२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

मानवसेवा आश्रमका बालबालिकालाई सहयोग

शुक्रवार , मंसिर ७, २०८१

बुटवल, ७ मंसिर । मानव अधिकार तथा शान्ति समाज रूपन्देहीले ३५ औं अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा मानवसेवा आश्रम लुम्बिनी प्रदेश रुपन्देही तिलोत्तमा सेवा केन्द्रका बालबालिकालाइ सहयोग गरेको छ । आश्रममा आश्रित १ वर्षदेखि १४ बर्ष सम्मका १७ जना बालबालिकाको लागि न्यानो कपडा, पठनपाठन तथा खेलकुदका सामग्रीहरु सहयोग हस्तान्तरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले बालबालिकाको लागि खाना, नाना, छाना अनिवार्य अधिकार भएको उल्लेख गर्दै आफूहरु त्यसको निरन्तर काम गरिरहेको बताए ।

मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका जिल्ला सभापति अर्जुन ज्ञवालीले बालअधिकार एक नैसर्गिक अधिकार, सुनौलो भविष्यको आधार भएको र बालबालिकाको संरक्षण, स्याहारसुसार, कल्याण, व्यक्तित्व विकास र सबल नागरिकका रूपमा खडा गर्न राज्य, समाज र परिवारले निर्वाह गर्नुपर्ने दायित्व नै बाल अधिकारको केन्द्रविन्दु भएको बताए । उनले बालबालिकासँग सम्बन्धित सबै कार्यमा बालबालिकाको सर्वोत्तम हितको सदैव प्राथमिक विचार गरिनुपर्नेमा जोड दिए ।

मानवसेवा आश्रमका सुपरभाइजर प्रेम बहादुर सारुले मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले आफ्नो आश्रमलाई सम्झिएर बालबालिकाको लागि सहयोग गरेको भन्दै आभार व्यक्त गरे।

WhatsApp Image 2024-11-21 at 11.18.00 AM.jpeg

मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, उपसभापति कृष्ण पाण्डेको स्वागत तथा सह–सचिव अर्जुन कुवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

संयुक्त राष्ट्रसंघ महासभाले २० नोभेम्बर १९८९ का दिन बाल अधिकार सम्बन्धी महासन्धि पारित गरेको थियो । यही ऐतिहासिक कदमको स्मृतिमा २० नोभेम्बरलाई अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका रूपमा मनाइन्छ । यो महासन्धिले बालबालिकाहरू को हुन्, उनीहरूका अधिकारहरू के के हुन् र सरकारहरूको जिम्मेवारी के हो भन्ने व्याख्या गरेको छ ।