२०८३, बैशाख २० गते

May 03 2026 | २०८३, बैशाख २० गते

पञ्चकन्या रूपन्देही सुपर लिग : लुम्बिनी खुकुरी ७ विकेटले विजयी

आइतवार , बैशाख २०, २०८३

  • 211
    Shares
  • 211
    Shares
  • भैरहवा, २० वैशाख । रुपन्देहीको भैरहवामा जारी ‘पञ्चकन्या रुपन्देही सुपर लिग’ ‘ए’ डिभिजनको आइतबारको खेलमा लुम्बिनी खुकुरी क्लबले सानदार जीत निकालेको छ । मौसमका कारण २० ओभरमा छोट्याइएको खेलमा खुकुरीले तिरुपति क्रिकेट क्लबलाई ७ विकेटले हराउँदै जीत हात पारेको हो ।

    जीतका लागि पाएको ८० रनको झिनो लक्ष्य लुम्बिनी खुकुरीले १० ओभर ५ बलमा ३ विकेटको नोक्सानीमा पूरा गर्यो । उसको जितमा निश्चल चौधरीले अविजित २६, सन्दीप रजालीले नटआउट २०, शंकर रानाले १५ र समीर अली मुसलमानले १० रन जोडे । तिरुपतिका तुलबहादुर थापा २ र अपराजित पौडेलले १ विकेट लिए ।

    यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको तिरुपतिले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा ७९ रन बनायो । उसलाई सस्तैमा रोक्न खुकुरीका शाहव आलमले ३, बैतुल्लाह खान र अजय कुमार चौहानले २–२ तथा दुर्गेश गुप्ता र सेजाद आलम धोबीले १–१ विकेट लिए । तिरुपतिका आकाश त्रिपाठीले २७ र रौनक श्रीवास्तवले २४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । खेलमा शाहब आलम प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टीमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार २ सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले बताउनुभयो ।

    प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । त्यसै गरी सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रवि कुमार रौनियार, प्रतीक ट्रेड लिंक र भैरहवा नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमितकुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।