२०८३, जेठ १२ गते

May 26 2026 | २०८३, जेठ १२ गते

स्वदेश फिर्ति कार्यविधि कार्यान्वयन प्रक्रिया अगाडि बढाउन माग

बिहिवार , पौष ४, २०८१

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, ४ पुस । माइती नेपाल भैरहवाले स्वदेश फिर्ति कार्यविधि कार्यान्वयन प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेको छ । सोही माग राख्दै बुधबार माइती नेपालले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

    ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण नियमावली २०६५ मा व्यवस्था भएअनुसार विदेशमा अलपत्र परेका पीडितहरुको उद्वार गर्ने तथा निजको सहमतिमा स्वदेश फिर्ती गर्ने व्यवस्था भए पनि हालसम्म यस सम्बन्धी स्वदेश फिर्ती कार्यविधिको अभावमा उद्वार तथा स्वदेश फिर्ती कार्य नितान्त सिमति संस्थाहरुको पहलको आधारमा मात्र भइरहेको भन्दै नेपाल सरकारको तर्फबाट छुट्टै स्वदेश फिर्ती कार्यविधि तयारीका लागि माइती नेपालले विभिन्न जिल्लामा मानव बेचविखनबाट प्रभावितहरुको उद्वार स्वदेश फिर्ती र सामाजिक पुर्नस्थापनका लागि मानक सञ्चालन कार्यविधि हस्ताक्षर अभियान सञ्चालनमा ल्याएको छ, ’माइती नेपाल भैरहवाका कार्यक्रम संयोजक माया क्षेत्रीले ज्ञापनपत्रमा उल्लेख गरेकी छन् ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ज्ञापनपत्र हस्तान्तरण गरिएको थियो । माइती नेपाल भैरहवाले मावन बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति रुपन्देहीमार्फत नेपाल सरकारसँग स्वदेश फिर्ती कार्यविधि कार्यान्वयन प्रक्रियाका लागि ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो । 

    नेपाल–भारत सीमा नाका भएर भारतका विभिन्न शहरहरुमा गैरकानूनी तरिकाले मानव बेचविखन तथा ओसारपसारबाट पीडित÷प्रभावित नेपाली नागरिकहरुको उद्वार तथा स्वदेश फिर्ती प्रक्रियामा अस्पष्टता भएको कुरा बारम्बार उठान भइरहेकोप्रति माइती नेपालले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।