२०८३, बैशाख २३ गते

May 06 2026 | २०८३, बैशाख २३ गते

तिलोत्तमामा सार्वजनिक सुनुवाई, भौतिकसँगै मानवीय विकासमा जोड

बिहिवार , मंसिर २०, २०८१

  • 838
    Shares
  • 838
    Shares
  • तिलोत्तमा, २० मंसिर । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को प्रथम चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम बुधवार सम्पन्न गरेको छ । कार्यक्रममा सहभागी नगरबासीहरुले विकास निर्माण, शिक्षा, खानेपानी, सडक, छाडा चौपाया, वन, कृषि, युवा, बालबालिका, महिला, शान्ति सुरक्षा, खेलकुद, स्थायी प्रदर्शनी स्थल, विद्युत, मशानघाट, संघ–संस्थालाई जग्गा उपलब्ध, लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

    सहभागीले वडागत रुपमा हुने कार्यक्रममा स्थानीयबासीका सुझावलाई पनि ख्याल गर्न माग गरेका थिए । सहभागीहरुले राखेका सुझावलाई नगरप्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वरी देवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले समाधान गरेका थिए । 

    सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत अर्यालले चालु आ.व.को पहिलो चौमासिकमा भएका गतिविधि र आम्दानी खर्चका बारेमा जानकारी गराएका थिए । नगर उपप्रमुख चौधरीले सहभागीहरुले राखेका जिज्ञासामा नगरबासीको सुझावलाई केन्द्रमा राखेर बजेट तथा नीति कार्यक्रम बनाउने गरेको भन्दै सुझावलाई आत्मसात गर्ने प्रतिवद्वता जनाइन् ।

    कार्यक्रममा नगरप्रमुख खाणले सहभागीहरुबाट आएका सुझाव जिज्ञासाले नगरपालिकालाई थप उचाईमा पुर्याउन टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भौतिक विकाससँगै मानवीय विकासलाई पनि सँगसँगै अगाडि बढाउने गरी कार्यक्रम अगाडी बढाएको बताए । नगरपालिकालाई देशकै उत्कृष्ट पालिकाका रुपमा स्थापित गर्न जनप्रतिनिधि, कर्मचारी, बुद्धिजीबी, नगरबासी, संघ–संस्था, उद्योगी–व्यवसायी सबैको साथ रहने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डे, नेकपा एमालेका नगर अध्यक्ष मिन प्रसाद पोखरेल, नेकपा (माओवादी केन्द्र) का नगर उपाध्यक्ष प्रेम जीएम, नेकपा (एकीकृत समाजवादी) का नगर सचिव विजय दाहाल, राष्ट्रिय जनमोर्चाका नगरअध्यक्ष हर्क बहादुर टण्डन लगायतले नगरपालिकाले गरेका काम र गर्नुपर्ने कामका बारेमा भनाइ राखेका थिए ।