२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न ऐन ल्याउँछौं : मुख्यमन्त्री आचार्य

सोमवार , मंसिर ३, २०८१

  • 721
    Shares
  • 721
    Shares
  • दाङ, ३ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न र एकीकृत रुपमा सेवा प्रवाहको सहजताको लागि अपांगता अधिकार ऐन निर्माण गरिने बताएका छन् । 

    राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशले सोमबार मुख्यमन्त्री आचार्यसँग भेट गरेको थियो । सो अवसरमा मुख्यमन्त्री आचार्यले अपांगता अधिकार सुनिश्चित गर्न प्रदेश सरकारले ऐन जारी गर्ने र त्यसका लागि सरोकारवाला पक्षसँग समेत सहकार्य गरिने स्पष्ट पारेका छन् । ‘अपांगता भएका व्यक्तिहरुको सेवा प्रवाहमा सहज पहुँच पुर्‍याउन प्रदेश सरकार प्रतिबद्ध छ’उनले भने,‘अपांगता भएका व्यक्तिहरुलाई एकीकृत रुपमा सेवा प्रवाहका लागि ऐन, नियम बनाएर सम्बोधन गर्छौं ।’ 

    सामाजिक विकास मन्त्रालयमार्फत अपांगता अधिकार सम्बन्धि अधिकार सुनिश्चितताका लागि ऐन अघि बढाइने बताए । भेटको क्रममा लुम्बिनी प्रदेशबाट अपांगता अधिकार ऐन निर्माण गरी जारी गर्न मुख्यमन्त्री आचार्यलाई ध्यानाकर्षण समेत गराइएको थियो । 

    राष्ट्रिय अपांग महासंघका अध्यक्ष हुमनाथ अधिकारीसहितको टोलीले मुख्यमन्त्री आचार्यसँग भेट गरेको र छिट्टै ऐन निर्माणको काम अघि बढाउने बारेमा छलफल केन्द्रित भएको थियो ।

    छलफलको क्रममा मुख्यमन्त्री आचार्यले अपांगता भएका नागरिकको अधिकार र सवाललाई सम्बोधन गर्न प्रदेश सरकार गम्भीर रहेको, अपांगता अधिकार र आवश्यक नीति निर्माण गरी आगामी प्रदेश अधिवेशनमा पेश गरी पास गरिने जानकारी दिएका थिए ।