आइतबार लुम्बिनी प्रेस क्लब भैरहवा, रुपन्देहीको पदस्थापन समारोहमा बोल्दै उनले क्लबलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए । उनले सञ्चार क्षेत्र राज्यको चौथो अंग भएकाले मुलुकको विकासमा सञ्चार सम्बद्ध संस्थाहरुको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिए । ‘यहाँहरुले समाजमा भएका राम्रा कामको उजागर गर्नुभएको छ, गलत कार्य गर्नेलाई खबरदारी गर्नुभएको छ, यो क्लबले अझै धेरै कामहरु गर्न जरुरी छ, ’उनले भने । क्लबले पर्यटन क्षेत्रको विकासका लागि पनि योगदान पुर्याउने उनले विश्वास व्यक्त गरे ।

    त्यस्तै लुम्बिनी प्रेस क्लबका नवनिर्वाचित अध्यक्ष कमल रायमाझीले क्लबले पत्रकारलाई संगठित गर्दै अगाडि बढेको बताए । उनले कुनै पनि संस्थालाई अगाडि बढाउन अध्यक्षको मात्र एकल प्रयासले हुन नसक्ने भएकाले टीम वर्क आवश्यक रहेकोमा जोड दिए । पत्रकारिता क्षेत्रको विकासका लागि हामी सबै मिलेर अघि बढ्नुपर्छ, उनले भने । 

    संस्थापक अध्यक्ष माधव ढुंगानाले एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । उनले भने, ‘जहाँ समस्या छ, त्यहाँ समाधान पनि छ, एकजुट भइ अघि बढ्नुपर्छ ।’ क्लबका उपाध्यक्ष श्यामशंकर पाण्डेले क्लबले धेरै कामहरु गर्न सफल भएको बताए ।क्लबका संस्थापक सदस्य शम्भु पन्तले क्लब स्थापना गर्दा निर्वाह गरेको भूमिकाबारे स्मरण गरे ।

    निवर्तमान अध्यक्ष नरेश के.सी.ले कमल रायमाझी क्लबको पाँचौं अध्यक्ष रहेको बताए । उनले भने, ‘संस्थागत हितमा क्लब अघि बढ्नुपर्छ । हरेश खानुहुँदैन ।’

    सल्लाहकार दीपेन्द्र बडुवालले संस्थालाई अझ गतिशील बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए । कानूनी सल्लाहकार कृष्ण ढकालले नवनिर्वाचित टीमलाई सहयोग गरी आवश्यक सल्लाह–सुझाव दिन आग्रह गरे । कोषाध्यक्ष राधेश्याम विश्वकर्माले आफ्नो कार्यकालमा सकेसम्म अनावश्यक खर्चलाई रोकेको र कोषलाई पारदर्शी बनाएको दावी गरे । 

    कार्यक्रममा क्लबका सचिव प्रकाश न्यौपाने, सह–कोषाध्यक्ष पुनहरि बेल्बासे, सदस्य उषा सिंह के.सी. लगायतले बोलेका थिए । क्लबका उपाध्यक्ष श्यामशंकर पाण्डेको अध्यक्षता तथा लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्का सदस्य राजेश महोत्राको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

    कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीको कोषाध्यक्षमा निर्वाचित क्लबका पूर्व अध्यक्ष नरेश के.सी., महासंघको कार्यसमिति सदस्यमा निर्वाचित क्लबका सह–कोषाध्यक्ष रबिन्द्र प्रताप गुप्ता, प्रदेश परिषद सदस्यमा निर्वाचित तालिम समिति संयोजक अरुण ज्ञवाली, कानूनी सल्लाहकार कृष्ण प्रसाद ढकाल र सचिव शशि पन्थीलाई सम्मान गरिएको थियो । त्यस्तै दलित पत्रकार संघ लुम्बिनी प्रदेशको सह–सचिवमा निर्वाचित विवेक विश्वकर्मालाई बधाई ज्ञापन गरिएको थियो ।

    क्लबको गत मंसिर २३ गते सम्पन्न आठौं साधारण सभा तथा पाँचौ अधिवेशनले कमल रायमाझीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो ।