
बुधवार , मंसिर ५, २०८१
भैरहवा, ५ मंसिर । क्रिकेटर तृष्णा विश्वकर्मालाई रुपन्देहीको भैरहवामा नगदसहित सम्मान गरिएको छ । नेपाली यू–१९ महिला टोलीकी सदस्य विश्वकर्मालाई नेपाललाई विश्व कपमा पुर्याउन महत्वपूर्ण योगदान गरेको भन्दै बुधबार रुपन्देही क्रिकेट संघले भैरहवामा नगदसहित सम्मान गरेको हो ।
रुपन्देहीको ओमसतिया गाउँपालिका–१ निवासी विश्वकर्मालाई संघले ११ हजार १ सय ११ रुपैयाँ नगदसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । विश्वकर्मा सम्मलित नेपाली राष्ट्रिय महिला टीमले युएईमा सम्पन्न यू–१९ विश्वकप छनोट खेलमा जीत निकाल्दै नेपाललाई विश्वकपमा पुर्याएको थियो । आगामी जनवरी महिनामा मलेसियामा हुने विश्व कपमा नेपालको यू–१९ टीम पनि खेल्नेछ ।
क्रिकेटर विश्वकर्मालाई सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, संघका संस्थापक प्रेम कुमार सेन्चुरी, नेपाल क्रिकेट संघका पूर्व कार्यबाहक सचिव प्रशान्त विक्रम मल्ल लगायतले सम्मान गरेका हुन् । उनीहरुले उत्कृष्ट प्रदर्शन गरेर नेपालको झण्ड फहराउन सफल भएको भन्दै विश्वकर्मालाई बधाई दिए । विश्व कपमा पनि उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए ।
सम्मानित भएपछि विश्वकर्माले आफूले आफ्नो टीमको जीतका लागि सधैं प्रयास गर्दै आएको र विश्वकपमा पनि अझ राम्रो गर्ने जनाइन् । यस्ता सम्मानले आफूलाई हौसला मिलेको क्रिकेटर विश्वकर्माको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij