२०८२, आश्विन २५ गते

Oct 11 2025 | २०८२, आश्विन २५ गते

कादम्बरी गजलसङ्ग्रहको भावविधान

सोमवार , कार्तिक २६, २०८१

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • विष्णुप्रसाद गजुरेल
    पिता मेघराज ज्ञवाली र माता लक्ष्मी ज्ञवालीको सन्तानको रूपमा गुल्मी जिल्लाको रुरु गाउँपालिका भट्कुवामा जन्मिएकी सरु (सरस्वती) ज्ञवाली रूपन्देही जिल्लामा सक्रिय रूपमा कलम चलाउने नारी स्रष्टा हुन् । रूपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित सिद्धार्थपथ (भैरहवा) मा स्थायी रूपमा बसोबास गरिरहेकी ज्ञवाली सिर्जनशील साहित्यिक समाज (सिसास, सिद्धार्थ साहित्य परिषद्, प्रश्रित प्रतिष्ठान नेपाल, लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल, जनसाहित्यिक मञ्च नेपाल, विश्व नेपाली साहित्य प्रतिष्ठान जस्ता संघ संस्थामा आबद्ध छिन् । गजल, मुक्तक र कविता जस्ता विधामा सशक्त रूपमा कलम चलाउँदै आएकी ज्ञवालीको फराकिलो मन (२०७५ संयुक्त गजलसङ्ग्रह  र कादम्बरी  (२०८०) गजलसङ्ग्रह प्रकाशित छन् । यसका अतिरिक्त उनका केही रचनाहरू विभिन्न पत्रपत्रिकाहरूमा फुटकर रूपमा प्रकाशित छन् ।  सिर्जनशील साहित्यिक समाज, सिद्धार्थ साहित्य परिषद् साहित्य परिषद् नवलपरासी, सामुदायिक विद्यालय परिवार रूपन्देही आदिद्वारा सम्मानित तथा विभित्र संघ–संस्थाबाट पुरस्कृत र सम्मानित भएकी ज्ञवाली हाल सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवाको नेतृत्व सम्हालिरहेकी छिन् ।
     
    ‘कादम्बरी’ (२००) सरु ज्ञवालीद्वारा रचित गजलसङ्ग्रह हो । यसमा बहरबद्ध ७ ओटा गजलहरू संकलित छन् । गजलकारका आफ्ना जीवन भोगाइमा अनुभूत गरेका विविध विषयवस्तुहरू यस सङ्ग्रहमा समाविष्ट छन् । देशप्रेम, प्रणयभाव, प्रकृतिप्रेम, सामाजिक, सांस्कृतिक, राजनीतिक विकृति विसंगतिप्रति चिन्ता, कोरोनाको प्रभाव, आशावादी स्वर र लैंगिक विभेद आदि विषयवस्तु यस गजलसङ्ग्रहमा सङ्गृहीत छन् । यहाँ यिनै विषयवस्तुको सङ्क्षित चर्चा गर्ने जमर्को गरिएको छ ।
    १. देशप्रेम 
    आफ्नो राष्ट्रप्रतिको भक्तिभाव तथा अनुरागलाई नै देशप्रेम भनिन्छ । नेपालको इतिहास, वीर वीरङ्गनाका गाथा, देशले भोग्नु परेका समस्या आदि जस्ता विषयवस्तुको बारेमा अनभिज्ञता जाहेर गर्नु अहिलेका पिढीँको विशेषता हो । देशमा अनेकौँ सम्भावना हुँदाहुँदै पनि विदेशिने युवायुवतीको लर्को र उतै पलायन हुनेको सङ्ख्या दिनानुदिन बढ्दै छ । यो एउटा डरलाग्दो चिन्ताको विषय हो । यी र यस्ता कुराले सर्जकलाई चसस्क विझाएको छ र यी कुराहरू भावकमाझ यसरी प्रस्तुत गरिएको छ :
     
    पानी पिएर बाँच्छौं घाँटी दिइन्न रेट्न 
    गाथा छ वीरताको कैल्यै बदल्न दिन्नौँ 
    पुर्खाले आर्जिएको धर्ती दिइन्न खोस्न
    गद्दारको रजाँई फिटिक्क चल्न दिन्नौँ  (गजल २)
     
    नेपालको इतिहासमा वीरवीरवीरङ्गनाका अनेकौँ गाथाहरू छन् । पानी समेत नपिएर वैरीपक्षसँग लडेको इतिहास साक्षी छ । आफ्नो दिलोज्यानको आहुति दिएर पुर्खाले आर्जेको यो धर्ती खोस्न दिइन्न भन्ने राष्ट्रप्रेमको भाव प्रस्तुत गजलमा अभिव्यक्त गरिएको छ । त्यस्तै भाव अर्को गजलमा यसरी व्यक्त गरिएको छ :
     
    लडे वीर पुर्खा चुकेनन् कहिल्यै
    डटे कष्ट भोग्दै झुकेनन् कहिल्यै 
    मेरो देशको निम्ति अर्पेर ज्यान 
    हँसाएर वैरी भुकेनन् कहिल्यै (गजल ५)
     
    प्रस्तुत गजलमा नेपाली वीर पुर्खा देशको स्वाभिमानका लागि आफ्नो रक्तधारा बगाएर  लडेको तर वैरीलाई हँसाउने काम कहिल्यै पनि नगरेको कुरा व्यक्त गरिएको छ । त्यसैगरी मुग्लान भासिएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई नेपालमा फर्केर आई यहाँको माटो सुम्सुम्याउन, भत्किसकेको छाप्रो र पालीमा भाटो ठड्याउन, परदेशमा जवानी खर्चिनुको सट्टा देशभित्रै पसिना बगाउन यसरी आव्हान गरिएको छ –
     
    तिम्रो अभावमा यो माटो भएछ रुखो 
    मुग्लान त्यागी आऊ धर्ती सजाऊ आफ्नै 
    के हुन्छ खर्चिएर परदेशमा जवानी 
    आएर देशभित्रै पसिना बगाऊ आफ्नै (गजल १६)
     
    त्यसैगरी गजलकार ज्ञवालीले सत्कर्म गरी धरा हँसाउन, सगर्वका साथ यही मेरो देश हो भनी स्वीकार्न, यही धर्तीमा पाखुरी बजार्न र उषाको सुनौलो विहानी जगाउन यसरी उत्प्रेरित गरेकी छन् –
     
    गरी कर्म राम्रो धरा यो हँसाऊँ
    यही देश हाम्रो सधैं भत्र पाऊँ
    दुई पाखुरा यी बजार्दै कज्याई 
    र खाद्यान्न धेरै धरामा फलाऊँ (गजल २३)
     
    साच्चै आम नेपालीको भावना यस्तै हुने हो र सोही अनुसारको कर्म गर्ने हो भने नेपालको अवस्था कस्तो हुन्छ होला भत्रे कल्पना एउटा स्रष्टाले मात्र गर्दछ । त्यसैगरी नेपालमा छिमेकी मित्र राष्ट्रहरूले समय समयमा सीमा क्षेत्रमा गरिराखेको ज्यादतिले पनि स्रष्टाको मन पोलेको छ सो कुरा गजलमा यसरी व्यक्त गरिएको छ :
     
    छिमेकी छ हेप्दै उखेलेर किल्ला 
    डुबे देश छायाँ बचाएर हुन्न 
    सधै कत्ति बस्ने उठौँ हो जुरुक्कै 
    भयो घात धेरै डराएर हुन्न (गजल ६९)
     
    छिमेकी राष्ट्रले सीमा स्तम्भहरू सार्ने, भाँचिदिने, अग्ला तटबन्ध बनाएर नेपाली भूमि डुबानमा परिदिने, सीमा सुरक्षा बलले नेपाली सीमाभित्र आएर ज्यादती गर्ने जस्ता अन्याय र अत्याचारकाविरुद्ध उठौँ जागौँ भन्ने राष्ट्रवादी भाव यहाँ अभिव्यक्त गरिएको छ ।
     
    यसरी वीर पुर्खाकोे योगदानको उच्च मूल्याङ्कन गरी पुर्खाले आर्जिएको मुलुक खोस्न नदिन उत्प्रेरित गर्नु, परदेशिएका नेपालीहरूलाई परदेशमा पसिना बगाउनुको सट््टा नेपालकै माटोमा पसिना सिँची हराभरा बनाउन आव्हान गर्नु र छिमेकी मुलुकका अत्याचारकाविरुद्ध जाइलाग्न आव्हान गर्नुले कादम्बरी गजलसङ्ग्रहमा देशप्रेमको भावना अभिव्यक्त भएको प्रमाणित हुन्छ ।   
     
