
बिहिवार , पौष ४, २०८१
बर्दिया, ४ पुस । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिएको मानव वन्यजन्तु द्वन्द्वको समस्या समाधान र भावी योजना निर्माणबारे लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निकुञ्जका जिम्मेवार पदाधिकारीसँग छलफल गरेका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय क्षेत्रको अवलोकनको क्रममा मुख्यमन्त्री आचार्यले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकले भोग्दै आएका समस्या समाधानको बारेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालले र बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा.अशोक कुमार राम लगायत सम्बद्ध पक्षसँग छलफल गर्नुभएको मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिए ।
‘मानव बन्यजन्तुको द्वन्द्व कम गर्ने विकल्प र भावी योजनाको बारेमा छलफल भएको छ’स्वकीय सचिव भुसालले भने,‘मध्यवर्ती क्षेत्रमा बसोबास गर्दै आउनुभएका नागरिकको दैनिक कामकाजदेखि उहाँहरुको जीविकोपार्जनको बारेमा समेत छलफल भएको छ । प्रदेश सरकारले सञ्चालन गर्दै आएको कार्यक्रमको बारेमा समेत जानकारी गराइएको छ ।’
लुम्बिनी प्रदेशमा मानव वन्यजन्तु द्वन्द्वका कारण गत आर्थिक बर्वा २०८०–८१ मा पाँचजनाको मृत्यु भएको र आठजना घाइते प्रदेश वन तथा वातावरण मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । जसमध्ये बर्दिया जिल्लामा मात्र चार महिला तथा एक बालक गरी पाँच जनाको मृत्य भएको थियो ।
एक वर्षमा भेडा–बाख्रा २१७, गाई–भैँसी ३१, बंगुर ४५, हाँस–कुखुरा १८१ वटाको मृत्यु भएको छ भने स्याल, चितुवा, वनबिरालो, नीलगाई, अजिंगर, बँदेल, बाँदर गरी ४१ वटा वन्यजन्तुको पनि मृत्यु भएको छ । १४ वटा चितुवा र मृगसमेत घाइते भएका छन् ।
लुम्बिनी प्रदेश सरकारले मानव–वन्यजन्तु द्वन्द्व घटाउन वन्यजन्तुको सुरक्षित बासस्थान, आहारा प्रजातिको व्यवस्थापन, पानीको मुहान तथा सिमसार संरक्षण, वनभित्र संरक्षण पोखरी निर्माण लगायतका योजनाका काम गर्दै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij