
शनिवार , मंसिर २२, २०८१
बुटवल, २२ मंसिर । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि जारी प्रथम मगर साहित्य महोत्सव शनिबार (आज) पनि जारी रहेको छ । बुटवलको जितगढी किल्लामा जारी महोत्सव अन्तरगत शनिबार प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना, पूर्वसभामुख आोनसरी घर्ती तथा चर्चित नायिक मिरुना मगर लगायतका प्यानलिष्टहरुले बहस गर्ने कार्यक्रम रहेको छ ।
उपसभामुख इन्दिरा रानाले प्रेरणा सेवा सम्वाद अन्तरगत उत्थान अभियानदेखि उपसभामुखसम्म आफ्ना यात्राहरु बारेका अनुभवा सुनाउने छिन् । त्यस्तै पूर्वसभामुख ओनसरी घर्ती मगरले महिला, राजनीति र नेतृत्वबारे बहस गर्ने कार्यक्रम रहेको महोत्सव मूल आयोजक समितिका प्रवक्ता शंकर गाहाले जानकारी दिए ।
पूर्वसभामखु घर्तीले अध्यक्षता गर्ने प्यानल बहसमा नेपाल मगर संघकी सह–अध्यक्ष गंगा खासु, डा. वर्षा थापा मगर, अध्यता गंगा पुन मगर र बगनाशकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले महिला महिला नेतृत्वबारे बस गर्नेछन् । उक्त बहसको सहजीकरण पत्रकार दिपा आले मगरले गर्ने कार्यक्रम छ ।
महोत्सवमा मगर संघको नेतृत्वबारे पनि बहस हुने व्यवस्थापन समिति संयोजक केशरी तरामुले जानकारी दिइन् । नेपाल मगर संघका संस्थापक सुरेश आले मगर, मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगर, नेपाल मगर महिला संघ केन्द्रीय अध्यक्ष हिरुसरा राना मगर र अध्येता संजोग लाफा मगरलाई एकैठाउँमा राखेर मगरको इतिहास, वर्तमान र भविष्यका बारेमा छलफल हुने महोत्सव व्यवस्थापन संयोजक तरामुले जानकारी दिइन् ।
चर्चित नायिका मिरुना मगरसहित कला निर्देशक तथा अनुसन्धानकर्ता सुजना श्रीस, चलचित्र निर्देशक तथा लेखक अशोक थापा र चलचित्र निर्देशक अनिल बुढा मगरले कलाले देश चिन्दै र चिनाउँदै भन्ने शिर्षकमा बहस गर्ने कार्यक्रम रहेको महोत्सव प्रचार समिति संयोजक यम रानाले जानकारी दिए । महोत्सवमा साहित्य, धर्म र सँस्कृति, मगर पुनःजागणको युग लगायतका विषयमा समेत प्यानल बहस रहने रानाले जानकारी दिए ।
मगर समुदायको भाषा, साहित्य, इतिहास र परम्पराको संक्षणमा टेवा पुग्ने गरी ‘आफ्नो कथा आफै लेखौं’ भन्ने मूल नाराकासाथ महोत्सव आयोजना गरिएको नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष तथा मूलक आयोजक समिति संयोजक निर्मला थापाले जानकारी दिइन् ।
महोत्सवमा गोरेबहादुर खपाङ्गी मगर सामाजिक योगदान पुरस्कार तथा आदिकवि जितबहादुर सिंजाली र रेख बहादुर सारु मगर साहित्य पुरस्कार स्थापना गरिने समेत उनले जानकारी दिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij