२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

रूपन्देही सुपर लिग : नेपथ्य ज्ञानोदयद्वारा बुटवल युथमाथि १० विकेटको जीत

आइतवार , मंसिर २, २०८१

भैरहवा, २ मंसिर । लक्ष्मण खत्रीले ५ विकेट र भुवन गैरेले विष्फोटक ब्याटिङ गर्दै अविजित ९९ रन बनाएपछि रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा डिभिजन ‘बी’ को आइतबारको खेलमा नेपथ्य ज्ञानोदय क्रिकेट क्लबले सानदार जीत निकालेको छ । नेपथ्यले बुटवल युथ क्लबलाई १० विकेटले पराजित गर्दै जीत हात पारेको हो । 

सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा जीतका लागि पाएको १ सय ४२ रनको लक्ष्य नेपथ्यले बिना क्षति सहजै पूरा गर्यो । उसले मौसमका कारण ४० ओभरमा छोट्याइएको खेलमा १६ ओभरमा १ सय ४६ रन बनाउँदै जीत निकाल्यो । बलिङमा बुटवल युथका कुनै पनि खेलाडीको राम्रो प्रदर्शन भएन र विकेट लिन सकेनन् । नेपथ्यको जीतमा भुवनले ९९ रन बनाउँदा कुशल ढकालले नटआउट २१ रनको योगदान गरे । नेपथ्यले २६ रन अतिरिक्त नै पायो । 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बुटवल युथले २५ ओभर ४ बलमा अलआउट हुँदै १ सय ४१ रन बनाएको थियो । उसलाई सस्तैमा रोक्न बलिङमा नेपथ्यका लक्ष्मण खत्रीले ७.४ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिँदा युवराज सेनले ३ र सन्तोष क्षेत्रीले २ विकेट लिन सफल भए । 

बुटवल युथका निरज भण्डारीले अविजित ८१ र सोनु मल्लाहले १७ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टीम पराजित भयो । खेलमा लक्ष्मण खत्री प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 
त्यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार २ सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरज प्रताप खाँणले जानकारी दिए । 

सुपर लिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपर लिगका कारण दुई चरणमा सुपर लिग हुनेछ । पहिलो चरणमा मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपर लिग पछि आयोजना हुनेछ ।