    २. प्रणय 
    गजल लेखनको प्रारम्भ नै प्रेम÷प्रणय, नारीसँगको संवाद÷कुराकानी अर्थात् शृङ्गारिक भावधाराबाट भएको हो । गजल भत्रेबत्तिकै शृङ्गारिक हुनुपर्छ भत्रे मान्यता जनमानसमा थियो । त्यसैले यो युवायुवतीहरूको अत्यधिक रुचाइएको विधा पनि हो । हाल आएर गजलमा शृङ्गारिकता एउटा प्रवृत्ति हो र जीवन र जगत्का विविध पक्ष गजलका विषयवस्तु हुन सक्छन् भन्ने मान्यता स्थापित भएको छ । सरु ज्ञवालीका गजलसङ्ग्रहमा पनि प्रणय भावका यस्ता केही गजलहरू रहेका छन् केही उदाहरण :
     
    जगाएर तृष्णा मभित्र बिछट्टै 
    नशाको शिखरमा चढायौ मलाई 
    मिठो प्यार भर्दै चुमी बारबार
    भगाएर निन्द्रा जगायौ मलाई (गजल ६)
     
    ओडाऊ घुम्टो बादल बनेर 
    अँगाल प्रिया आँचल बनेर 
    बोकर सोह्रै शृङ्गार आऊ 
    लोचन सजाऊ गाजल बनेर (गजल २१)
     
    प्रियसीको यादमा सम्झनाले आत्तिएँ
    घाइते भो यो मुटु चाहनाले आत्तिएँ
    प्रीतिका ती आँकुरा जुर्मुराई फक्क्रिदा 
    बैस जाग्यो बेसरी यौवनाले आत्तिएँ (गजल ६२)
     
    यसरी कादम्बरी गजलसङ्ग्रहमा प्रेमी र प्रेमिकाको बीचका प्रणयभाव अत्यन्त शिष्ट रूपमा अभिव्यक्त भएको पाइन्छ ।
     
    ३. प्रकृतिको चित्रण 
    मानिस प्रकृतिमा जन्मिन्छ, प्रकृतिमा हुर्कन्छ, बढ्छ, रमाउँछ र प्रकृतिमै बिलाउँछ । प्रकृति र मानिस बीच अन्योन्याश्रित सम्बन्ध हुन्छ । प्रकृतिमा रमाउनु, आनन्द लिनु र प्रकृतिकै विषयमा रचना सृजना गर्नु एउटा स्रष्टाको प्रवृत्ति पनि हो । यहाँ स्रष्टा ज्ञवालीको कादम्बरी गजलसङ्ग्रहमा पनि प्रकृतिको चित्रण गरिएको पाइन्छ । केही उदाहरणहरू :
     
    छुटेछन् कि भन्दै कतै तीर्थयात्री 
    कुना कन्दरामा पसेकी नदी हौ 
    उचाल्दै पछार्दै घचेडी धकेल्दै 
    सयौँ चोट पीडा सहेकी नदी हौ (गजल १२)
     
    यहाँ सुन्दर नगरी पोखरामा अवस्थित सेती नदीको चित्रण गरिएको छ । पक्कै पनि एउटा नदी सयौँ पटक उचालिँदै, पछारिँदै, धकेलिँदै, सुसाउँदै र चोट सहँदै, फाँटहरू सिँच्दै, प्यासीको प्यास मेट्दै अगाडि बढेको हुन्छ । यही कुराको चित्रण प्रस्तुत गजलमा गरिएको छ । त्यस्तै अर्को उदाहरण :
     
    काखमा लठ्ठ छन् ती वनै जङ्गल 
    साउने हौ झरी लेककी मञ्जरी 
    खोंचमा लुक्दछे चाँदनी बन्दछे 
    हौ तिमी दौंतरी लेककी मञ्जरी 
    वासना छर्दछे मोहितै पार्दछे 
    रम्दछे मन भरी लेककी मञ्जरी (गजल १४)
     
    यहाँ वसन्त याममा वनजङ्गलमा रहेका वृक्षहरूमा पालुवा पलाउँदा ती मञ्जरीहरू स्वर्गका परी जस्ता देखिएका, हिमाल पहाडका काखमा रहेका वन जङ्गल लठ्ठै भएका, मञ्जरीले वासना छर्दा मोहित पारेको प्रसङ्ग उल्लेख गरिएको छ ।
     
