२०८२, फाल्गुण ११ गते

Feb 23 2026 | २०८२, फाल्गुण ११ गते

मर्चवारको अवस्थामा परिवर्तन ल्याउन मत बदल्नुपर्छ : कन्हैया बनिया

सोमवार , फाल्गुण ११, २०८२

  • 163
    Shares
  • 163
    Shares
  • भैरहवा, ११ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार कन्हैया बनियाले मर्चवारको अवस्था परिवर्तन गर्न मत बदल्न आवश्यक रहेको बताउनुभएको छ । उहाँले अहिलेसम्म सामन्तवादी र पूँजीवादी शक्तिहरू पटकपटक निर्वाचित हुँदै मर्चवारलाई ओझेलमा पारिएको र पिछडिएको पहिचान दिइएकोप्रति दुःख व्यक्त गर्नुभयो ।

    उम्मेदवार बनियाले भन्नुभयो–‘पटकपटक भएका सडक आन्दोलनमा धेरै युवाहरू शहीद भए र केही परिवर्तन आयो । तर अब वैचारिक आन्दोलनको आवश्यकता छ । सडकबाट होइन, मतमार्फत समाज रुपान्तरणमा सहयोग गर्ने समय आएको छ ।’ उहाँले थप्नुभयो–‘अबको प्रधानमन्त्री बालेन्द्र शाह हुने भएकाले मर्चवारले पनि रास्वपालाई मतदान गरी समग्र मर्चवारबासीलाई जिताउनुपर्छ । अब बिचौलियाको सल्लाहमा होइन, आफ्ना छोराछोरी र परिवारको सल्लाहमा मतदान गर्ने बेला आएको छ ।’

    रदैलो अभियानका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै बनियाले मर्चवारबाट जितेर बाहिर बस्नेहरूले मर्चवारको पीडा कहिल्यै नबुझेको तर्क गर्नुभयो । उहाँले भन्नुभयो–‘क्षेत्र नम्बर ४ का नागरिक अब सचेत भएका छन् । सत्य र गलतको पहिचान गर्न सक्षम छन् र अब कसैको भ्रममा पर्ने छैनन् ।’

    देशको नीति परिवर्तन गर्न नेतृत्व परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उहाँले रास्वपाका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।