२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

मगर साहित्य महोत्सव : उपसभामुख रानाले उद्घाटन गर्ने

बुधवार , मंसिर ५, २०८१

बुटवल, ५ मंसिर । नेपाल मगर महिला संघ रुपन्देहीले यही मंसिर २१ र २२ गते आयोजना गर्ने प्रथम मगर साहित्य महोत्सव तयारीको तयारी अन्तिम चरण्मा पुगेको आयोजकले जनाएको छ। महोत्सवको प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले उद्घाटन गर्ने भएकी छन् । 

बुटवलको जितगढी किल्लामा आयोजना गरिने महोसत्वमा विभिन्न ७ वटा प्यानल डिस्कशन, मगर कविता वाचन प्रतियोगिता तथा श्रष्टाहरुलाई सम्मान गरिने महोत्सव मुल आयोजक समितिका प्रवक्ता शंकर गाहाले जानकारी दिए । महोत्सवमा प्यानल डिस्कशनका लागि अभियन्ता तथा नेपाली वैज्ञानिक महावीर पुन मगर, चर्चित नायिका मिरुना मगर, वरिष्ठ पत्रकार जे.बी. पुन मगर लगायत प्रतिष्ठित व्यक्तिहरुसँग प्यानल डिस्कशन गरिने प्रवक्ता गाहाले जानकारी दिए । 

त्यसै गरी महोत्सवमा समाजशास्त्री तथा अध्ययता सुरेश ढकालको प्रस्तुती रहने प्रचार प्रसार समितिका संयोजक यम रानाले जानकारी दिए । ढकालले तयार पारेको मगर जातीको ‘भेजा’ प्रणाली सम्बन्धि डकुमेन्ट्री प्रदर्शन तथा यस बारेमा छलफल गरिने उनले बताए ।   

मगर समुदायको भाषा, साहित्य, इतिहास र परम्पराको संक्षणमा टेवा पुग्ने गरी आयोजना गरिने सम्मेलनमा कविता वाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, प्राचिन सामग्रीहरुको प्रदर्शन तथा विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरिने भएको छ । 

देशभरका मगर साहित्यकार, कलाकार तथा फरक–फरक विधाका व्यक्तित्वहरुको सहभागीता रहने महोत्सवमा आदिकवि जितबहादुर सिंजाली मगर साहित्य पुरस्कार र गोरे बहादुर खपाङ्गी मगर सामाजिक पुरस्कार स्थापना गरी सम्मान गरिने महोत्सव मूल आयोजक समिति संयोजक तथा नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष निर्मला थापाले जानकारी दिइन् ।