२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

रुपन्देहीमा हिन्दु मुस्लिम सबैले मनाए छठ पुजा

शुक्रवार , कार्तिक २३, २०८१

भैरहवा, २३ कार्तिक ।  रुपन्देहीमा हिन्दु, मुस्लिमसहित सवै बर्ग र समुदायका नागरिकले छठ पर्व मनाएका छन् । यस वर्षको छठ पर्व उदाउदो सुर्यलाई अर्घ दिएर समापन गरिएको छ । 
विगतका वर्षहरुमा सामन्यतया तराईबासी नागरिकले मनाउँदै आएको छठ पर्वलाई यस पटक साझा पर्वको रुपमा मनाएको देख्न सकिन्थ्यो । 

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मंलबारदेखि सुरु भएको थियो । बिहीबार रुपन्देहीका नदी, तलाउ, पोखरीमा अस्ताउँदो सूर्यलाई पूजा गरी अर्घ दिएका हजारौं श्रद्धालुले आज बिहान उदाउदो सुर्यलाई अर्घ दिएर छठको समापन गरेका छन् । 

कुनै समय तराई मधेशका हिन्दु धर्मावलम्बीले मनाउने यो पर्व पछिल्लो समय हरेक क्षेत्र र समुदायले उल्लासपूर्वक मनाउन थालेका छन् । अहिले तराईसहित पहाड र हिमाली क्षेत्रमा पनि छठलाई श्रद्धापूर्वक मनाइने गरिएको छ । अहिले यो पर्वप्रति मुस्लिम समुदायका व्यक्तिहरु पनि आकर्षित भएको छठ पुजा समितिका संयोजक आनन्द प्रसाद गुप्ताले जानकारी दिए ।

यस पर्वको कारणले विभिन्न समुदाय, जात, धर्मका व्यक्तिहरुबीच सद्भाव बढेको छ । छठको असरमा रुपन्देही तिनाउ, दानव, घाघरा, रोहिणी नदीसहित तालतलैया र पोखरी सिंगारिएको थियो ।