
बुधवार , मंसिर २६, २०८१
बर्दिया, २६ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दियाको बाँसगढीमा थारु सांस्कृतिक केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । प्राचीन सृजनशिल आदिवासी समाज रेडियो गुर्वावा एफ.एम.ले निर्माण गरेको साँस्कृतिक भवनको अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर मुख्यमन्त्री आचार्यले उद्घाटन गरेका हुन् ।
भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिमान्तकृत तथा पिछडिएको वर्गको हरेक क्षेत्रमा समान पहुँचका लागि प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रमहरुलाई समावेशी बनाएको बताए ।
प्रदेश निजामती सेवामा थारु समुदाय तथा अन्य समुदायलाई केन्द्रित गरेर आरक्षणको व्यवस्था गरेको मुख्यमन्त्री आचार्यले जानकारी दिए । ‘प्रदेश सरकारले बनाएका कानूनहरुले सिमान्तकृत तथा पिछडिएको वर्गको समावेशी प्रतिनिधित्व सुनिश्चित गरेको छ’उनले भने,‘लुम्बिनी प्रदेशमा १४ प्रतिशतको हाराहारीमा थारु समुदायको जनसंख्या छ । हामीले थारु समुदायको निजामती सेवामा १३ प्रतिशत आरक्षणको व्यवस्था गरेका छौं ।’
प्रदेश सरकारले समाज रुपान्तरणको अभियानलाई अघि बढाउन नीति तथा कार्यक्रमहरुलाई समेत जोडेर लगेको सभामा उनले जानकारी दिए । ‘यो समाज रुपान्तरणको अभियानलाई व्यापक बनाउन जरुरी छ । प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रमलाई सोहीअनुसार अघि बढाएको छ’उनले भने,‘यसले सामाजिक सद्भावलाई अझैं बढाउने छ । हामीले परिकल्पना गरेको समुन्नत समाज निर्माणको लागि आजको दिन कोशेढुंगा सावित हुनेछ ।’
सिमान्तकृत तथा पिछडिएको वर्गको पक्षमा सरकार रहेको बताउदै उनले आगामी दिनहरुमा समुदायलक्षित अभियानहरु सञ्चालन गरिने बताए । सम्बोधनको क्रममा मुख्यमन्त्री आचार्यले अव्यवस्थित बसोबासी तथा भूमिहिन दलित, भूमिहिन सुकुम्बासीको समस्या समाधान गर्न तीन तहकै सरकारले आफ्ना भूमिकालाई प्रभावकारी बनाएर लगेको जानकारी दिए । प्राचीन सृजनशिल आदिवासी समाजका अध्यक्ष सार्जने कामीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
स्थानीय टीकाराम पौडेलले दान दिएको डेढ कठ्ठा जग्गा र डेनमार्कका फ्लेमिङ टपसोयले रु. ५५ लाख, समाजको रु. २६ लाख, लुम्बिनी प्रदेश सरकारको रु. २० लाख र बासगढी नगरपालिकाको रु. १५ लाख गरी कुल १ करोड १६ लाख रुपैयाँको लागतमा भवन निर्माण भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij