images
images

बिहिवार, जेठ १० गते २०८१

कवयित्री सिर्जना खनालको युगपुरुष महाकाव्य–एक चर्चा

कवयित्री सिर्जना खनालको युगपुरुष महाकाव्य–एक चर्चा

images
images
images
सोमवार, बैशाख ३ २०८१
सोमवार, बैशाख ३ २०८१
  • कवयित्री सिर्जना खनालको युगपुरुष महाकाव्य–एक चर्चा

    - मुकुन्द शर्मा चालिसे

    images
    images
    images

    नेपाली साहित्यमा महाकाव्य लेखनको परम्परा महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि आरम्भ भएको हो । यद्यपि आदिकवि भानुभक्तको रामायणलाई महाकाव्यको पंक्तिमा सगौरव राख्न सकिन्छ । पण्डितराज सोमनाथ सिग्देल, नाट्यसम्राट बालकृष्ण सम हुँदै आएको महाकाव्य लेखनपरम्परा गतिशील भएर अघि बढेको छ । राष्ट्रकवि माधव घिमिरे, भरतराज पन्त, तारिणीप्रसाद कोइराला, उमानाथ शास्त्री सिन्धुलीय, लकाश पौडेल, केशवराज आमोदी, भानुभक्त पोखरेल, छन्दसारथि रमेश खकुरेल, भुवनहरि सिग्देल, बुनू लामिछाने, मुकुन्द शर्मा चालिसे आदि अनेक काव्य साधकका महाकाव्यले हाम्रो काव्य साहित्य गौरवान्वित भएको छ । यसरी अनेक काव्यकार यस परम्परामा आफूलाई उभ्याउन सफल भएका छन् । पौराणिक, ऐतिहासिक, सामाजिक, काल्पनिक, आदि अनेक विषयमा महाकाव्य आएका छन् । यसै सन्दर्भमा हालै लेखेर प्रकाशित भएको जीवनीपरक युगपुरुष महाकाव्यलाई लिन सकिन्छ । यस महाकाव्यकी लेखिका हुन् सिर्जना खनाल ।

    सिर्जना खनाल शिक्षण पेशामा आबद्ध भएर हाल अवकाशप्राप्त गरेकी शिक्षित महिला हुन् । आफ्नो परिवारमा रमाउँदै साहित्य सेवालाई अघि बढाउने उनको प्रयास प्रशंसनीय छ । उनले अङ्कुरित सृजना नामक कविता सँगालो प्रकाशित गरेकी छन् । उनले हालै महाकाव्य युग पुरुष लेखेकी छन् । उनको काव्ययात्रा ऊध्र्वगामी भएको देखन्छ ।

    कवयित्री सिर्जना खनालले लेखेको महाकाव्य युगपुरुष मैले पढें । यो महाकाव्य भरत जङ्गमलाई नायक बनाएर लेखिएको छ । भरत जङ्गमलाई नायक बनाएर अन्य लेखकद्वारा लेखिएका अन्य महाकाव्य भरतांशु, भरतेन्दु र भरत महाकाव्य पनि छन् । यी काव्यहरूकै लहरमा युगपुरुष महाकाव्य आएको छ । नेपाली काव्य साहित्यमा यशस्वी व्यक्ति जीवित छँदै लेखिएका जीवनीपरक महाकाव्य थुप्रै छन् । माधव वियोगीले राष्ट्रकवि माधव घिमिरेका बारेमा छन्दशिरोमणि महाकाव्य लेखेका छन् । त्यस्तै उनको धर्मराज थापा पनि जीवनीपरक महाकाव्य हो । ओमवीरसिंह बस्न्यातले पनि जीवनीपरक अनेक महाकाव्य लेखेको पाइन्छ ।

    यो महाकाव्य पनि वर्तमानमा कार्यशील यशस्वी पुरुष भरत जङ्गमको जीवनीमा आधारित छ । उहाँका बारेमा अन्य लेखकले यस्तै कृतिहरू लेखेर कलमलाई सार्थक बनाएका छन् । यही सार्थकताको मार्गमा हिँडेर कवयित्री सिर्जना खनालले पनि काव्यनायकलाई अनेक तरिकाले परिचित गराएकी छन् ।

    म सर्वप्रथम यस्तो विशालकाय महाकाव्य लेख्ने कवयित्री सिर्जना खनाललाई हार्दिक बधाई दिन्छु । महाकाव्यको आरम्भमा कवयित्री सिर्जना खनालको समर्पण शीर्षकको पद्य कवितामय भूमिका छ । यसमा उनले काव्यनायक भरत जङ्गमलाई नै यो कृति समर्पण गरेको कुरा उल्लेख गरेकी छन् ।

    युगपुरुष महाकाव्यमा आर डी प्रभास चटौतको पद्यात्मक भूमिका छ । फुल्दछन् स्फूर्तिका साथ साहित्य मधुका रस भन्ने शीर्षक दिएर लेखिएको यस भूमिकाले लेखिका र नायक दुवैलाई परिचय गराउने जमर्को गरेको छ । प्रस्तुत पुस्तकलाई शब्दयात्रा प्रकाशनले प्रकाशित गरेको छ । अतः प्रकाशक संस्था धन्यवादार्ह छ । यसमा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको प्रकाशकीय छ । यो प्रकाशकीयमा पनि भरत जङ्गमको कार्यको उल्लेख गर्दै महाकाव्यकार सिर्जना खनाललाई बधाई ज्ञापन गरिएको छ ।

    यस महाकाव्यमा १३ सर्ग छन् । प्रत्येक सर्गको नाम दिइएको छ । जन्म, प्रेमलहरी, विवाह, दृष्टि, शासनप्रतिको दृष्टि, साहित्यिक पक्ष, (क) साहित्यिक पक्ष (ख), धार्मिक पक्ष (क) धार्मिक पक्ष (ख) धार्मिक पक्ष (ग) प्रकृति चिन्तन, हेमन्त ऋतुसंगै थपिएको कहर, हृदयतरङ्ग, भरतहरि, विचार र दृष्टिकोण र उपसंहार शीर्षक दिएर सर्ग बाँडिएका छन् । यी सर्गमा सिर्जना खनालले काव्यनायक भरत जङ्गमलाई चिनाउने प्रयास गरेकी छन् । ती ती सर्गमा काव्यनायकले गरेका कार्यको वर्णन कुशलतासाथ ल्याइएको छ । यसरी उनको रचना शिल्प प्रवहमान भएको देखिन्छ ।

    यस युगपुरुष महाकाव्यमा अनुष्टुप्, चम्पकमाला, वसन्ततिलका, मन्दाक्रान्ता, शार्दूलविक्रीडित, नर्कुटक आदि अनेक शास्त्रीय छन्द छन् । यसमा झ्याउरे छन्द पनि आएको छ । यसरी अनेक छन्दमा आबद्ध यो कृतिमा कवयित्री सिर्जनाको प्रतिभा प्रष्फुटित भएको स्पष्ट देखिन्छ । 

    मङ्गलाचरणको रूपमा आएको पहिलो श्लोक यस्तो छ

    वन्दना गर्छु हे शम्भो गणेश शारदा भनी

    पियाऊ ज्ञानका धारा म बनूँ ज्ञानको धनी ।

    यी सर्गमा युगपुरुष भरत जङ्गमको जन्मदेखि विचार र दृष्टिकोण हुँदै उपसंहारसम्ममा उहाँको जीवनी र विविध आयाम उनिएका छन् । उहाँको जन्म भक्तपुरमा भएको जानकारी यहाँबाट मिल्छ । महाकाव्यमा उहाँका पुर्खाको समेत विवरण दिइएको छ । उहाँको पढाइ र क्रियाशीलता यहाँ आएका छन् । वीरशैवमतका जङ्गम कुलोद्भव हुनुहुन्छ उहाँ ।

    उहाँका अनेक कृति प्रकाशित छन् । इतिहासको चिरफार गर्नुहुन्छ र भ्रम निवारण गर्नुहुन्छ । हाम्रो देशमा अनेक विकृति बढेका छन् । तिनलाई पन्छाउने मार्गमा उहाँ हुनुहुन्छ । उहाँ भ्रष्टाचार विरोधी अभियन्ताको रूपमा सुपरिचित हुनुहुन्छ । उहाँले हाम्रो देशमा रहेको विकराल भ्रष्टताका विरुद्ध अभियान नै चलाउनु भएको छ । उहाँ आध्यात्मिक जीवनचर्यामा रहने  गृहस्थ हुनुहुन्छ । यी यावत् कुरा यहाँमाथि उल्लेख गरिएका अनेक शीर्षकमा वर्णित भएका छन् ।

    उदाहरणका लागि उहाँको विवाहपूर्वको प्रेमप्रसङ्गलाई यहाँ यसरी प्रकट गरिएको छ । यो सर्ग संवादको शैलीमा आएको छ । यो सर्वथा नयाँ प्रयोग हो । उदाहरणका लागि यहाँ दुई श्लोक प्रस्तुत गर्छु ।

    प्रेमी

    कमलो मनको वशमा नपरी

    भन बढ्छ कुरा कसरी नगरी ।

    कति चञ्चल छ्यौ कति सज्जन छ्यौ

    त्यसकारणले दिलमा अटिछ्यौ ।

    प्रेमिका

    जति कोमलता उति सुन्दरता

    सुखका पल हुन् अघिका दिन ता ।

    अधिकार तिमी हितकार तिमी

    अवनीभरका सरकार तिमी ।

    अन्त्यानुप्राशले युक्त भएका यहाँ श्लोकहरू छन् । यहाँ प्रसादगुणशालिनी भाषा छ । कतै कतै ओज गुण आएको छ । भाषा प्रायः शुद्ध छ । छन्दका नियममा बाँधिदा केही व्यवधान भए पनि समग्रमा यस महाकाव्यको भाषिक स्तर उच्च मान्नुपर्छ । यहाँ अनेक सूक्ति छन् ।

    म केही सूक्ति टिप्छु ।

    नछाडी धर्म आगाले पोल्छ पानी भिजाउँछ

    गढेर सम्झना उस्तै बनी अश्रु रुझाउँछ । सर्ग विवाह ।२१

    अन्धाधुन्ध चले औँला लेखनी छ धरापमा

    नहोस् कहीँ कतै देश त्रासै त्रास र तापमा ।सर्ग शासनप्रतिको दृष्टि ।३८।

    बग्दछ खोला सागर चुम्न

    लक्ष्य समाते के वर हुन्न ?

    ज्ञान र ज्ञानी जुट्नुछ राम्रो

    सार्थक पार्ने जीवन हाम्रो ।सर्ग प्रकृति चिन्तन ।४९।

    इत्यादि ।

    यो महाकाव्य वीररस प्रधान छ । यसमा भरतजीले गरेका अनेक साहसिक कार्यको वर्णन गरिएको छ । आङ्गिक रस भएर यहाँ शान्त आएको छ । कतै शृङ्गार रस पनि पाइन्छ । यस महाकाव्यमा अनेक काव्यका शोभाधायक अलङ्कार छन् । रस, गुण, रीति, वृत्ति आदिका दृष्टिकोणले यसको छुट्टै अध्ययन गर्नुपर्छ । नयाँ नयाँ प्रतीक र विम्बले काव्यलाई सुमधुर बनाएको छ ।

    अन्ततः यो महाकाव्य पूर्वीय काव्य सिद्धान्तमा आधारित छ । धीरोदात्त नायकका रूपमा भरत जङ्गम हुनुहुन्छ र नायिका उहाँकी सहचारिणी इन्दिरा हुनुहुन्छ । कवयित्री सिर्जना खनालको यस्तो काव्य लेख्ने साहस र प्रयास प्रशंसनीय छ । अत्यन्त सुन्दर सज्जामा प्रकाशित यो कृतिको प्रचार होस् । म उनलाई भविष्यमा अझ सुन्दर रचना लेख्नका लागि माता सरस्वतीबाट आशीर्वाद आओस् भनी शुभकामना व्यक्त गर्छु । काव्यनायक भरत जङ्गम वास्तवमा युगपुरुष हुनुहुन्छ । म उहाँको चिरायुष्यको कामना गर्छु ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij