२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

वैकुण्ठधाम निर्माण आयोजना प्रदेशको उच्च प्राथमिकतामा : मुख्यमन्त्री आचार्य

बुधवार , मंसिर ५, २०८१

  • 1000
    Shares
  • 1000
    Shares
  • बाँके, ५ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेको नेपालगञ्जमा वैकुण्ठधाम सिधनियाघाट निर्माण गर्ने योजनालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने बताएका छन् । 

    वैकुण्ठधाम आध्यात्मिक महोत्सव श्रीमद् भागवत ज्ञानकथा यज्ञको समीक्षा बैठकलाई बुधवार नेपालगञ्जमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले वैकुण्ठधाम सिधनियाघाट निर्माण गर्ने योजनालाई प्रदेश सरकारले बहुवर्षिय आयोजनामा समावेश गरेर उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताएका हुन् । ‘यो निकै राम्रो सामाजिक कार्य हो । यो दल, उ दल भन्दा पनि आम नागरिकको सहभागितामा अघि बढेको यो कामलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्नेछ’उनले भने,‘जग्गा प्राप्ती र डिपिआर निर्माण गरेर आयोजना कार्यान्वयनलाई अघि बढाउन जरुरी छ । महायज्ञबाट पनि यहाँहरुले लगानी जम्मा गर्नु भएको छ । सबै स्रोतहरुको सही परिचालन गरेर आयोजना कार्यान्वयनमा लैजानुपर्ने छ ।’ 

    बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५ स्थित राप्ती नदी तटमा वैकुण्ठधाम सिधनियाघाट निर्माण गर्न थालिएको छ । समुदायको अग्रसरतामा अघि बढेको कामलाई प्रदेश सरकारले साथ दिने मुख्यमन्त्री आचार्यले प्रतिवद्धता व्यक्त गरे । विद्युतीय शवदाह गृहसहित सिधनियाघाट हुने र अर्काे पाटोमा किरियापुत्री घर, मन्दिर, सभाहल, ध्यान केन्द्र, पितृको मृत्युकर्म, सोह्र श्रद्धाकर्म एवं पितृ मोक्षका अन्य कर्मकाण्ड सम्पन्न गर्न मिल्ने आध्यात्मिक उपवन ‘वैकुण्ठधाम’ आयोजना अघि बढाइएको छ । 

    वैकुण्ठधाम निर्माणका लागि नागरिक सहभागीता जुटाउन कार्तिक २२ गतेदेखि महायज्ञ समेत सञ्चालन गरिएको थियो । यज्ञमा करिब ३ करोड दान संकलन भएको थियो । समीक्षा बैठक वैकुण्ठधाम सिधनियाघाट समितिका अध्यक्ष डा.सुरेशकुमार कनौडियाको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।