२०८३, जेठ ७ गते

May 21 2026 | २०८३, जेठ ७ गते

कलाकार श्रेष्ठ तथा आचार्यलाई ‘कला रत्न’ सम्मान

आइतवार , मंसिर ३०, २०८१

  • 715
    Shares
  • 715
    Shares
  • बुटवल, ३० मंसिर । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यलाई रुपन्देहीको बुटवलमा ‘कला रत्न’ का रूपमा सम्मान गरिएको छ । विगत ४० दशक भन्दा बढीदेखि एउटा आदर्श जोडीका रूपमा रहेर कलाकारद्वय श्रेष्ठ तथा आचार्यले हास्य व्यंग्य कलामार्फत नेपाली कला तथा संस्कृतिको प्रवर्द्धन तथा विकासमा अतुलनीय योगदान पुर्याएको भन्दै नेपलीज होटलीयर्स एशोसिएसन लुम्बिनीले शनिबार सम्मान गरेको हो । 

    शनिबार आयोजित महजात्रामा कलाकारद्वयलाई दोषल्ला तथा प्रमाणपत्रसहित एशोसिएसनले सम्मान गरेको हो । श्रेष्ठ तथा आचार्य नेपाली कला क्षेत्रमा मित्रताको एउटा आदर्श जोडीका रूपमा  मानिन्छन् । उनीहरूले ४५ वर्षदेखि निरन्तर कलाकार जोडीका रूपमा सहकार्य गरिरहेका छन् । एक दशकको अन्तरालपछि पुनः मह जात्रा  लिएर आएको मह सञ्चारले बुटवल मण्डपस्थित सभा हलमा महजात्रा प्रहसन प्रस्तुत गरेको हो ।  

    धेरै लामो समयपश्चात् बुटवलमा  भएको मह जोडीको प्रहसन हेर्न बुटवलबासीको उल्लेख्य उपस्थिति रहेको थियो । महजोडीको प्रहसनमा दर्शकहरू पेट मिचिमिचि हाँसेका देखिन्थे । महजोडीको प्यारोडी गायनबाट सुरु भएको कार्यक्रम महजोडी लाई सम्मान गरेसँगै समापन भएको थियो ।

    महजोडीमध्येका ‘म’ अर्थात मदनकृष्ण श्रेष्ठ लामो समयबाट पार्किन्सन्स रोगबाट पीडित भए तापनि अभिनय, लेखन र गायनलाई भने निरन्तरता दिइरहेका छन् । उनले आफ्नो स्वास्थ्यले साथ दिएसम्म कलाकारिता क्षेत्रमा लागिरहने बताउँदै साथी हरिवंशलाई सधैँ साथ दिने प्रतिवद्धता पनि सार्वजनिक रूपमा प्रकट गर्दै आएका छन् ।