    ४. कोरोनाको त्रास 
    २०१९ को डिसेम्बर महिनामा चीनको वुहान सहरमा पहिलो पटक देखिई संसारका करिब २०० वटा देशमा फैलिएको र हजारौ मानिसको ज्यान लिएको कोरोना भाइरसको प्रभाव नेपालमा पनि प¥यो । यस रोगबाट कयौँ मानिसले ज्यान गुमाउनु प¥यो । २०६७ चैत्र ११ गतेदेखि घरभित्रै बन्दी जीवन व्यतीत गर्नु प¥यो । यसको प्रभाव एउटा स्रष्टामा पर्नु स्वभाविकै हो र त्यो कादम्बरी गजलसङ्ग्रहमा प्रतिविम्बित भएको पाइन्छ । केही उदाहरण :
     
    नयाँ रोग आयो जगत् नै समायो 
    पुरै विश्वलाई उसैले नचायो 
    कतै शोकमा छन् कतै त्रासमा छन्  
    निधो छैन बाँच्ने न मर्ने गरायो
    डराएर मान्छे लुकेको छ भित्र
    दिई धेरै पीडा खुसी सब लुटायो (गजल ३७)
     
    बुबा आमा सँगी साथी प्र्रिया सम्झी कति रोेए
    समय कस्तो कठिन आयो बिछौनामा लडे सारा (गजल ४६)
     
    यसरी यहाँ कोरोनाको प्रकोपले विश्व जगत्लाई नै त्रासमा राखेको, डराएर मानिसहरू घरभित्रै कैदी जस्तो गरी बस्नुपरेको, अफ्ठ्यारो अवस्थामा समेत देश विदेशमा रहेका आफन्तजनले आफ्ना घरपरिवारसँग बस्न नपाएको छटपटी अभिव्यक्त गरिएको छ ।
     
    ५. विकृति विसङ्गतिप्रति चिन्ता
    समाजमा हुने गरेका विकृति र विसङ्गतिको चित्रण कादम्बरी गजलसङ्ग्रहमा प्रतिविम्बित भएको पाइन्छ । केही उदाहरण :
    लाजै पचाइ उसले माग्दै छ भोेट फेरि 
    वर्षो बिताएकोथ्यो झुप्रोतिर नहेरी 
    ती बालिका बलात्कार दिनकै भइरहँदा
    त्यो न्याय मूर्ति पत्थर जस्तै बस्यो नटेरी (गजल ५९)
     
    जनप्रतिनिधिहरूचुनावको समयमा प्रत्येक जनताका घरआँगनमा गएर भोट माग्ने र चुनाव जितिसकेपछि गाउँ नर्फकने रोग नेपालको राजनीतिमा नौलो कुरा होइन । जनताको प्रतिनिधि भइसकेपछि जनताले पाउनु पर्ने न्यूनतम आधारभूत आवश्यकता पूरा गर्नु त कता हो कता कयौ अबोला बालिकाहरू बलत्कृत हुँदा समेत चुँ नबोल्ने जनप्रतिनिधि तथा न्यायलयप्रति यहाँ आक्रोश व्यक्त गरिएको छ । त्यस्तै राजनीतिक विसङ्गतिको अर्को एक उदाहरण यस्तो छ :
     
    सत्ता र देश हाँक्ने अर्कै चलायमान 
    पर्दैछ लम्पसार गोडा समाई ढोगी (गजल २५)
     
    यहाँ देशको राजनीतिको रिमोट अर्कैको हातमा रहेको हुँदा कुर्ची प्राप्ति र जोगाउनका निम्ति प्रभुको गोडा समाई लम्पसार पर्ने प्रवृत्तिप्रति व्यङ्ग्य गर्न खोजिएको छ । त्यस्तै सामाजिक विसङ्गतिको एक उदाहरण यस्तो छ :
     
    थियो झ्यालखाना ऊ वर्षौ परेको 
    उसैैलाई नियुक्ति पुजारी दिएछ (गजल २५)
     
    इमानदार कर्तव्यनिष्ठ व्यक्तिहरूलाई भन्दा विभिन्न आरोपमा जेलनेल परेका भ्रष्ट र चरित्रहीन मानिससहरूलाई विभिन्न अवसरहरू प्रदान गर्ने, सम्मान गर्ने पुरस्कृत गर्ने प्रवृत्ति यहाँँ देखिन्छ । यही प्रवृत्तिलाई यहाँ व्यङ्य खोजिएको छ । त्यस्तै धार्मिक विसङ्गतिको एक उदाहरण यस्तो छ :
     
    पुकारेर ईश्वर बजाएर घण्टी
    लगाएर चन्दन कहाँ भर्छ पेट (गजल १७)
     
    यहाँँ कर्मवादी भाव अभिव्यक्त हुनुका साथै धार्मिक अन्धताको विरोध गरिएको छ । यसरी प्रस्तुत गजलसङ्ग्रहमा सामाजिक, राजनीतिक, धार्मिक विकृति विसङ्गतिको भण्डाफोर गरिएको छ ।
     
    ६. आशावादी स्वर
    जीवनप्रति आशावादी हुनुपर्दछ र सोहीअनुसार कर्म गर्नुपर्दछ भन्ने विचार आशावादी स्वर हो । सरु ज्ञवालीको गजलसङ्ग्रहमा आशावादी स्वर अभिव्यञ्जित भएको छ । केही उदाहरण :
     
    दुई पाखुरा यी बजार्दै कज्याई
    र खाद्यान्न धेरै धरामा फलाई
    पछ्यौरी र चोली सजाई गुन्यूले
    उषाको सुनौली विहानी जगाऊ (गजल २३)
     
    हाम्रा उब्जनी योग्य जमिनहरू बाँझिएका छन् । हामी खाद्यान्न, फलफूल, तरकारी, दुग्धजन्य वस्तु र माछामासुमा समेत परनिर्भर बन्दै छौँ । प्रचुर सम्भावना हुँदा हुँदै पनि भविष्य नदेखेर युवा पिँढी विदेश पलायन हुँदै छन् । यस्तो अवस्थामा एउटा स्रष्टाले प्रचुर सम्भावना देख्नु र आशावादी हुनु स्वाभाविकै हो ।  यहाँ यिनै कुरा अभिव्यञ्जित भएको छ । 
    जिन्दगीले चोट पीडा दिन्छ साथी हर्दम
    नित्य हामी भक्ति राखौँ साधनाको साथमा (गजल ४३)
     
    जिन्दगी सोचे जस्तो हुँदैन । जीवनमा अनेक उतारचढाव आइरहन्छन् । त्यसको प्रवाह नगरी निरन्तर आफ्नो कर्ममा विश्वास गर्न आशावादी हुन यहाँ आव्हान गरिएको छ । 
    जोतौँला बाँझो फोरौँला डल्ला
     
    भुलौँलासँगै ती खेतीभित्र 
    छोडेको घरमा कसिङ्गर होला
    लिपौँला आँगन र पेटीभित्र (गजल ५०)
     
    हाम्रा बन्जर जग्गा जमिन जोतेर र भग्नावशेष भएका घरहरू मर्मत सम्हार गरेर यही देशमा केही गरौँ अवश्व नै गर्न सकिन्छ भन्ने आव्हान यहाँ गरिएको छ । यसरी सरु ज्ञवालीको गजलसङ्ग्रहमा आशावादी स्वर अभिव्यञ्जित भएको छ ।
     
    निष्कर्ष  :
    सरु ज्ञवालीका कादम्बरी गजलसङ्ग्रहमा देशप्रेम, प्रणयभाव, प्रकृतिप्रेम, सामाजिक, साँस्कृतिक, राजनीतिक विकृति विसङ्गतिप्रति चिन्ता, कोरोनाको प्रभाव, आशावादी स्वर र लैङ्गिक विभेद, बाल्यकालका सम्झना अर्थात् अतित मोह, युवा पलायनप्रति चिन्ता आदि विषयवस्तु समावेश छन् । सरल सहज भाषाशैलीको प्रयोग गरिएका यस गजलसङ्ग्रहमा विभित्र किसिमका विम्बहरूको प्रयोग गरिएको पाइन्छ । गजलको शास्त्रीय मान्यता अनुरूप लेखिएको यस गजलसङ्ग्रहले समतामूलक, असल, सभ्य र उन्नत राष्ट्रको परिकल्पना गरेको छ । नेपाली गजल परम्परामा एउटा आयाम थप्न सफल यस कृतिका स्रष्टा सरु ज्ञवालीको सिर्जनशील दीर्घजीवनको शुभकामना व्यक्त गर्दछु । 
     
    सम्पर्क नम्बर ः ९८४७१११७०६