२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

नेपालगंजमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुने

सोमवार , पौष १, २०८१

भैरहवा, १ पुस । आगामी फागुन अन्तिम साता बाँकेको नेपालगंजमा लुम्बिनी कप महिला फुटबल हुने भएको छ । बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले लुम्बिनी कप आयोजना गर्ने भएको हो । नेपाली राष्ट्रिय महिला फुटबल टीमको पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले संयुक्त रुपमा लुम्बिनी कपको लोगो सार्वजनिक गरेका हुन् ।

लुम्बिनी कप महिला फुटबलको लोगोमा शान्तिका अग्रदुत गौतमबुद्ध , महिला फुटबल खेलाडीको आकृति र नेपाली राष्ट्रिय झण्डाको नीलो र सिम्रिक रातो रंग समेटिएको छ । 
फागुनको अन्तिम साता नेपालगंज रंगशालामा हुने लुम्बिनी कपमा नेपाल र भारतका गरी ८ टीमको सहभागीता रहनेछ । 

महिला फुटबलको विकासमा प्रतियोगिता महत्वपूर्ण सावित हुने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए । उनले भने, ‘लुम्बिनी कप नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता हुनेछ । आगामी वर्षहरुमा सार्क देशका अन्य टीमलार्ए पनि आमन्त्रण गर्नेछौं ।’

पश्चिम नेपालको गौरवको रुपमा सुरु गर्न लागिएको लुम्बिनी कपलाई सफल पार्न सबैलाई सहकार्यको लागि शाहले अपील गरेका छन् ।

अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवं बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले प्रतियोगिताले महिला खेलाडीलाई नयाँ अवसर सिर्जना गर्ने बताए । प्रतियोगितालाई सफल बनाउन एन्फाले सहयोग गर्ने उनले बताए ।

नेपालगंजमा राष्ट्रियस्तरको महिला फुटबल प्रतियोगिता हुनु खुशीको कुरा भएको कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले बताए । उनले भने, ‘लुम्बिनी कप नेपाली महिला फुटबल खेलाडीको लागि राम्रो अवसर हो । यसले फुटबल खेलमा आउन चाहने नयाँ पुस्तालाई प्रेरणा र हौसला दिन्छ । देशका अन्य ठाउँमा पनि यस्ता प्रतियोगिता आयोजना भयो भने नेपाली महिला फुटबललाई अवश्य पनि फाइदा पुग्नेछ ।’

नेपाली महिला टीमको पहिलो कप्तान रमा सिंहले प्रतियोगितालाई  सफलताको शुभकामना दिएकी छन् । उनले भनिन्–‘नेपालमा महिला फुटबल सुरु भएको चार दशकपछि निजी क्षेत्रबाट राष्ट्रियस्तरको महिला फुटबल प्रतियोगिता हुनु निकै प्रसंशनीय छ । यसले निरन्तरता पाओस् । सरकारको मात्रै भर नपरेर निजी क्षेत्रबाट पनि फुटबलको विकासमा पहल हुन जरुरी छ ।’