२०८३, आषाढ ६ गते

Jun 20 2026 | २०८३, आषाढ ६ गते

सिद्धार्थनगर–२ : नव युवा दुर्गा क्लबले जित्यो दोस्रो वडाकप क्रिकेटको उपाधि

आइतवार , पौष ७, २०८१

  • 967
    Shares
  • 967
    Shares
  • भैरहवा, ७ पुस । रुपन्देहीको सिद्धार्थनगर  नगरपालिका वडा नम्बर २ मा सञ्चालित  दोस्रो वडाकप टेनिसबल क्रिकेट प्रतियोगिताको उपाधि नव युवा दुर्गा क्लबले जितेको छ  । सिद्धार्थनगर नगरपालिका २ नम्बर वडा कार्यालय, रुपन्देहीको आयोजनामा भएको प्रतियोगितामा झण्डीबजारलाई २ रनले पराजित गर्दैै नवदुर्गाले प्रतियोगिताको उपाधि जितेको हो । 

    शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा फाइनल खेलमा सुरुमा ब्याटिङ गरेको नवयुवा दुर्गाले निर्धारित १२ ओभरमा ४ विकेट गुमाउँदै १०७ रन बनाएको थियो । उसका लागि दिपचन्द शर्माले एक्लै ८१ रनको योगदान गरेपनि अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ झण्डीबजारका अर्जुनले १ विकेट लिए । १०८ रनको लक्ष्य पाएको झण्डीबजारले सम्पूर्ण ओभर खेल्दै ७ विकेटको क्षतिमा १०६ रन मात्र जोड्न सकेको थियो, लक्ष्य पार गर्न नसकेपछि झण्डीबजार उपविजेता बन्न सक्यो । 

    झण्डीबजारका लागि सुमित बासफोरले ३२, सन्देश शाक्यले २३ र अभय थापाले २२ रनको योगदान गरे । बलिङतर्फ राहुल गुप्ताले ३, सत्यदेव वनिया र बृजेश यादवले १–१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच नवदुर्गाका दिपचन्द शर्मा घोसित भएको खेल संयोजक तथा वडा सदस्य राजकुमार यादवले जानकारी दिए । 

    प्रतियोगिताको पहिलो खेलमा झण्डीबजार ८ विकेटले मेउडिहवालाई हराएको थियो । त्यस्तै दोस्रो खेलमा नव युवाले फुलपुरलाई ३२ रनले हराएको थियो । तेस्रो खेल झण्डीबजारले मेउडिहवा राइजिङलाई ८ विकेटले हराएको खेल संयोजक यादवले जानकारी दिए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी नव युवाका राहुल गुप्ता, उत्कृष्ट ब्याटर नवयुवाकै दिपचन्द शर्मा, उत्कृष्ट बलर झण्डीबजारका राहुल थापा भए ।  

    खेलका विजयी खेलाडीहरुलाई सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष दिलिप कुमार यादवले पुरस्कृत गरे । सो अवसरमा बोल्दै वडाअध्यक्ष प्रतिष्पर्धाका लागि मात्रै नभइ खेल स्वास्थ्यका लागि आवश्यक रहेको बताए। रुपन्देही क्रिकेटको उर्वरभूमि रहेकोले सिद्धार्थनगरमा खेलको विकासका लागि स्थानीयस्तरबाट नै खेललाई महत्व दिदै प्रतियोगिताहरु हुँदै आएकोे उनले बताए ।

    विजयी खेलाडीहरुलाई नगर प्रवक्ता तथा वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला), १० का अध्यक्ष सुर्जमन यादव, १२ का अध्यक्ष कुमार गुरुङ, ४ का वडा सदस्य हरि केसी लगायतले पुरस्कृत गरेका थिए । स्थानीय खेलाडीहरुको प्रोत्साहन, वडास्तरबाट क्रिकेटको विकास गर्दै यस क्षेत्रको पहिचानका लागि प्रतियोगिता आयोजना गरिएको सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का अध्यक्ष छेदीलाल श्रीवास्तवले बताए । 

    प्रतियोगितामा पाँचवटा टीमको सहभागीता रहेको वडा सचिव हिरा बरालले बताइन् । प्रतियोगितामा विजेताले करसहित नगद रु. २५ हजार  र उपविजेताले नगद रु. २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।