२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

सरकारले बँदेलपछि रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गर्दै

आइतवार , भाद्र २, २०८१

  • 544
    Shares
  • 544
    Shares
  • काठमाडौं, २ भदौं ।वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरी रापपत्रमा प्रकाशित गर्न लागेको बताएका छन्।

    आईतवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै मन्त्री ठकुरीले कृषि हानिकारक वन्यजन्तुमा बँदेलको म्याद थप गरिएको पनि जानकारी दिए। सरकारले गत वर्ष समितिको निर्देशन अनुरुप एक वर्षको लागि बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो । अहिले थप एक वर्ष म्याद थपिएको मन्त्री ठकुरीले बताए। उनले रातो बाँदरले किसानको खेतबारीमा आई बालीनाली वा धनजनको हानि–नोक्शानी पुर्‍याएकाले कृषि हानिकारक वन्यजन्तुमा बँदेलसँगै राखिएको बताए। 

    मन्त्री ठकुरीले पूर्वाधार निर्माणमा वनको कारणले रोकियो भन्ने व्यापक गुनासो आएको भन्दै मन्त्रालयले अब सडक निर्माण,खानेपानी,जलविद्युत आयोजनामा वन मन्त्रालयले छिटो छरितोसँग काम गर्ने प्रयास गरिरहेको बताए। उनले मन्त्रालयले अब वनको कारणले आयोजनाहरुको काम अगाडि बढेन भन्ने गुनासो आउन नदिने गरी काम गरिरहेको बताए। उनले सरकाले जलवायु परिवर्तनको विषयमा गम्भिर भएर काम गरिरहेको बताए । 

    उनले आगामी कोपमा नेपालको प्रभावकारी उपस्थिति जनाएर जलवायु परिवर्तनको प्रभावको असरबाट पाउनुपर्ने क्षतिपूर्तिका लागि आवश्यक डकुमेण्ट बनाउने काम गरिरहेको बताए।