२०८३, जेठ ७ गते

May 21 2026 | २०८३, जेठ ७ गते

पर्यटन प्रवर्द्धनबाट प्रदेशको समृद्धि  : मुख्यमन्त्री आचार्य

बिहिवार , पौष ४, २०८१

  • 790
    Shares
  • 790
    Shares
  • बर्दिया, ४ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य पर्यटन प्रवर्द्धनबाट प्रदेशले समृद्धि हासिल गर्ने लक्ष्य राखेको बताएका छन् । उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय लुम्बिनीको आयोजनामा बिहीबार बर्दियामा सम्पन्न उदयमान लुम्बिनी संस्कृति र प्रकृति विषय नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दैै मुख्यमन्त्री आचार्यले आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर नीति निर्माण गरेर कार्यान्वयनमा लगेको बताएका हुन् ।

    प्रदेश सरकारले घुम्न जाउँ बर्दिया अभियान सञ्चालन गरेर आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गरेको, पर्यटनमैत्री पूर्वाधार र सम्पदाहरुको संरक्षणमा सरकारले प्राथमिकता राखेर योजना अघि सारेको बताए । लुम्बिनी पर्यटन सर्किटमार्फत १२ जिल्लाका धार्मिक, साँस्कृतिक एवं पर्यटन क्षेत्रलाई जोड्ने गरी सरकारले अभियान थालेको जानकारी दिए ।

    यसका साथै बर्दिया जिल्लाको समग्र विकासका लागि प्रदेश सरकारले ध्यान दिएको, योजना तथा बजेटमा प्राथमिकतामा राखिएको समेत उनले जानकारी दिए । राष्ट्रिय निकुञ्जको सिमाना तथा नदी तटिय क्षेत्रमा देखिएको डुबान, कटानको समस्या समाधान गर्न लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारले संयुक्त पहल लिएको बताए । ‘यहाँको समस्या यहाँको मात्रै होइन, सिंगो लुम्बिनीको समस्या हो । यसलाई प्राथमिकतामा राखेर हल गर्छौैं’उनले भने,‘निकुञ्जमा किसानहरुको आठ सय विगाह जग्गा रहेको तर, उहाँहरुले न क्षतिपूर्ति पाउनुभयो । न जग्गा पाउनु भएको छ । यो विषयलाई प्रदेश सरकारले संघीय सरकारको ध्यानाकर्षण गराउने गरी उठाउँछ ।’

    निकुञ्ज ऐन संशोधन गरेर मध्यवर्ती तथा निकुञ्जभित्र रहेको समस्याहरु समाधान गर्न सकिने भएकाले ऐन संशोधनका लागि प्रदेश तहबाट पहल लिने प्रतिबद्धता जनाए । किसानहरुलाई उचित क्षतिपूर्ति र न्याय दिलाउन संघीय सरकारले छिटो निर्णय लिन जरुरी रहेको धारणा राखे । तीन तहका सरकारले जनताका आधारभूत समस्या सुल्झाउन सहकार्य र समन्वय गर्न जरुरी रहेको, यसका साथै प्रदेश सरकारहरुको बीचमा पनि रचनात्मक सहकार्य आवश्यक रहेकोमा जोड दिए ।