२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

लुम्बिनीका दुईवटा विद्युतीय बसको परीक्षण सञ्चालन सुरु

बिहिवार , पौष ४, २०८१

लुम्बिनी, ४ पुस । लुम्बिनी विकास कोषले कानूनी उल्झनका कारण सञ्चालन गर्न नसकेका पाँचवटामध्ये दुईवटा बस बिहीबारदेखि सञ्चालन सुरु गरेको छ । एसियाली विकास बैंंक (एडीबी) को अनुदान सहयोगमा बृहत्तर लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने उद्देश्यले ल्याइएकामध्ये दुईवटा बसको परीक्षणका लागि सञ्चालन सुरु गरिएको हो । 
एसियाली विकास बैंकको अुनदान सहयोगमा पाँचवटा बस र १४ वटा विद्युतीय भ्यान संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले २०७९ साल जेठ १२ गते हस्तान्तरण गरेको थियो । मन्त्रालयले सेतो नम्बर प्लेटमा बस र भ्यान हस्तान्तरण गरेपछि पर्यटक सेवाका लागि हरियो नम्बर प्लेट बनाउने कानूनी उल्झनका कारण बस र भ्यान सञ्चालन हुन सकेको थिएन। 

दाताले दिएको बस पर्यटक सुविधाका लागि सञ्चालन नगरेको भन्दै सर्वत्र आलोचना भएपछि कोषले बिहीबारदेखि परीक्षण स्वरुप बसमा दानपेटिका राखेर सञ्चालन सुरु गरेको हो ।
रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे), लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ता (सि.के.) र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले विद्यतुीय बसको शुभारम्भ गरेका हुन् । 

बुटवलदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बुद्ध जन्मस्थल लुम्बिनीसम्म र बेलहियाबाट विमानस्थल हुँदै लुम्बिनीको रुटमा बस सञ्चालन हुनेछ । बस चढ्ने यात्रुले स्वेच्छिक रुपमा दानपेटिकामा रकम दिन सक्नेछन् । तर, बसभाडा भनेर पैसा लिइनेछैन । 

बस सेवाको परीक्षण सञ्चालन शुभारम्भमा सांसद् घिमिरेले कानूनी अभावका कारण सञ्चालनमा नआएको विद्युतीय बस दीगो रुपमा सञ्चालन हुने बताए । उनले लुम्बिनी विकास कोषले बस सञ्चालन गर्दा आफ्नो सम्पत्तिको सदुपयोग गरेको ठहर हुने बताउँदै यसको मोडालिटीले यात्रुलाई सेवा दिने विश्वास व्यक्त गरे । सांसद् घिमिरेले लुम्बिनी आउन चाहने तीर्थयात्रीहरुलाई लुम्बिनीमा ल्याउँदा त्यसले पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताए ।

त्यस्तै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले अहिले परीक्षणस्वरुप दानपेटिका राखेर दुईवटा बस सञ्चालन गरिएको बताए । उपाध्यक्ष डा. लामाले सेतो नम्बर प्लेटलाई हरियो बनाउन आफूहरुले पटकपटक पहल गर्दा पनि नभएको बताउँदै अहिले संघीय मन्त्री, मुख्यमन्त्री र सांसदहरुले समेत सञ्चालनका लागि निर्देशन गरेपछि यात्रुसँग पैसा नलिने गरी दानपेटिकाको विधिमार्फत सञ्चालन थालिएको बताए । उनले कानूनी अडचनका कारण सञ्चालन गर्न नसकेको बताउँदै कानून देखाएर रोक्ने काम नगर्न प्रशासनको ध्यानार्कषण गराए ।

त्यस्तै पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य चन्दकेश गुप्ताले विद्युतीय बस सञ्चालनमा आउनु निकै खुशीको कुरा भएको बताउँदै निरन्तरताको शूभकामना दिए । 
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले दाताले दिएको विद्युतीय बस सञ्चालनका लागि प्रशासनकातर्फबाट सक्दो सहयोग गर्ने बताए । उनले बसको सुरक्षाका लागि आवश्यक प्रबन्ध गर्ने बताए ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले हरियो नम्बर प्लेटमा रुपान्तरण गर्न नसक्दा बस सञ्चालन गर्न नसकेको बताउँदै दीगो सञ्चालनका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।

त्यस्तै कार्यक्रममा सिद्धार्थ होटल संघ, नेपाल अध्यक्ष चन्द्रप्रकाश (सिपी) श्रेष्ठ, लुम्बिनी होटल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले बोल्दै पर्यटक सेवाका लागि ल्याइएको बस सञ्चालन हुँदा पर्यटन प्रवद्र्धन हुने बताए ।

त्यसो त विद्युतीय बस र भ्यान सञ्चालनका लागि लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुुण्डिराज भट्टराई (सिद्धिचरण) को संयोजकत्व तीन सदस्यीय कार्यदल बनाएर कार्यविधि नै तयार गरिसकेको थियो । सरकारी नम्बर प्लेट हरियो बनाउने कानून नभएपछि प्रदेश सरकारले २०८१ जेठ ६ गतेको मन्त्रिपरिषदले नम्बर परिवर्तन गर्न बाटो खुल्ला गरे पनि कार्यान्वयन नहुँदा बस सञ्चालन गर्न नसकेको कोषाध्यक्ष भट्टराईले बताए । परीक्षण सञ्चालनमा सांसद् घिमिरेसहित कोषका पदाधिकारी, प्रदेश सांसद्, प्रमुख जिल्ला अधिकारी, पर्यटन व्यवसायीले दानपेटिकामा पैसा जम्मा गरेर लुम्बिनी परिक्रमा गरेका थिए ।

IMG_7378.JPG

यसअघि पनि लुम्बिनी विकास कोषले २०७९ असोज १३ देखि कार्तिक १३ गतेसम्म ‘धम्म यात्रा’ नाम दिएर बृहत्तर लुम्बिनी क्षेत्रमा निःशुल्क रुपमा यान्त्रिक परीक्षणका लागि विद्युतीय बस सञ्चालन गरेको थियो । बौद्ध परिपथका क्षेत्रबाट २० हजार २ सय ३६ जना यात्रुले निःशुल्क धम्म यात्रा नामक विजुली बसको सेवा लिएका थिए ।

एसियाली विकास बैंकको अनुुदान सहयोगमा दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना अन्तर्गत बस, भ्यान र चार्जिंग स्टेशन सोलार प्लाण्ट र सोलार चार्जर स्टेशन निर्माणका लागि झण्डै रु. २८ करोड लागत लागेको थियो ।