
सोमवार , मंसिर १७, २०८१
भैरहवा, १७ मंसिर । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा निर्माणसम्पन्न भएको सेमिनार (तालिम) हल तथा फोहोर व्यवस्थापन भवन अस्पताललाई हस्तान्तरण गरिएको छ ।
सिद्धार्थनगर नगरपालिकाबाट अस्पतालको गुणस्तरीय सेवा प्रवाह तथा अस्पतालको वृद्धि विकासका लागि हल तथा भवन निर्माण भएको अस्पताल प्रमुख डा. शकुन्तला गुप्ताले बताइन् । उनले भनिन्, ‘अस्पतालमा सेमिनार हल भएपछि अब हामीले आवश्यक तालिम, गोष्ठी तथा विभिन्न कार्यक्रम यही गर्न सक्छौं । फोहोरमैला व्यवस्थापनलाई पहिलो प्राथमकितामा राखेका थियौं । यो अत्यन्तै आवश्यक थियो । म यहाँ आएदेखि नै यसका निम्ति लागिपरेको थिए ।’ अस्पतालबाट सिर्जित फोहोरको व्यवस्थापन अब आधुनिक ढंगले हुने उनको भनाइ छ ।
आइतबार सेमिनार हल तथा फोहोर व्यवस्थापन भवन अस्पताललाई हस्तान्तरण गर्दै नगरप्रमुख इश्तियाक अहमद खाँँले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले बिरामीलाई मुस्कानसहितको सेवा दिनुपर्ने बताए । उनले भने, ‘अस्पतालको सरसफाईमा ध्यान दिनुपर्छ । केवल १० देखि ४ बजेसम्म डियुटी गरे, अब सकियो भन्ने होइन । अपनत्वको भावना हुनुपर्छ ।’
नगर उपप्रमुख उमा अधिकारीले अस्पतालमा सेवाग्राहीप्रति राम्रो व्यवहार नभएको गुनासो आउन नदिनेतर्फ गम्भिर हुनुपर्ने बताइन् ।
सिद्धार्थनगर–१३ का वडाअध्यक्ष सोम बहादुर गुरुङले फोहोरमैलाबाट सिर्जित समस्या समाधानका लागि आफूले पहल गरेको बताए ।
अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माले एकैपटक धेरै काम गर्न नकिए पनि क्रमिक रुपमा अस्पताललाई स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताए ।
अस्पतालका व्यवस्थापक छम बहादुर अधिकारी (सुरेन्द्र) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
सिद्धार्थनगर नगरपालिकाको करिब ५९ लाख रुपैयाँको लागतमा भीम अस्पतालमा दुईवटा सेमिनार हल, फोहोर व्यवस्थापन भवन, भुइँमा ब्लक र खानेपानीका योजना सञ्चालन भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij