२०८३, बैशाख २० गते

May 03 2026 | २०८३, बैशाख २० गते

‘तालिमबाट उत्प्रेरणा मिलेको छ’

आइतवार , बैशाख २०, २०८३

  • 211
    Shares
  • 211
    Shares
  • पाल्पा, २० वैशाख । सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सिलसिलामा पाल्पाको तिनाउ गाउँपालिका–१, कचलको कचल कृषि सहकारी संस्था लि.ले स्थानीय युवा वर्ष माध्यमिक विद्यालयमा शैक्षिक व्यवस्थापन तथा टीम बिल्डिङ्ग तालिम सम्पन्न गरेको छ । 

    आइतबार भएको तालिममा दमकडा नमूना माध्यमिक विद्यालय व्यवस्थापन समिति, पाल्पाका अध्यक्ष राजेश कुमार अर्यालले विद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य, अधिकार र यसका क्षेत्रलगायत पद्दतिगत रुपमा विद्यालय सञ्चालन, व्यवस्थापनका लागि जिम्मेवार पक्षले खेल्नुपर्ने भूमिका विषयमा सहजीकरण गर्नुभएको थियो । उहाँले स्थानीय साधनस्रोत अधिकतम विकास गर्दै विद्यालयलाई नमूना बनाउन सकिने बताउनुभयो । त्यसका लागि शिक्षकहरुको लगनशीलता र समितिको हातेमालो जरुरी हुने उहाँले उल्लेख गर्नुभयो ।

    सोही अवसरमा विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, अभिभावक, शिक्षक र विद्यार्थीबीच टीम निर्माण, व्यवस्थापन, योजना निर्माण, कार्यान्वयनमा भूमिका र अब्बल विद्यालय बनाउनका लागि समन्वय, सहकार्य र सहयात्राका निम्ति अपनाउनुपर्ने विधि, प्रक्रिया र पद्दतिका बारेमा शैक्षिक अभियन्ता दलबहादुर गुरुङले सहजीकरण गर्नुभएको थियो ।

    विद्यालयका प्रधानाध्यापक सुरज कार्कीले तालिममा आफ्नो टीमले प्राप्त गरेको ज्ञान, सीप र धारणालाई विद्यालयको उन्नति र प्रगतिका लागि खर्चिने बताउनुभयो । उहाँले सिकाईलाइ व्यवहारसँग दाँजेर अघि बढ्न तालिमबाट उत्प्रेरणा मिलेको उल्लेख गर्नुभयो । 

    कचल कृषि सहकारीका अध्यक्ष भोजबहादुर छहरीले आफ्नो सहकारीले सामाजिक उत्तरदायित्व निर्वाह गर्न मात्र नभइ गाउँकै युवा वर्ष माविलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्रको रुपमा विकास र सहयोग गर्न आफूहरु कटिबद्ध रहेको बताउनुभयो ।

    शिक्षाले नै हरथोकको उन्नयन हुने भएकाले आफ्नो सहकारीले शिक्षालाई सामाजिक विकास, आर्थिक विकास र रुपान्तरणको मियो मानेर नै सक्दो लगानी गरेको उहाँले बताउनुभयो ।

    तालिममा विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, शिक्षक, विद्यार्थी, अनुगमन उपसमिति र शिक्षाप्रेमीलगायत चार दर्जन बढीको उपस्थिति थियो ।