
बुधवार , मंसिर २६, २०८१
देउखुरी, २६ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशभित्रका धार्मिक तथा पर्यटकीय स्थलहरुको भ्रमणमा आइपुगेका १ सय ४० जना ज्येष्ठ नागरिकलाई स्वागत गरेका छन् । बागमती प्रदेशस्थित लिखु तामाकोशी गाउँपालिका–६ रामेछाबाट लुम्बिनी प्रदेशका पवित्र धार्मिक तीर्थस्थलहरुको भ्रमणमा आएका ज्येष्ठ नागरिकलाई प्रदेश राजधानी प्रशासनिक परिसरमा उनले स्वागत गरेका हुन् । सो क्रममा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश धार्मिक तिर्थाटनको लागि सबै हिसाबले उपयुक्त भएको जानकारी दिदै भ्रमणमा निस्कन सबैमा आह्वान गरे ।
लुम्बिनी प्रदेश सरकारले लुम्बिनी पर्यटन सर्किटको अवधारणा विकास गरेको जानकारी दिदै गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने हरेक पर्यटकलाई प्रदेशभित्रका अन्य धार्मिक तथा पर्यटकीय स्थलसँग जोडन थालिएको जानकारी दिए । लुम्बिनी प्रदेश ऐतिहासिक, पुरातात्विक सम्पदाले भरिपूर्ण रहेकाले आन्तरिक तथा बाह्य पर्यटकहरुको भ्रमणको गतिलो गन्तव्य बनेको उनको भनाइ छ ।
‘गौतमबुद्ध जन्मस्थल लुम्बिनी अत्यन्तै महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल हो । सँगसँगै स्वर्गद्वारी ऐतिहासिक, पुरातात्विक हिसाबले महत्वपूर्ण थलो हो । यहाँहरु लुम्बिनी प्रदेशमा रहेका धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणमा आउनुभएकोमा हार्दिक स्वागत गर्दछु’मुख्यमन्त्री आचार्यले भने,‘प्रदेश राजधानी स्थापना भएको देउखुरी र दाङ उपत्यका भ्रमण अवश्य गर्नुहोला ।’
लुम्बिनी प्रदेशलाई पर्यटकीय हब बनाउने गरी प्रदेश सरकारले अघि बढाएको लुम्बिनी पर्यटन सर्किट अभियान प्रभावकारी हुने राप्ती उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जगतप्रसाद पोख्रेलले बताए । उनले पर्यटनमैत्री पूर्वाधार निर्माण गरेर हरेक स्थानलाई सर्किटले जोड्न सक्दा पर्यटकहरुको आवागमन बढ्ने विश्वास व्यक्त गरे ।
‘लुम्बिनी प्रदेश सरकारले अघि बढाएको योजनाहरु सार्थक छन् । लुम्बिनी पर्यटन सर्किटलाई अझ व्यापक बनाउन जरुरी छ’पोख्रेलले भने,‘पर्यटकीय क्षेत्र एउटा विकास र सम्भावनाको आधारस्तम्भ हो ।’ लिखु तामाकोशी–६ का वडा अध्यक्ष शिवप्रसाद न्यौपानेले हरेक वर्ष वडाभित्रका ज्येष्ठ नागरिकलाई यसै गरी भ्रमण गराउँदै आएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij