२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

सामूहिक हितका लागि गरिने कामलाई प्रोत्साहन गरौं : मुख्यमन्त्री आचार्य

आइतवार , कार्तिक १८, २०८१

  • 586
    Shares
  • 586
    Shares
  • दाङ, १८ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै सामाजिक, सांस्कृतिक एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन् । तिहार पर्व २०८१ को अवसरमा आइतबार शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले तिहार मनाउने मौलिक साँस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगतको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउने बताएका हुन् । 

    तिहारको अवसरमा देउसी–भैलो खेल्ने विशुद्ध नेपाली संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पु¥याउने बताउँदै उनले चाडपर्वमा देखापर्ने विकृति, विसंगतिको अन्त्य गर्दै सामूहिक हितका लागि गरिने कामहरुलाई प्रोत्साहन गर्न जरुरी रहेकोमा जोड दिए । 

    ‘तिहारलाई उज्यालो पर्वको रुपमा पनि लिने गरिन्छ । सत्य र न्यायको पक्षमा उभिन समेत प्रेरित गर्ने गरेको छ । तिहारले मानव, प्रकृति र पशुपंक्षीबीचको सन्तुलनलाई सम्मान गर्छ । यसप्रकारका प्रयासले प्रदेशमा सामाजिक एकता, पर्यावरण संरक्षण र दिगो विकासको पक्षलाई बलियो बनाउन मद्दत गर्दछ’शुभकामना सन्देशमा भनिएको छ,‘कृषि, पशुपालन, आर्थिक उपार्जन, उद्यम विकास लगायतसँग यसप्रकारका पर्वहरुको सम्बन्ध गाँसिएका हुन्छन् ।’ 

    त्यस्तै मुख्यमन्त्री आचार्यले ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’को प्रमुख आकांक्षा पूरा गर्न प्रदेश सरकारले कृषि र पशुपालनको क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाएको बताएका छन् । ‘हाम्रा परम्पराहरु समाज विकाससँग जोडिएका छन् । चाडपर्वका मूल्य मान्यताहरु अनुशासनसँग जोडिएका छन् । तसर्थ प्रदेश सरकारले समाज रुपान्तरण, समाज परिवर्तनका क्षेत्रमा नवीनतम अभ्यासहरुलाई प्रोत्साहन गर्दै आएको छ’सन्देशमा भनिएको छ‘चाडपर्वमा देखापर्ने विकृति, विसंगतिको अन्त्य गर्दै सामूहिक हितका लागि गरिने कामहरुलाई प्रोत्साहन गर्न जरुरी छ ।’

    कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिनदेखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्व नेपालीहरूको मौलिक चाडको रूपमा रहेको छ । यमपञ्चक समेत भनिने तिहार पर्वमा काग, कुकुर, गाई, गोरूलगायत पशुपक्षीका साथै धन र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा र दिदीबहिनीद्वारा भाइको पूजा गरिनुका साथै देउसी–भैलो खेल्दै नाचगान र मनोरञ्जन गर्ने परम्परा रहेको छ ।