२०८३, कार्तिक १४ गते

Oct 31 2026 | २०८३, कार्तिक १४ गते

लायन्स भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न

शनिवार , कार्तिक १४, २०८३

  • 301
    Shares
  • 301
    Shares
  • भैरहवा, १४ कार्तिक । लायन्स क्लब अफ भैरहवा लिगेसीको आयोजनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० स्थित नमूना इङ्लिस बोर्डिङ स्कुलमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

    लायन्स अन्तर्राष्ट्रियको कार्यक्रमअन्तर्गत लायन्स वर्ष २०२६/०२७ का लागि चयन गरिएको ‘मानवतामा सद्भाव’ शीर्षकमा विद्यार्थीहरूले चित्र बनाएका थिए ।

    क्लबका अध्यक्ष नारायण प्रसाद कोइरालाको अध्यक्षता तथा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ पी, एरिया ५ का सचिव अरुण पन्थीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्थीले लायन्सको यस विधाअन्तर्गत ११ देखि १३ वर्ष उमेर समूहका विद्यार्थी सहभागी हुने र प्रतियोगिता नेपालसहित विश्वभर लायन्सको उपस्थिति रहेका देशहरूमा सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई अभिभावकसहित लायन्सको अन्तर्राष्ट्रिय मुख्यालयमा पुरस्कार प्रदान गरिने बताउनुभयो ।

    डिष्ट्रिक्ट ३२५ पीले समेत प्रतियोगिताका विजेताका लागि पुरस्कारको व्यवस्था गरेको जानकारी दिँदै उहाँले लायन्स भैरहवा लिगेसीले विभिन्न उत्कृष्ट सामाजिक कार्य गर्दै आएको र हालै १८ दिने दशैं महोत्सवसमेत सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिनुभयो ।

    प्रतियोगितामा १७ जना विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा कक्षा ७ की छात्रा दीक्षा चौधरी प्रथम, सोही कक्षाकी जेसिका राना द्वितीय र कक्षा ६ की रिया घर्ती मगर तृतीय भएका छन् ।

    प्रतियोगितामा चौथो र पाँचौँ स्थान हासिल गर्ने विद्यार्थीलाई समेत प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको कार्यक्रम संयोजक सुनिल पौडेलले जानकारी दिनुभयो ।

    कार्यक्रममा विद्यालयका प्राचार्य कमल कोइराला, लायन्स क्लब अफ बुटवल लोटसका अध्यक्ष नारायणी काफ्ले तथा निर्णायकका रूपमा चित्रकार डोलबहादुर आलेको सहभागीता रहेको थियो ।